शुक्रबार, असोज २१, २०७९

लघुकथा : सजकता

धनराज गिरी२०७८ फागुन २ गते ११:५५

जयको जिन्दगीमा विजय आयो । साथी बने । साथी बन्नुमा केही कारण त थियो नै । त्यही कारण नै कारण बन्यो नजिक हुन । जय र विजयको वार्ता निरन्तर हुन थाल्यो ।सुखदुःख सुनाउन थाले । जय अलि सरल,सालाखाला इमान्दार । तर विजयको पारा अलि अलग, जसको पनि बिरोध गर्ने । जयले सम्झाउने गर्थ्यो,”यार विजय, अरूलाई खराब भनेर हामी असल हुने होइन । अरूलाई अयोग्य भनेर हामी योग्य हुने होइन ।कुरा गर्ने अनन्त विषय नभएको होइन,यस्ता अनुत्पादक गफ किन गर्ने ?” विजयको अनुहार हेर्न लायक हुन्थ्यो।

जयको जीवनमा धेरै वर्ष अघि अजय आएको थियो र यति नजिक भए दुई जना कि नजर लाग्ने भए ! विजयसित गफ भएको बेलामा अक्सर जयले अजयको कुरा गर्थ्यो, मात्र सकारात्मक । “यार जय,तेरो त्यो आदर्श मित्रसित मलाई पनि भेट्न मन छ । म एक्लै के भनेर प्रस्तुत हुने । यसो प्रबन्ध मिला त । गतिलो मान्छे भनेको गतिलो नै हो । तेरो शैली गज्जब,जोसित पनि घुलमिल हुने । यति काम गर है, साथीको मन राख ।”

हुन्छ,हुन्छ त भन्यो जयले । तर हेमा मालिनीलाई जीवनसाथी बनाउने जीतेन्द्र, सन्जीव कुमार र राज कुमारको सपना जस्तो भयो । पाँच वर्षसम्म हुन्छ हुन्छ मात्र भन्यो जयले, मिलन गराएन ।

आखिर एक दिन झोक चल्यो विजयलाई र अलि तातेर कारण सोध्यो।नरम भएर बोल्यो जय,” यार, यो हो सजकता । तेरो भर छैन । मेरो आदरणीय गुरु प्रोफेसर आनन्दनारायण गिरोपाध्यायले मलाई जिन्दगीभरिलाई पुग्ने पाठ सिकाउनुभएको छ । आफ्नो धन र अति मिल्ने मित्रको बारेमा कसैलाई पनि जानकारी नदिनू,जोखिम हुन्छ ।घरमा पनि जो पायो त्यो पात्रलाई प्रवेश गर्न नदिने, जे पनि हुनसक्छ । तेरो र मेरो बीचमा अरू नआएजस्तै म मेरो दोस्त अजय र मेरो बीचमा अर्को पात्र आफैं लिएर जान्न । अब जे अर्थ लगाए पनि लगा, यो सजकता हो । होशियार हुनुपर्छ । गुरुले त भोग्नुभएछ।” त्यो दिनदेखि जय र विजय पनि ओली र नेपाल भए । विजयले जयलाई लिस्नु बनाउन खोजेको रहेछ । जयले चाल पायो ।

तपाइँको प्रतिक्रिया

फेसबुक