शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए उपाध्यक्ष लामाले उच्च स्तरिय समितिलाई रिपोर्ट बुझाएको खुलासा

नेपालप्लस संवाददाता२०७८ फागुन ५ गते २१:५६

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न बनेको उच्च स्तरिय समितिले प्रतिनिधि बनाइएका सदस्यको छानबिन गर्न आफूलाई जिम्मा दिए अनुरुप काम सकेर रिपोर्ट बुझाएको एनआरएनए उपाध्यक्ष सोनाम लामाले खुलासा गरेका छन् ।

उनले सामाजिक सन्जालमा उच्चस्तरिय समितिले आफूलाइ जिम्मा दिएअनुरुप संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको खुलासा गरेका हुन् ।

उनले त्यसको खुलासा गर्दै भनेका छन् “एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिएअनुरुप मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको छु ।”

राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धमा सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्नेबारे समेत छानबिन गरेको उनले उल्लेख गरेका छन् ।

लामाको स्टाटस

छानबिनबाट अहिले दावी गरिए भन्दा फरक सदस्य संख्या मात्र मान्य (भ्यालिड) रहेको पाईएको सामाजिक सन्जालमा उनले उल्लेख गरेका छन् । छानबिन कार्यमा उनलाई संस्थाका कार्यकारी निर्देशक राजेश राणा तथा आइटी टिमले राम्रो सहयोग गरेको उनले खुलाएका छन् ।

आफूले राम्रो विश्वाश (Good faith) मा ईमान्दारिताका साथ एनआरएनएमा काम गरेको दाबीसमेत गर्दै भनेका छन् “मैले सन् २००९ देखि इमान्दारीपूर्वक निरन्तर यो संस्थामा काम गरेको र वर्तमान उपाध्यक्षको रुपमा यो संस्थालाई बचाउन, संस्थाको हितमा काम गरिरहेको तपाईं सबैलाई थाहै छ । राम्रो विश्वाशमा, संस्थाको विधान र नियमावलीलाई आधार बनाउँदा हामीले पाएको यथार्थ जस्ताको तस्तै उच्चस्तरीय समितिलाई बुझाएको छु । त्यो यथासमयमा सार्वजनिक हुने नै छ ।”

अहिले देखिएको विवादलाई विधिसम्मत ढंगले समाधान गरी जति सक्दो चाँडो दशौँ महाधिवेशन तथा चुनाव गराउन उच्चस्तरीय समितिलाई सहयोग गर्नपनि उनले सबैलाई अपिल गरेका छन् ।

बिहिवारको बैठकमा उच्च स्तरिय समितिका संयोजक शेष घलेले आइतवार अर्को बैठक बस्न प्रस्ताव गरेका थिए । उनले बिहिवारको बैठकमा समय सिमा भन्दा बाहिर वा विधान र नियमावली बाहिर रहेर सदस्य बनेका करिब ८०० सदस्य बदर गर्नुपर्ने बताएको यस अघि बिहिवार प्रकाशित नेपालप्लसको रिपोर्टमा उल्लेख छ ।

सोनाम लामाकै रिपोर्टका आधारमा शेष घलेले ८०० प्रतिनिधि बदर गर्नुपर्ने भनाई राखेको हुनसक्ने आँकलन गरिएको छ । तर लामाको रिपोर्टमा के छ भन्ने चाहिं हालसम्म कतै खुलेको छैन ।

बिहिवारनै सात सदस्यिय विवाद समाधान उच्च स्तरिय समितिको बैठक करिब चार घण्टा बसेको थियो । बैठकमा सोनाम लामालाई प्रतिनिधि बैठक हेर्ने जिम्मा अघिल्लो बैठकले नदिएको भन्दै चर्काचर्की भएको थियो । विवाद बढेपछि विवाद समाधान उच्चस्तरिय समितिले सोनाम लामालाई जिम्मेवारी दिए नदिएको लगायतका विवादित निर्णयबारे बैठकमा के निर्णय भएको थियो भनेर दुई घण्टा रेकर्डेड अडियो सुनेका थिए । अडियोमा त्यस्तो जिम्मेवारी दिएको भन्ने नदेखेपछि थप विवाद भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक