बिहीबार, चैत १५, २०८०

कसले नापेको छ तारानाथ शर्माको उमेर !

गुमनाम परदेशी२०७८ फागुन ६ गते १५:५२

समय यती छिटो बित्छ होला भन्ने लागेकै थिएन । जिन्दगी धेरै नै छोटो हुन्छ भन्ने सुनेको थिएँ स्कुले जीवनमा । तर जिन्दगीको लम्बाइ के कुराले नापिन्छ होला भन्ने लागेको थियो । अहिले पनि त्यस्तै लाग्छ । त्यो उमेर, धुलो उड्ने गिटी बिच्याइएको महेन्द्र राजामार्गलाई हरेक दिन ८ किलोमिटर छिचोलेर स्कुल पुग्दाको लम्बाई कती थियो होला ? सर्सर्ती हेर्दा त्यो लम्बाई त्यत्ती थियो ८ किलोमिटर । शायद त्यही मात्रै थियो मेरो जिन्दगीको नाप पनि ।

मलाई त्यो ८ किलोमिटर भन्दा लामो कहिल्यै केही लागेन । बाँचेर मर्नेहरुलाई जिन्दगी यसरी नै लामो लाग्छ । तर मरेर बाँच्नेहरु पनि हुन्छन जसलाई जिन्दगीको लम्बाई इत्रुको लाग्छ । मैले वर्षौंसम्म नापेको त्यो दर्सन डुङ्गाले छोपिएको बाटो उदेक लाग्दो गरी मानसपाटलमा नाचिरहेको छ अहिले । त्यो स्कुल, त्यो चमक निखारिएको महेन्द्र राजमार्ग, विस्मृत सपनाका खाडलहरु ।

उ बेलामा मलाई मेरो आफ्नै उमेर अजीवसँग लामो लाग्दै गएको थियो । त्यही त हुन्छ कसैको जीवनमा । कुनै यस्तो कुरा हुन्छ जसले पुरै जिन्दगीलाई प्रभावित पार्छ । अझ त्यसमा पनि लेखेर, आफ्ना अनुभव कागजमा पस्केर । निकै थोरै मान्छे हुन्छन जसले आफ्नो लेखाइले अरु कसैको जिन्दगीमा गहिरोसँग प्रभाव पार्छन । मेरो जिन्दगीमा त्यस्तै गरी प्रभाव पारेको थियो- “घनघस्याको उकालो काट्दा” ले । पाठ्यपुस्तकमा छापिएको यो यात्रासंस्मरण पढेपछी मलाई त्यो धुलाम्मे सडक चम्किलो लागेको थियो । राजमार्ग माथिको घनघोर जंगल एक्कैछिनमा हरियाली लागेको थियो । अहिलेसम्म सायद कुनै त्यस्तो लेखोट पढिएको छैन जसले जिन्दगीको कुनै एउटा पाटोलाई रसिलो बनाएको होस ।

मैले सडकका गिटीलाई पर बारीका छेउसम्म हुर्याउँथे र घनघस्याको उकालो काट्दाका लेखक तारानाथ शर्मालाई प्रत्यक्ष भेट्ने कल्पना गर्थें । साँच्ची देख्दै नदेखेको मान्छेले जीवनमा कसरी यस्तो गहिरो प्रभाव पार्न सक्दछ ? मलाई कल्पनाका ति क्षण हरेक पटक अचम्म लागिरहे ।

तारानाथ शर्माको घरको छतबाट पानी त चुहिन्थेन होला । तर उनको जिन्दगीबाट धेरै कुरा चुहिएका थिए । उनले भोगेको उमेर पटक पटक फाटेको थियो । धेरै पटक आफ्नो जिन्दगीको फाटेको भाग टालटुल गर्न अमेरिका पनि पुगे । काम गरे ।

हाम्रो घर गाउँको पुछारमा थियो । अहिले पनि त्यहीं छ । वर्षादका बेला हाम्रो सुत्ने ओछ्यानसम्म तरतरी पानी चुहिन्थ्यो । हामी रातभरी कतै कुनामा ओतिएर बस्थ्यौं । सुत्ने विस्तारा पानीले भिजेर लुछुप्प हुन्थ्यो । यो मेरो काहानी हो, मैले भोगेको कहानी । देशभरी यस्तै कहानी कतिले भोग्दा हुन ? हामी कागजमा लेखिएका सुकोला अक्षर पढेर भिजेको विगत विर्सिन्छौं । त्यो मेरो विगत अरु कसैको विगतसँग मिल्दोजुल्दो होला कि नहोला ? होला नि त कसैको उस्तै । मेरो आत्मा रातभरी तपतप पानी चुहिने घरले उदेकलाग्दो गरि हल्लाएको थियो ।

एक दिन घर छोडेर काठमाडौं हान्निएँ । जिन्दगी तारानाथ शर्माले घनघस्याको उकालो काट्दा जस्तै अलिकती डर, अलिकती रात, अलिकती घाम सहित रोमान्चक बनोस भन्ने भयो । दिमागमा छापिएको बैतडीको त्यो उकालो र रातविरात त्यो भिमकाय पर्वत सँग सिंगौरी खेल्दै गरेका डा तारानाथ शर्मा कहिल्यैं मेटिएनन ।

म कहिल्यै पनि पत्रकार बन्छु भन्ने लागेको थिएन । मेरो लगाव अर्कै थियो, म जे बन्न चाहन्थें त्यो कहिल्यै बनिन । जे बन्ने बारेमा सोचेकै थिइन, त्यही बन्न मन लागिरह्यो । यो ठ्याक्कै त्यही विन्दुमा “घनघस्याको उकालो काट्दा पढ्दा” पहिलो पटक दिमागमा त्यो अवचेतन चेतनाले हुर्किने मौका पाएको थियो । यही अवचेतन इन्द्रियको उत्तेजनाले म पत्रकार बनेको थिएँ ।

पछी थाहा भो, हो यही एउटा यस्तो पेशा थियो जसलाई मैले खोजिरहेको थिएँ शायद । डा. तारानाथ शर्मा अब यो दुनियाँमा हुनुहुन्न । समाचारहरु पढेर उहाँको मृत्‍युको खवर थाहा पाउँदा मेरो टाउकोमा सिंगो आकाश बजारियो । सोचें, कसले नापेहोला जिन्दगीको लम्बाई ? साँच्चै जिन्दगी यत्ती छोटो छ र !

तारानाथ शर्माले जिन्दगी चलाऊन विदेश जानु पर्ला भनेर कसैले सोचेकै हुँदैन । त्यो दिन मलाई दिक्दार लाग्यो- त्यस्ता ब्यक्ती किन जन्मिन्छन नेपालमा ? नेपाली भाषा साहित्यमा शर्माको योगदानको कहीँ कतै कदर देखिएन । हरेक सरकारले उनको योगदानलाई विट मारिदिए ।

पत्रकारिता यस्तो पेशा हो जसलाई समाजले धेरै सहुलियत दिएको हुन्छ । एकदिन फोन गरें- “डा. तारानाथ शर्मा सँग कुरा गर्न मिल्छ” ?

“भन्नुस म बोल्दै छु”- उताबाट जवाफ आयो ।

‘मलाई तपाईं सँग एउटा अन्तर्वाता गर्न मन छ- मैले भनें ।

‘केको बारेमा ?’

‘तपाईंको बारेमा !’

‘मेरो बारेमा कस्तो अन्तर्वाता ?’ उहाँले सोध्नु भयो ।

‘एकदम सादा, कुनै फुलबुट्टा नभरिकन’- मैले भनें । उहाँ खित्का छोडेर हाँस्नु भो ।

भोली पल्ट ज्ञानेश्वरको एउटा स्कुलमा भेट्ने कुरा भयो । साहित्यकारको स्कुल होला भन्ने लाग्यो, होइन रहेछ । ताना शर्मा त्यसका जागिरे रहेछन- त्यो स्कुलका प्रिन्सिपल । हँसिला बुढा, निकै फरासिला । अन्तर्वाता पछी पनि म उनीसँग निकैबेर गफिएँ । मलाई त यस्तो लाग्यो, उनीसँग मेरो पुस्तौं पुस्ताको साईनो छ । धेरै बेर घनघस्याको उकालो काट्दाका कुरा चले । तर उनको जिन्दगीमा असङ्ख्य यस्ता अरु उकालाहरु थिए जसलाई उनले कसरी पार गरे होलान भनेर जोकसैलाई जिज्ञासु बनाइरहन्छन ।

म काठमाडौं बसुन्जेल तारानाथ शर्मासँगको संगत छुटेन । बरु उनले पढाउँदै गरेका केही स्कुलबाट जागिर छुट्यो । हामीले आकाश भन्दा अग्लो साहित्यकार पटक पटक बेरोजगार बनेको देख्यौं ।

गोपीकृष्ण सिनेमा हल भन्दा भित्रभित्रै अली अगाडि गए पछी देब्रेपट्टी यि साहित्यकारको घर थियो- इत्रुको मुण्डा घर । देवेन्द्र भट्टराई र म हरेक हप्ता अलिकती स्याउ प्लास्टिकमा झुण्ड्याएर सरस्वति नगर उनको घरमा पुग्दा उनी कुनै पुस्तक पढ्न वा केही लेखिरहेका हुन्थे ।

धेरै बेर घनघस्याको उकालो काट्दाका कुरा चले । तर उनको जिन्दगीमा असङ्ख्य यस्ता अरु उकालाहरु थिए जसलाई उनले कसरी पार गरे होलान भनेर जोकसैलाई जिज्ञासु बनाइरहन्छन ।

‘कालो चिया खान्छौं ?’ हरेक पटक हामीलाई यही सोधिन्थ्यो । हामी आफ्नो मुन्टो हल्लाउँथ्यौ र कालो चियासँग गफिन्थ्यौं । हामीलाई उनले बिताएको उमेर अलौकिक जस्तो लागे पनि पिडादायी थियो । मैले माथि भने नि ! हाम्रो घरमा रातभर तपतप पानी चुहिन्त्यो र हामी सबै परिवार कतै कुनामा ओत लागेर रातभरी टुक्रुक्क बस्थ्यौं । त्यस्तो त मेरो दिमागमा अलिशान महल बनाएका तारानाथ शर्माको जिन्दगीमा पनि रहेछ । घरको छत बाट पानी त चुहिन्थेन होला तर उनको जिन्दगीबाट धेरै कुरा चुहिएका थिए । उनले भोगेको उमेर पटक पटक फाटेको थियो । धेरै पटक आफ्नो जिन्दगीको फाटेको भाग टालटुल गर्न अमेरिका पनि पुगे, काम गरे । कहाँँ टालिन्थ्यो- अन्तरिम थिए सबै ।

पछील्लो पटक धेरै वर्ष अघि उनको एउटा सन्देश आयो- ईमेलमा । “कता छौ बाबु? मिल्यो भने फोन गर न । बोल्न मन लाग्यो ।’

त्यो दिन धेरैबेर बात भयो । तारानाथ शर्माले जिन्दगी चलाऊन विदेश जानु पर्ला भनेर कसैले सोचेकै हुँदैन । त्यो दिन मलाई दिक्दार लाग्यो- त्यस्ता ब्यक्ती किन जन्मिन्छन नेपालमा ? नेपाली भाषा साहित्यमा शर्माको योगदानको कहीँ कतै कदर देखिएन । हरेक सरकारले उनको योगदानलाई विट मारिदिए ।

मरेपछी कुनै चौराहमा मूर्ती बन्नु महान काम मान्दिन म । त्यो अली कृत्रिम लाग्छ । सरकारले मृत्‍यु नाप्छ । मृत्‍युको कहानी सुन्छ । बल्ल मूर्ती बन्छ । कसैले नापेको छ तारानाथ शर्माको जीवनलाई ? उनको जिन्दगीको काहानी कसले सुने होला र खै ! सुनिंदैन । किनभने जिन्दगीको कहानी रमाइला हुँदैनन । तर हामीलाई तपाईंको जिन्दगीका हरेक पाटाहरुले मानशिक रुपमा स्खलित गराएका छन । मलाई सरस्वती नगरको कालो चिया, कहिलेकाँहिका उत्ताउला गफ । तपाईंको फाटेको जिन्दगीका हरेक छिद्रहरु झल्झली सम्झिरहेको छु । स्वर्गमा बास होस् ।

तपाइँको प्रतिक्रिया