बिहीबार, चैत १५, २०८०

शेष घले पक्षद्धारा ९ सय प्रतिनिधि कटौतीको प्रस्ताव, १९ देशका प्रतिनिधि पुरै खारेज ?

नेपालप्लस संवाददाता२०७८ फागुन ५ गते २१:४५

आगामी मार्च २२ र २३ मा हुने गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिन सूचिक्रित लगभग नौ सय महाधिवेशन प्रतिनिधि बदर गर्नुपर्ने प्रस्ताव शेष घले पक्षले पठाएको छ ।

एनआरएनएको आगामी निर्वाचनमा आफू सहभाहि हुनकालागि र विवाद सहमतिमा टुंग्याउनकालागि शेष घलेले प्रतिनिधि छानबिन गर्न भनेर दिएका सोनाम लामा मार्फत् यस्तोसूची संघको विवाद मिलाउन गठित सात सदस्यिय उच्चस्तरीय समितिलाई पठाइएको हो ।

संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित सात उच्चस्तरीय समितिको बिहिवारको बैठकमा शेष घलेले करिब आठ सय सदस्य बिधान बिपरित बनेकाले त्यसलाई बदर गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर सोनाम लामाको रिपोर्टसमेत आउने हुँदा आइतवार बसेर छिनोफानो गर्ने प्रस्ताव गरेका थिए ।

सोनाम लामा हालका उपाध्यक्ष र कुल आचार्य जिताऔं अभियानमा लागेका छन् । लामामार्फत प्रस्तुत सो प्रस्तावमा मध्यपूर्व, एशिया, युरोप र अफ्रिकी क्षेत्रका देशमा थुप्रै महाधिवेशन प्रतिनिधिहरुको नाम काटिएको जनाईएको छ ।

धेरै सदस्य संख्या रहेका अमेरिका, अष्ट्रेलिया, युकेका महाधिवेशन प्रतिनिधिहरु भने यथावत् राखिएको एनआरएनए केन्द्रिय स्रोतले नेपालप्लसलाई बतायो । “ति देशमा आफ्नो पक्षका सदस्य बढी भएकोले यथावत राखिएको हो । जहाँ अर्को पक्षका धेरै सदस्य छन् त्यहिंका छानी छानी काटिएको छ” स्रोतको दाबी छ ।

स्रोतका अनुसार अफ्रिका क्षेत्रका ८२ महाधिवेशन प्रतिनिधिलाई कटौती गरेर १४ जनामा सिमित गरिएको छ ।

यस्तै, हङकङका १०० जनाबाट १०, पोर्चुगलका ११९ जनाबाट ४४, मकाउका ७२ जनाबाट ३२, थाईल्याण्डका २० जनाबाट २, ओमानका ९७ जनाबाट ११, कुवेतका १२५ जनाबाट १०, पपुवान्युगिनीका २० जनाबाट ०, कोरियाका १२५ जनाबाट १०० र रसियाका ९० जनाबाट ४५ जना प्रतिनिधिको संख्या प्रस्ताव गरिएको छ ।

लामाको प्रस्ताव अनुसार १९ देशका सबै महाधिवेशन प्रतिनिधि खारेज (शुन्य) हुने छन् । महाधिवेशन शुन्य हुने देशमा बोत्सवाना, कंगो, इक्वेटोरियल गिनी, मदागास्कर, मोजाम्बिक, दक्षिण अफ्रिका, रुवाण्डा, चिली, मेक्सिको, कोस्टारिका, कम्बोडिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान, बेलारुस, इजरायल, टर्की र पपुवान्यूगिनी छन् ।

लामाले प्रस्ताव गरेको प्रतिबेदन संघको उच्चस्तरीय समितिद्धारा गठित कार्यदलले दिएको प्रतिवेदनभन्दा फरक छ । लामाले दिएको प्रतिबेदनका बारेमा आगामी आइतवार बस्ने उच्चस्तरिय समितिको बैठकमा के गर्ने भन्ने निर्णय हुने छ । तर अन्तर्राष्ट्रिय समितिका तर्फबाट अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई पठाएको सूची काट्न नसकिने भन्दै बिहिवार बसेको उच्चस्तरिय समितिको बैठकमा बहुमत सदस्य लागेका थिए ।

लामाले बिहिवार साँझ सामाजिक सन्जालमा अन्तराष्ट्रिय महाधिवेशन संचालन, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट तथा राष्ट्रिय समन्वय परिषदको सम्बन्धी नियमावली २०२१ को उपदफा ४.२ बमोजिम सदस्यता वितरणमा छानविन गरि संख्या कटौती गरेको दावी गरेका थिए । तर उनले संख्या भने तोकेका थिएनन् ।

लामाद्वारा प्रस्तावित सूचीले झन चर्को विवाद उठ्नसक्ने देखिएको छ । विधान अनुसार प्रतिनिधि छनौट नगरिएपनि अमेरिका, युके, अष्ट्रेलियाको प्रतिनिधिलाई यथावत राखिएको, सोहि प्रक्रितिका अन्य देशको प्रतिनिधि काट्ने र १९ देशका प्रतिनिधि पुरै खारेजीमा पर्ने प्रस्तावमा राष्ट्रिय समन्वय परिषदहरुका तर्फबाट ब्यापक बिरोध र आक्रोश फैलिनसक्ने संभावना अभियन्ताहरुले साँझ नेपालप्लसलाई औंल्याए ।

तपाइँको प्रतिक्रिया