मंगलबार, वैशाख ४, २०८१

“वर्तमान समितिले पठाएको प्रतिनिधि सूची अनुसार निर्वाचनमा भाग लिंदैनौं” आचार्य

नेपालप्लस संवाददाता / लण्डन२०७८ फागुन २ गते १९:१४

गैरआवाशिय नेपाली संघ (एनआरएनए) मा अध्यक्षका एक जना प्रत्याशी कुल आचार्यले निर्वाचन समितिलाई अध्यक्ष कुमार पन्तले हाल पठाएको भनिएको प्रतिनिधिहरुको सुची अनुसार हुने निर्वाचनमा आफू सहभागि नहुने स्पष्ट संकेत गरेका छन ।

आचार्यले भने- “सात जनाको उच्च स्तरिय समितिलाई पर राखेर अगाडि बढ्न खोजियो भने दुर्भाग्य हुन्छ । सात सदस्सिय समितिले दिएको निर्णयका आधारमा चुनाव भयो भने म चुनावमा सामेल हुन्छु । अरु सबै बजारिया हल्ला र कसैको ब्यक्तिगत स्वार्थका पछी म लाग्दिन ।”

एनआरएन भित्र विगत सात महिना देखि प्रतिनिधि लगायतका विवादहरु सतहमा आएका छन् । ती समस्याहरु समाधान हुन नसक्दा संघको भविष्यनै संकटमा परेको अनुमान गरिंदै आएको छ । तर बेलाबेलामा सहमतीका पहल भने नभएका होइनन । बिभिन्न चरणमा समितिहरु बनेर समस्याको समाधान गर्ने पहल पनि भइरहेका छन । तर कुनै पनि समितिले यि समस्याको मिलनविन्दु पता लगाउन सकेका छैनन ।

पछिल्लो समय गठीत शेष घले संयोजक रहेको सात सदस्यिय उच्चस्तरिय समितिले समेत कार्य पुरा गर्न नसकेको जनाएर अध्यक्ष कुमार पन्तले प्रतिनिधिको नामावली सोमवार मध्यरात निर्वाचन समितिमा पठाई निर्वाचन र महाधिवेशन मार्ग खोलिदिएका छन । बताइए अनुसार निर्वाचन समितिले छिट्टै नै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ ।

तर आचार्यले भने आफु ‘चोर बाटो’ बाट गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाए । उनले नेपालप्लससितको सम्पर्कमा भने “पहिलो कुरा त्यो उच्चस्तरिय समिति बनाएको अन्तर्राष्ट्रिय समानवय समितीका अध्यक्ष कुमार पन्तको अध्यक्षमा बसेको बैठकले गरेको निर्णय हो । त्यो समिती बनाएको हामीले होइन । त्यो समितिमा स्वयं कुमार पन्त पनि हुनुहुन्छ । त्यो कमिटीलाई असफल बनाउनु भनेको कुमार पन्त सहित अन्य ६ जना अग्रजहरु असफल हुनु हो । त्यसैले सबै खाले समस्या समाधानका लागि उहाँहरुले छलफल गरेर अगाडी बढ्नु पर्छ भन्ने मेरो धारणा हो ।”

आचार्यले थपे “आफ्नो अपमान आफैं गरेर यो समिति अगाडि बढ्ला भन्ने कुरा मैले विश्वास गर्न सक्दिन ।”

अध्यक्ष कुमार पन्तले उच्चस्तरिय समितिका संयोजक शेष घले संपर्क भन्दा बाहिर रहेको, बैठक नडाकेको सहितका आरोपहरु लगाउँदै निर्वाचन समितिलाई प्रतिनिधिहरुको अन्तिमा सुची पठाएको सार्वजनिक भएको छ । समाचारहरुका अनुसार उच्चस्तरिय समितिले आफ्नो समय अवधी भित्र निर्णय दिन नसकेको हुनाले अध्यक्ष पन्तले समितिको औचित्य सकिएको जनाएका छन ।

तर आचार्यले भने उच्चस्तरिय समिती निर्वाचन नहुन्जेलसम्मका लागि बनाइएको जनाएका छन । “यो समितिको कुनै मिती तोकिएको छैन । यसले आफ्नो काम गरिरहेको मैले बुझेको छु । वर्तमान अध्यक्ष पन्त आफैंले गरेको निर्णयप्रती उत्तरदायी हुनुपर्दछ । आइसीसीले सर्वसम्मतले निर्णय गरेको उच्चस्तरिय समितिलाई विश्वास नगरेर दायाँ बायाँ नहोस् । संसारभरिका नेपालीहरुका आँखामा छरो हाल्ने काम कसैले नगरोस” उनले भने ।

आचार्यले आफू ले यस विषयमा उच्चस्तरिय समितिका संयोजक शेष घलेसँग कुरा गरेको बताउँदै भने- “उहाँले म सबै जनासँग संपर्कमा छु । एन आर एन ए जापानको समस्या हेर्ने जिम्मा देवमान हिराचनलाई र सदस्यहरुको विवाद हेर्ने जिम्मा सोनाम लामा र उपेन्द्र महतोलाई दिइएको हुनाले उहाँहरुको रिपोर्ट आएपछी आफुहरुले निर्णय दिने भन्नु भएको छ । उचस्तरिय समितिलाई काम गर्न नदिनु भनेको बैमानी हो । यो मान्य हुँदैन । यदी यो समितिलाई वाइपास गरेर कुनै काम भएका छन भने म अध्यक्ष कुमार पन्तलाई सच्याउन अनुरोध गर्दछु ।”

तपाइँको प्रतिक्रिया