शनिबार, वैशाख १५, २०८१

एनआरएनए युकेले केन्द्रलाई सदस्यता शुल्क नबुझाउँदा संस्थालाई लाखौं घाटा ?

नेपालप्लस संवाददाता / बेलायत२०७८ माघ २९ गते १८:०४

 

गैर आवाशीय नेपाली संघ (एनआरएनए युके) का पञ्जिकृत सदस्यहरुले तिरेको सदस्यता शुल्कमध्ये प्रति सदस्य ५ डलर केन्द्रमा बुझाउनुपर्ने एक लाख पाउण्ड नबुझाउँदा व्याजस्वरुप आउने लाखौं रकम घाटा भएको दाबी गरिएको छ ।

एनआरएनए युकेबाट निर्वाचित सात अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य (आइसिसी सदस्य) हरुले शनिवार पत्रकार सम्मेलन गर्दै उक्त दाबी गरेका हुन् ।

एनआरएनए युकेले प्रत्येक सदस्यबापत पाँच पाउण्ड केन्द्रलाई बुझाउनुपर्ने वैधानिक र बाध्यकारी व्यवस्था रहेको उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ “त्यस्तो ब्यवस्था भएपनि सो रकम अझै संघको खातामा जम्मा नहुँदा व्याजस्वरुप प्राप्त हुने लाखौं रुपैयाँ घाटा भएको समेत जानकारी गराउँदछौँ । जसका कारण केन्द्रमा बुझाउनुपर्ने रु एक लाख (रु होइन, भन्न खोजिएको पाउण्ड हुनुपर्छ) बराबरको रकम बुझाउन सकिएको अवस्था छैन ।”

उनीहरुले विज्ञप्तीमार्फत् सो रकम संघको खातामा जम्मा गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको निवर्तमान कार्यसमितिले विधान अनुरुप केन्द्रमा सिफारिस गरेका महाधिवेशन प्रतिनिधिहरुको नाम रोक्ने, हटाउने तथा तोडमोड गर्ने लगायतका षड्यन्त्र भइरहेको पाइएको आरोपसमेत बिज्ञप्तीमार्फत् लगाइएको छ ।

संघको विधान अनुसार ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिमा पूर्वपदाधिकारीबाट छनोट गर्न पाउने व्यवस्था अनुरुप निवर्तमान कार्यसमितिले सार्वजनिक सूचना जारी १११ जना प्रतिनिधिहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) महाधिवेशन प्रतिनिधिको रुपमा सिफारिस गरेको थियो । तर वर्तमान कार्यसमितिले संघको विधान विपरित पूर्वपदाधिकारी समेत नरहेका व्यक्तिलाई समावेश गरी छुट्टै प्रतिनिधि सिफारिस गरेको र त्यो विधान विपरित रहेको स्पष्ट रहेको बिज्ञप्तीमा उल्लेख छ ।

एनआरएनए युकेका सात आइसिसी सदस्यहरुको बिज्ञप्तीमा भनिएको छ “संघको विधानअनुसार २५ प्रतिशत महाधिवेशन प्रतिनिधि निर्वाचनमार्फत हुनुपर्ने वैधानिक व्यवस्था रहेको सर्वविदितै छ । एनआरएनए यूकेबाट प्रतिनिधित्व गर्ने २५ प्रतिशत अन्तर्गत ४४ र ६५ प्रतिशतमा विधानत: नआएका थप ३ गरी ४७ जनाको लागि निर्वाचन समितिमा १३७ जनाको उम्मेदवारी परेको यसअघि नै सार्वजनिक भइसकेको छ ।”

बिज्ञप्तीका अनुसार यसअघि नै उम्मेदवारी दर्ता भएकाहरुको बीचमा सर्वसम्मतमा वा सहमतिमा ४७ जना प्रतिनिधिको चयन गर्न संघको अधिवेशनले तीन सदस्य समिति गठन गरेको थियो । सो समितिमा संघका संस्थापक केन्द्रीय सचिव चिरन्जीवि ढकाल, आइसीसी सदस्यहरु रामशरण सिमखडा र राजेन्द्र पुडासैनी (निर्वाचित) थिए । निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलको प्रस्तावमा सर्वसम्मतले पारित सो समितिले सर्वसहमतिमा ४७ जनाको नाम संघको केन्द्रीय महाधिवेशनको प्रतिनिधिको लागि सिफारिस गरेको थियो । तर, त्यसमा वर्तमान कार्यसमितिले ६ जना आइसीसी सदस्यसहित सो नामावली सूचीलाई उल्टाउने प्रयास गरेको भन्दै त्यसप्रति आइसिसी सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बिज्ञप्तीमा तिनलाई मान्यता दिनुको अर्को बिकल्प नरहेको उल्लेख गर्दै भनिएको छ “संघको महाधिवेशन र बेलायतस्थित नेपाली समुदायको भावनाअनुरुप ती प्रतिनिधिहरुलाई मान्यता दिनुको अर्को विकल्प नरहेको समेत जानकारी गराइन्छ ।”

उनीहरुले अन्य माध्यमबाट सिफारिस भएका प्रतिनिधिहरुको नाम समेत तत्काल खारेज गर्न माग गरेका छन् ।

संघको विधान अनुरुप राष्ट्रिय समितिको कार्यसमितिबाट चयन हुनुपर्ने १० प्रतिशत महाधिवेशन प्रतिनिधि समेत एकलौटी रुपमा छनोट गरिएको, युवा–महिला, विज्ञ, दोश्रो पुस्ता समेट्नुको सट्टा विधान र भावना विपरित आफ्ना नाता र नजिकका पारिवारिक सदस्यहरु मात्र चयन गरिएको भन्दै बिज्ञप्तीमार्फत् त्यसको निन्दा गरेका छन् । उनीहरुले ती नाम समेत तत्काल सच्याउन आग्रह गरेका छन् ।

बिज्ञप्तीकर्ताहरुले पारदर्शिता कायम गर्दै, देखा परेका असन्तुष्टि र समस्या समाधानका आआफ्नो स्थानबाट सहयोग गर्न गराउन बेलायतबासी समस्त गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

संघको १० औँ महाधिवेशन तथा निर्वाचनको मिति तत्काल घोषणा गर्न समेत आइसीसी समक्ष उनीहरुले आग्रह गरेका छन् । बिज्ञप्ती जारी गर्ने एनआरएनए युके आइसिसीमा निर्वाचित सदस्यहरुमा दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एल एन पाण्डे र समीर खनाल छन् ।

तपाइँको प्रतिक्रिया