शुक्रबार, वैशाख १४, २०८१

आँधी हुरीले जर्मनी र बेलायतमा यात्रा अवरोध, हजारौं घरमा बिजुली कटौती

नेपालप्लस संवाददाता२०७८ फागुन ५ गते १९:१०

हिंसक आँधी र हुरीले बेलायत, जर्मनी र चेक गणतन्त्रमा यातायात अवरुद्ध हुनुको साथै हजारौंलाई बिजुलीविहीन बनाएको छ ।

बिहीवार मध्याह्न अघि जर्मनीको उत्तरी क्षेत्रको आधा भागमा लामो दूरीको कुनै रेलहरू चलेनन् । रेलवे अपरेटर डोईच बाहनले तूफान आँधीले हेसे, सक्सोनी र दक्षिणी ब्रान्डनबर्गका क्षेत्रहरूमा ठूलो अवरोध स्रिजना गरेको जर्मनीको डि डब्ल्यु न्युजले उल्लेख गरेको छ ।

क्षेत्रीय ट्राफिक केहि रद्द गरिएको छ भने चलेका यातायातपनि ढिलाइ भएका छन् । बर्लिन-ब्रान्डनबर्ग एयरपोर्ट, बर्लिन, म्युनिख र ह्याम्बर्गको लागि निर्धारित उडानहरू र जर्मनीको सबैभन्दा ब्यस्त फ्रान्कफर्ट विमानस्थलमा पनि धेरै उडानहरू रद्द गरिएका छन् । ह्याम्बर्ग एयरपोर्टमा करिब एक दर्जन उडानहरू रद्द गरिएका छन् ।

ल्युबेक र रोस्टक जस्ता धेरै ठाउँहरूमा फेरी सेवाहरू पनि अस्थायी रूपमा रद्द गरिएको छ ।

युरोन्युजका अनुसार उत्तरी जर्मनीको हार्ज पहाडको माथिल्लोबिन्दु ब्रोकेनबाट बुधबार १ सय ५२ किलोमिटर प्रति घण्टाको दरले हावाहुरी र आँधी चलेको थियो।

नर्थ राइन-वेस्टफालियामा बिजुलीका पोल ढल्ने र तारहरु काटिने गरेकाले राती करिब ५४ हजार घरधुरी बिजुलीविहीन भएका छन् । बाभेरियामा करिब १० हजार मानिस विद्युत कटौतीबाट प्रभावित भएका छन् । बिजुलीको तारमा रुखहरु ढलेका कारण विद्युत् अवरुद्ध हुने गरेको छ । धेरै ठाउँमा बिजुली आपूर्ति छिटै पुनर्स्थापित गरिएको थियो ।

बर्लिन अग्नी नियन्त्रक शाखाले बिहीवार विहान दोस्रो पटक आपतकालिन अवस्थाको घोषणा गर्‍यो । किनभने १०० भन्दा बढी अपरेसनहरूमा सहयोग माग्दै बोलाइएपछि अग्नी नियन्त्रकहरुले समस्या ज्यादै ठूलो भएको उल्लेख गरेका थिए । मुख्य रूपमा झरेका रूखहरू र हाँगाहरू हटाउन तिनलाई धेरै ठाउँबाट माग गरिएको थियो ।

चेक गणतन्त्रमा बिहीवार बिजुलीको लाइन बिग्रिएका कारण तीन लाखभन्दा बढी घरपरिवार बिजुलीविहीन भएका छन् ।

त्यस्तै, बेलायतको मौसम कार्यालयले जनाएअनुसार स्कटल्याण्डमा बुधवार राति तूफान चलेकाले रेलहरू पनि रद्द गरिएको थियो । त्यहाँ १३० किलोमिटर प्रति घण्टाको गतिमा हुरिबतास चलेको थियो ।

रेल सन्जालले आँधीले ठूलो अवरोध ल्याएको भन्दै शुक्रवार आँधी अझ गम्भिर तरिकाले बहने चेतावनी दिएको छ ।

युरोन्युजका अनुसार उत्तरी इङ्गल्याण्डमा करिब १९ हजार घरपरिवार र व्यवसायहरू अस्थायी रूपमा बिजुलीबाट वञ्चित बनेका थिए ।

मेट अफिसले इङ्गल्याण्डका अधिकांश भूभागलाई शुक्रबारको लागि मौसम अत्यन्त खराब बन्ने चेतावनी दिएको छ । त्यस्तै, दक्षिण-पश्चिम इङ्गल्याण्ड र दक्षिणी वेल्सको तटीय क्षेत्रहरूमा ‘युनिस’ नामाकरण गरिएको आँधीको कारणले रेड संकेत दिएका छन् । उनीहरुले ठूलो अवरोध र खतरनाक अवस्था रहेको भन्दै रेड जोन अन्तर्गत राखेका छन् । यी सम्बन्धित क्षेत्रहरूमा रेल, बस, फेरी सेवा र उडानहरू रद्द गरिनेछ र केही विद्युत लाइनहरू तल झार्ने बताइएको छ ।

उत्तरी आयरल्याण्ड र स्कटल्याण्डका लागि पनि येलो जोन घोषणा गरिएको छ ।

तपाइँको प्रतिक्रिया