शनिबार, वैशाख १५, २०८१

एनआरएनए उच्चस्तरिय समितीनै खारेज : के भन्छन् एनआरएनएका तीन क्षेत्रीय संयोजक

नेपालप्लस संवाददाता२०७८ फागुन १ गते २०:३९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न बनेको सात सदस्यिय उच्च स्तरिय समितिले पटक पटक समय मागे गरे अनुसार काम गर्न नसकेपछि सो समितिनै भंग गर्ने चर्चा चलेको छ । अध्यक्ष कुमार पन्तले उक्त समितिले समय मागे बमोजिम रिपोर्ट दिन नसकेको र अझ समितिको बैठकसम्म बस्न नसकेकाले समिति भंग गर्ने चर्चा चलेको हो । यस विषयमा एनआरएनए क्षेत्रिय संयोजकहरुको धारणा के छ ?

रोशन थापा – क्षेत्रीय संयोजक, अफ्रिका

एनआरएनए अध्यक्षमुखि संस्था भएकाले हामीले यसको जिम्मेवारीनै अध्यक्षलाई दिएका हौं । यो चुनावकालागि मात्रै होइन हामीले धेरै पटक म्यान्डेट दिएका छौं । दुखकासाथ भन्नुपर्छ, एनआरएनएमा पक्ष र प्रतिपक्षको रुपमा अभ्यास गर्‍यौं । सेप्टेम्वरको १०, ११ मा हाम्रो प्रतिनिधिको पहिलो सूची सार्वजनिक भयो । त्यसपछि अक्टोबरको अन्त्यसम्म हाम्रा अध्यक्षका तिन प्रत्यासीले लाईन लागेर आफ्नो अध्यक्षको उमेदवारी घोषणा गर्नुभयो । यो प्रतिनिधि छनौटमा समस्या छ, यसबाट चुनावमा जान सक्दिन भन्ने थियो भने त्यहि बेला यो डेलिगेट्स समयाबारे घोषणा गर्नुपर्थ्यो ।

यो तुरुन्तै भएको त होइन । किनभने अगस्टको १५ सम्म हाम्रो म्याद अनुसार सबैले पठाईसक्नुभयो । सेप्टेम्बर १०, ११ मा पहिलो सूची निस्कियो । कुनैपनि देश वा संस्था त्यो बेला धराशायी हुन्छ जुनबेला लोकतान्त्रिक प्रक्रियामा चुनाव हुन्न । हामीकहाँ पनि भएको त्यहि हो । त्यसकारण बिलम्भ नगरिकन निर्वाचनमा जानुपर्छ ।

हाम्रो संस्थामा कम्तिमा ६० देशमा एनसिसी छन् । प्रत्येक देशमा आफ्ना आफ्ना कानुन छन् । ति देशमा आफ्ना आफ्ना समस्या छन् । नेपालको कानुन भनेको यो होइन कि संसारभर लागू गर्न सकियोस । नेपालमा दर्ता छ यो संस्था । तर सबै एन सिसीले नेपालमा दर्ता छैनन् र तिनमा नेपालको काउन त लाग्दैन ।

स्वयंसेवा गरेर देन दिने हो यो संस्थामा । समस्या खोज्दै जाने हो भने १० वर्षमापनि सकिंदैन । किनकि समस्या तमाम छन् । यस्तो समस्या धेरै देशमा र धेरै प्रतिनिधिमा समस्या भएकोपनि होइन । त्यसैले समस्यालाई न्युनिकरण गरेर चुनावमा जानुपर्छ ।

भन्नेनै हो भने शेष घले अध्यक्ष हुँदा चीनको डेलिगेट्सनै आएनन् । त्यो बेला कति पय ठाउँको त उहाँले हटाइदिनुनै भएको थियो भनेर एनआरएनए जापानका साथीहरुले भन्छन् । अब बिलम्ब नगरिकन कुमारजीले जोजो क्याइटेरियाभित्र पर्छन् तिनलाई राखेर चुनाव गर्ने हो । जो परेका छैनन् अर्को दुई वर्षमा फेरि चुनाव भैहाल्छ । त्यसैले गलत गर्नेलाई दण्ड गर्ने यो एउटा राम्रो अवशरपनि हो जस्तो लाग्छ ।

उच्च स्तरिय समितिका जहाँजहाँ ब्यक्तिहरु हुनुहुन्छ त्यहिं त्यहिं समस्या छ । त्यसैले त्यसबारे म धेरै बोल्न चाहन्न । त्यो समस्या अकस्मात आएको पनि त होइन । समस्या आउनु अघिनै ल यसो गर भनिदिएको भए यो समस्या त आउने थिएन ।

यो समस्या अहिले आएकोपनि होइन । यो अक्टोबरबाट शुरु भएको हो । यत्रो समय बित्यो अहिले फर्वरी आउँदासम्म । समस्या मिलाउन कुनै समिति चाहिन्छ जस्तोपनि मलाई त लाग्दैन । यो समस्या भएका ठाउँमा आफ्नै मित्र, निकट, चिरपरिचत छन् । मिलेर समस्या हल गरौं भन्ने हो भने समितिनै बनाउनुपर्छ भन्नेपनि छैन ।

राजन त्रिपाठी- क्षेत्रीय संयोजक, अमेरिकाज

अहिलेसम्म सबैलाई मिलाएर लैजाने र बिभाजन हुन नदिनेगरि सबैलाई समेटेर लैजान जुन प्रयत्न गर्नुभएको छ कुमार जीले हामी सबैले प्रशंसा गर्नुपर्छ । सकेसम्म त संरक्षक, अध्यक्षहरुको स्तरमा यो प्रतिनिधि समस्या पुर्‍याउनुनै पर्थेन । हामीभित्रै, कार्य समितिभित्रै, समितिभित्रै बसेर हल गर्नुपर्थ्यो । अग्रजहरुको उच्च स्तरिय त्यो कमिटीनै भंग गर्नुपर्ने अवस्था आयो भने चाहिं संस्था दूर्घटनामा जान्छ जस्तो लाग्छ । त्यो नगरि उहाँहरुले यसलाई निकाश नदिकन सुखै छैन ।

बिदेशिएका नेपालीहरुको संस्थामा काम गर्ने भनेर हामी पाँच छ महिनादेखि आफ्नै जुँघाको लडाईमा गुजार्‍यौं । यदि हामी यहि लगाडामा ब्यस्त रहन्छौं भने हामी कसैलाइपनि यहाँ बसेर यो गर्छौं, त्यो गर्छौं भन्ने अधिकार छैन ।

यदि कुनै कारणबश भनिएको समयमा विवाद समाधान गर्न यो उच्च स्तरिय समितिले सकेन भने पाँचै दिन दिएर भएपनि समाधानमा जानुपर्छ । भंग गर्नुभन्दा सहमति गर्नुनै राम्रो बिकल्प हो कि भन्ने मलाई लागेको हो । तर त्यसो भन्दैमा हामी सधैं अनिर्णयको बन्दिमा रहनुपर्छ भन्नेपनि मलाई लाग्दैन । अन्तिम बिकल्प भनेको विधिविधान अनुसार हाम्रो कार्य समितिनै हो । कुनैपनि प्रयासहरु असफल भएमा कार्य समितिले कुनैपनि निर्णय गरेर अगाडि जान सक्छ ।

नारायण आचार्य-क्षेत्रीय संयोजक, युरोप

उच्च स्तरिय समिति भंग गर्ने अपरिपक्क निर्णय अध्यक्षले गर्नुहोला भन्ने लाग्दैन । उहाँमाथि दबाब छ मैले त्यो बुझेको छु । किनकि यो कार्यकाल असफल भयो भने यो समितिमा भएको हुनाले केहि अंश हामीमापनि आउला । तर धेरै भाग उहाँको टाउकोमा आउँछ । त्यो ब्यहोर्न उहाँ तयार हुनुहुन्छ भन्ने लाग्दैन । त्यो भंग गर्ने सत्य हो भने यहि कार्यक्रम मार्फत् अध्यक्षलाई भन्न चाहन्छु, त्यो गल्ति नगर्नुहोला । यो संस्थाकालागि त्यो एकदमै दूर्भाग्य हुन्छ । फेरि अर्को समिति खोजेर दुई तिन महिना अरु जाने बहानाको स्रिजना नगरौं ।

उच्च स्तरिय समितिका अग्रजहरुले काम गरिरहनुभएको छ । काम नसकिएरै होला । काम सक्किएको भए त उहाँहरुले रिपोर्ट ल्याउनुहुन्थ्यो नी ! १५ दिननै लागेपनि हामीलाई ठूलो घाटा लाग्ने, दूर्घटना हुने अवस्था छैन । तर हामीलाई चाहिएको के भने विधिसम्मत तरिकाले काम गरेर, सौहार्दता कायम गरेर सहि रिपोर्ट चाहिएको हो । अध्यक्ष स्वयं त्यो समितिमा हुनुहुन्छ । आवेशमा आएर र कसैको दबाबमा त्यो गल्ति नगर्नुहोला भन्ने आग्रह गर्न चाहन्छु । शेष घले, उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचनहरुले नसकेको समस्या हल कसले गर्ला भनेर विश्वाश गर्ने ?

(आइतवार नेपालप्लसले प्रत्यक्षरुपमा आयोजना गरेको बहसमा ब्यक्त धारणाका केहि संपादित अंश। बाँकी भाग पुन प्रकाशित गर्ने छौं-संपादक ।)

तपाइँको प्रतिक्रिया