बिहीबार, वैशाख १३, २०८१

अन्तत : एनआरएनए निर्वाचनतिर; महाधिवेशन प्रतिनिधि सूची निर्वाचन कमिटीलाई, सोमवारनै निर्वाचन प्रक्रिया सार्वजनिक

नेपालप्लस संवाददाता२०७८ फागुन १ गते २२:४०

लगभग ६ महिनादेखि अनेक विवादका कारण रोकिएको गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन हुने पक्का भएको छ । शेष घले संयोजक रहेको सात सदस्यिय विवाद समाधान उच्च स्तरिय समितिले तोकेको समयमा विवाद समाधानको रिपोर्ट नबुझाएपछि एनआरएनए अध्यक्ष कुमार पन्तले सोमवार साँझ प्रतिनिधि सूची निर्वाचन कमिटीलाई पठाएका छन् ।

यस अघि अध्यक्ष कुमार पन्तले शेष घले संयोजक रहेको विवाद समाधान उच्चस्तरिय समितिलाई पटक पटक आग्रह गर्दापनि संयोजक शेष घले स्वयंले सम्पर्कसम्म नगरेको, पटक पटक समय थप माग्दापनि समितिले मागे अनुसारको समय थपिएको, उच्चस्तरिय समितिलेनै गठन गरेको विधान ब्याख्या उपसमिति (दुई कानुनबिद र एक आइटी बिज्ञ) ले दिएको रिपोर्ट नमानेको र पछिल्लो समयमा संयोजकनै सम्पर्कमा नरहेको भन्दै आइतवार नेपालको समय अनुसार मध्यरातीको अल्टिमेटम दिएका थिए ।

नेपालको समय अनुसार आइतवार मध्यरात कट्दापनि समितिका संयोजक शेष घले सम्पर्कमै नआएपछि अध्यक्ष कुमार पन्तले महाधिवेशन प्रतिनिधिको सूची पठाउँदै महाधिवेशनका लागि अगाडि बढेका हुन् ।

अध्यक्ष कुमार पन्तले पठाएको प्रतिनिधि नामावली सूची निर्वाचन आयोगलाई पठाएपछि अब निर्वाचनको ढोका खोलिदिने निर्णय भएको हो । आइतवार साँझनै अध्यक्ष पन्तले निर्वाचन आयोगलाई प्रतिनिधि सूची पठाएका छन् ।

पन्तले अगस्ट १५ अघि पठाएको मतदाता सूचीलाई बैध गरी पठाएका छन् । महाधिवेशन प्रतिनिधि बन्नुपर्ने तर कुनैपनि कारणबस छुटेका सदस्यहरुलाई बैकल्पिक प्रावधान अन्तर्गत प्रतिनिधिमा समावेश गरेर पठाएको बताइएको छ ।

सोमवारनै निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरी दाबी बिरोध, उमेदवारी दर्ता आदि निर्वाचनको प्रक्रिया सार्वजनिक गर्ने संभावना छ । निर्वाचन आयोगले फर्वरी २८ मै निर्वाचन गर्न सकिने संकेत दिएको स्रोतको भनाई छ ।

गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न भन्दै २०२२ जनवरी १५ का दिन संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त थिए ।

उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्ने समयसिमा तोकेको थियो ।

समितिले तोकिएको समयमा काम पुरा नभएको भन्दै पहिलो पटक १० दिनको समय सिमा बढाएर फर्वरी ७ सम्म उच्च स्तरिय समितिले समय माग गरेको थियो । तर संयोजक घले विरामी परेकाले केहि दिन धकेलिएर त्यो समय कटेको थियो ।

त्यसपछि गत शुक्रवार जनवरी ११ मा फेरि बैठक बसेर सम्पूर्ण प्रक्रिया टुंग्याउने समय तोकिएको थियो । तर उक्त बैठकका बारेमा कुनै सम्पर्कसम्म नगरेको र संयोजकनै संपर्कबिहिन रहेकाले अध्यक्ष कुमार पन्तले केन्द्रिय समितिले दिएको म्यान्डेट अनुसार महाधिवेशन गराउने निर्णय गरेका हुन् ।

अन्तत उच्चस्तरिय समितिका संयोजकले निर्वाचन गर्नै नचाहेको भन्ने आशयले आफूसित अन्य बिकल्प नरहेको भन्दै अध्यक्ष कुमार पन्तले बाध्य भएर प्रतिनिधि सूची पठाई निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई बाटो खोलिदिएको भनाई उच्च स्रोतको छ ।

तपाइँको प्रतिक्रिया