शुक्रबार, जेठ १३, २०७९

भ्यालेन्टाईन डे : श्रद्धान्जली दिनुपर्ने दिनमा प्रेमको उत्सव ?

डा. गोपाल पौड्याल "मण्डने"२०७८ फागुन १ गते १८:४७

‘भ्यालेन्टाइन डे’ इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लंघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फर्वरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । कस्तो बिडम्बना भ्यालेन्टाइन डे मा त उनको श्रद्धान्जली पो दिनुपर्ने हो । उत्सब मनाउने हो र ?

हुन त मानिसहरु प्रेमलाइ मानिस भन्दा बाहेकका कुरा गर्दा पनि प्रकृति, न्याय, कला, आफ्नो जीवनको उद्देश्य वा अरु कुराका प्रतिको प्रेमलाई पनि प्रेम भन्न सक्छन । हामी पनि यी सबै प्रकारका प्रेमलाई आमरुपमा प्रेम भन्न सक्छौं । जुन प्रेम गर्नको लागि कसैसँग अनुमति माग्नु पर्दैन । वा ‘उसले गरे म पनि गर्छु, उसले नगरे म पनि गर्दिनँ’ भन्न पर्दैन । तर यसरी प्रेमको बृहत परिभाषाबाट साघुँरो परिभाषामा आउँदा आमरुपमा हामी समवयका, यौनिक सम्बन्ध (विपरित लिङ्ग मात्रैको कुरा होइन) को चाहनासहितका, विवाह गर्ने सर्तमा गरिने प्रेमलाई प्रेम भन्छौं ।

प्रेम गर्ने, प्रस्ताव गर्ने, आफ्नो बसमा पार्ने प्रयास स्वरुप चलन चल्तीका धेरै गीत, कविता, कथा, फिल्म,उपन्यास,पोर्न फिल्म यस्तै–यस्तै प्रेम, आकर्षणका बयानले भरिएका हुन्छन् । किशोरवयमा प्रवेश गरेपछि मानिसले आफ्नो जीन्दगीको बारेमा सोच्छ । जीवनकालभरिको सहयात्रीको बारेमा सोच्छ । जीवनभरिको यात्रा र यौन आकर्षणलाई कानुनी, सामाजिक मान्यता दिने विवाह संस्थाको कसीमा मानिसले कसैलाई मन पराउँछ र मन पराएको बदलामा आफू पनि मन परेको कुरालाई प्रेमको रुपमा लिन्छ ।

साँघुरो प्रेममा मानिस प्रेमको बदलामा प्रेमको अपेक्षा गर्छ । यौनिक निकटता, धन, जात, उमेर, स्वस्थ्य वा शक्तिसँग यस प्रकारको प्रेम जोडिएको हुन्छ । मानिसका जीवनमा यी कुराको तलमाथि भइरहँदा यौनिक प्रेम पनि तलमाथि भइरहन्छ ।

मानिसहरु भन्छन् ‘घरमा श्रीमती गर्भवती वा विरामी छ त्यसैले बाहिर उसको प्रेम छ । वा श्रीमानदेखि वर्षौ टाढा छ, त्यसैले उसको अर्को मानिससँग प्रेम छ । कथित ठूला जातिका मानिसले गरिब वा कथित् तल्लो जातीका छोराछोरीसँग हाँसखेल (यौनिक पनि) गर्न हुन्छ । उमेर छँदा त धेरै थिए तर अब एक्लै छु ।’ मेरो बूढो बिदेश तिर छ त्यसैले उलाई एउटा साथी चाहियो । मेरो बुढोले वास्ता गर्दैन त्यसैले मलाइ एउटा ख्याल गर्ने साथी चाहियो । अथवा मेरो बुढी रोगी छ, भनेको समयमा पाउँदिन त्यसैले मलाइ एउटि ‘गर्लफ्रेण्ड’ चाहियो । मेरो बुढी बिदेशतिर छे त्यसैले एसो एउटि गर्लफ्रेण्ड चाहियो ।

यस्ता परिघटनाको वरिपरि घुमिरहने प्रेमको परिभाषा साँघुरो मान्दा पनि यो प्रेमले मानिसको जीवनमा धेरै ठूलो अर्थ राख्छ । के यौनिक सम्बन्धको लागि मात्र राखिएको प्रेम प्रेम हो र ? आर्थिक लेनदेन प्रत्यक्ष अप्रत्यक्ष रुपमा हुने उपहार आदि साटासाट गरेर गरिने प्रेम र बजारमा किनबेच भैरहेको एक दुई घण्टे प्रेममा के फरक हुन्छ ? उस्तै उस्तै होइन र? खोइ त्यहाँ माया ? खोइ त्यहाँ मुटु देखि मुटुसम्मको सम्बन्ध ?

यौनिक प्रेमका बारेमा धेरै मानिसले अभिव्यक्तिका कयौं माध्ययमले व्यक्त गरेका कुरा ‘उमेरमा जसको नि प्रेम हुन्छ नि’ भनेर टार्न मिल्ने सामान्य कुरा होइनन् । विवाह गर्ने सर्तमा सुरु भएको प्रेम विवाहमा टुङ्गिएन भने मानिसलाई मानसिक आघात हुन्छ । विवाह गर्ने वा सँगै जीवन बिताउने सर्तसँग यौनमात्रै वा एउटा कुरामात्रै भन्दा पनि जीवनका विविध पाटाहरु जोडिएका हुन्छन् । जसमा मानिसले कयौं आफ्ना नभएका रुचि र बानीमा सम्झौता गरेको हुन्छ । आफ्नो जोडीका केही खराब बानीहरुलाई असलबानीहरुसँग तुलना गरेर स्वीकार गरेको हुन्छ । जीवनभर सँगै बिताउने सर्तमा उसले कयौं गोपनीय कुरा खोलेको हुन्छ । साझा लक्ष्यहरु राखेको हुन्छ । भावी जीवनको रुपरेखा कोरेको हुन्छ र यौनिक सम्बन्ध राखेको हुन्छ । अनि त्यस्तो मान्छेसँग एउटा सानो कुरामा चित्त नबुझ्नासाथ छोड्पत्र गर्नु हुन्छ त ? अथवा छोडेर छुट्टै बस्नु हुन्छ त ?

प्रेम सम्बन्ध छुट्टिनु भनेको एउटा मानिससँग यौन सम्बन्ध टुट्नुमात्रै होईन । गोपनियताका कयौं कुरा खुल्नु पनि हो । साझारुपमा राखिएका लक्ष्यहरुमा एक्लै पुग्ने कि नपुग्ने भन्ने दविविधा पनि हो र कयौंपटक लक्ष्यप्रतिको लगाव टुटेर अलमलिनु पनि हो । वा भावी जीवनका लागि बाटाहरु भत्किनु पनि हो । जसले प्रेमलाई यी सबैसँग जोडेर आफूलाई अगाडी बढाएको हुन्छ उ प्रेममा विक्षिप्त बन्छ । हो यहि कारणले बिकृती र बिसंतीको बिकास हुन्छ र कहिलेकाही हत्या तथा आत्माहत्या तिर समेत डोहोर्याउँदछ । त्यसैले त्यस्तो दुइचार दिन, महिना र वर्ष मै टुट्ने प्रेमको के अर्थ रह्यो र ?

आजभोलिको युवा समाजले प्रेमलाइ हेर्ने दृष्टिकोणट हेर्दा प्रेमको साँघुरो परिभाषाले यौन सम्बन्धका लागि सामाजिक र कानुनी मान्यता प्रदान गर्ने संस्था विवाहलाई नै लक्ष्य मानेपछि यौनको बारेमा खासै अलमल गर्नु नपर्नेजस्तो हुन सक्छ । तर, यौन नितान्त दुई यौन अंगको समागममात्रै पनि होइन । यौ आफैंमा जटील र विविध (शारीरिक अवस्था वा क्षमता, मनोअवस्था, वातावरण र संस्कृति) पक्षसँग जोडिएको कुरा हो । यी सबै कुरालाई विश्लेषण गरेर मात्रै मानिस यौन सम्बन्धमा मानसिक वा भावनात्मक रुपमा जोडिएको हुन्छ वा स्वीकार गरेको हुन्छ । प्रेम र यौन स्विकार गरिनु भनेको बिश्वास र समर्पण गरिनु हो । एक आपसको आस्थाको भगवानलाइ आफ्नो पबित्र शरीर सुम्पिनु हो ।

तर, हाम्रो समाजमा यौन प्रति धेरै मानिसका धेरै प्रकारका सोच छन । कसैले यसलाई यौनिक पवित्रतासँग जोडेर हेर्छन् । कसैलाइ भ्यालेन्टाइन डे एक रोमान्टिक र प्रेममय दिन हो । उनिहरुलाइ के थाह कि प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुँदैन् । प्रेम गर्नका लागि कुनै सीमितता छैन् । यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएनन् भने जिउनुको सार्थकता के भो र?

यहाँ प्रेमलाइ दुई विपरित लिङ्घी बिचको सम्बन्धको रुपमा मात्र हेरिन्छ । तर त्यस्तो होइन । वास्तवमा प्रेम त परिवारसँग गरिन्छ । साथीहरुसँग गरिन्छ । आफ्ना प्रियजनहरुसँग पनि त गरिन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ ।

प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षणको दिन हुनेगर्छ । यो काम युवाहरुले मात्र होइन हरेक एकल मान्छेहरुले गर्न थालेका छन । हो यस्तै ब्यवहारले गर्दा त हाम्रा युवायुवतीहरुमा एक प्रकारको विकराल रुप देखापर्न थालेको छ । कतै जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । यसै कारणले समाजमा बिकृती फैलिएको छ । बदला लिने, झगडा गर्ने, कुलतमा लाग्ने महँगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्ने, रेस्टुरेन्ट र होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन थालेका छन् ।

उपरोक्त कुराहरुकै कारण बिकृती बढेको भन्न खोजेको चाहिँ पक्कै पनि होइन । तर ती पनि सहायक हुन सक्छन भनेर सचेत बनाउन मात्र खोजिएको हो । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् । त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो । यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउँछौं । यसले गर्दा आधुनिकतासँगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसंगती भित्रियो भन्ने मात्र पिर हो ।

प्रेम गर्न भ्यालेन्टाइनले सिकाएको होइन । हाम्रो पूर्वीय संस्कृतिमा हज्जारौं हजार वर्ष अघि देखि प्रेम गरिएको र कामसुत्रको पचासी आशन समेतको वर्णन गरिएको ईतिहास छ । अर्काको संस्कृती राम्रो, अर्काको श्रीमान र श्रीमती राम्रो लाग्ने चलनले बिकृती त ल्याउँछ ल्याउँछ, त्यो सँगै झगडा मुद्दामामिला,समस्या र निरासा समेत ल्याउने गर्छ ।

स्मरण रहोस, पश्चिमाहरुले भ्यालेन्टाइन डे मात्र होइन (विक) हप्ता भरिनै मनाउँछन । पहिलो दिन अर्थात् ७ फर्वरी रोज (गुलाव दिने दिन), ८ फर्वरी प्रोपोज डे अर्थात् प्रेम प्रस्ताव गर्ने दिन, ९ फर्वरी चकलेट डे अर्थात् मिठा गुलिया परिकार खाने दिन, १० फर्वरी टेडी डे अर्थात् टेडी बियर अर्थात् टेडी भालुझैं एकहुने गर्ने दिन, ११ फर्वरी प्रोमिस डे अर्थात् प्रेमको बाचा गर्ने दिन, १२ फर्वरी हग डे अर्थात् अँगालो हाल्ने दिन,१३ फर्वरी किस डे अर्थात् चुम्बन गर्ने दिन र १४ फर्वरी अन्तिम दिन भ्यालेन्टाइन डे का रुपमा मनाउँछन । तर अचेल संसार भरी नै यहि सिको गरेको देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक