मंगलबार, वैशाख ११, २०८१

जर्मनीमा सुशिल कोइराला रोएको त्यो क्षण

सुर्य तिवारी / जर्मनी२०७८ फागुन ८ गते ८:०९

पूर्व प्रधानमन्त्री तथा पूर्व पार्टी सभापति सुशिल कोइराला जर्मनीको म्युनिख आउने खबरले हामी उत्सुक थियौं । सुरुमा सुशिल कोइराला आउने विषयमा निस्कर्ष हुनसकेन । हामी चाहन्थ्यौं, सुशिल दा हामी माझ आउन्। तर जनसंपर्क समिति बेलायतका केही ब्यक्तिले सुशिल दालाई उतैबाट नेपाल फर्काउने निधो गरिसकेका रहेछन । जनसंपर्क समितिका कार्यकर्ता र हामीबिच लामै माथापच्ची भयो । उनीहरु सुशिल दालाई बेलायतबाट सिधै नेपाल फर्काउन चाहन्थे । हामी जसरिपनि जर्मनी बोलाएर भेटघाट गर्न चाहन्थ्यौं । अन्तत : हाम्रो निम्तो स्विकार गर्दै सुशिल कोइराला हामी माझ आउने तय भयो ।

उत्सुकता थियो । थिओय् मनमा डर पनि । सुरक्षाको कारण पनि हामीलाई सावधानि पुर्याउनुपर्ने थियो । हुन त्, जर्मनी विश्वकै एक सुरक्षित देशमा पर्छ । तैपनि सतर्कत हुनैपछ । उत्सुकता र् सतर्कताको बिच सुशिल कोइराला आउने निधो भयो । पहिले पहिले अरुले आयोजना गरेको स्थलमा टिका टिप्पणी गर्न सजिलो हुन्थ्यो । तर आफैंले जिम्मेवारी बहन गर्नु फरक थियो । त्यसमाथि देशकै उच्च ओहदाका, महत्वपूर्ण जिम्मेवारीमा रहेका ब्यक्ती । अझ कोइराला परिवारका राजनितिज्ञ ।

पत्रकार थानेश्वर सापकोटाको ठुलो पहलमा कोइराला म्युनिख ओर्लदै थिए । सबैले ‘सुशिल दा’ भन्ने रहेछन । मलाईपनि त्यही नामले सम्बोधन गर्न मज्जा लाग्यो ।

नेपालमा उच्च घराना मध्ये कोइराला परिवारको बोलवाला र दबदबा अली फरक छ । हामीले टेलिभिजन् र् पत्रीकामा सधैं देख्ने गरेका मान्छे । हामी माझ शशरिर उपस्थित हुनु ठुलो उपलब्धी जस्तै थियो ।

हामीले सुशिल दालाई राख्ने बन्दोबस्त गर्न होटल खोज्न लाग्यौं । तर ‘तिमीहरुसितै बस्छु’ भनेर सुशिल दाले जिद्दी गरे । होटलमा खर्च गरेर बस्ने आतिथ्य उनले स्विकार गरेनन । ‘तिमीहरुले दु:ख र मेहेनत गरेर कमाएको सम्पत्तिमा मैले रजाइ गर्नु मेरो नैतीकताले दिंदैन । तिमीहरु जसरी बस्छौ म त्यहिं गुजारा गर्न सक्छु । किन खर्च गर्नुपर्‍यो होटेलमा?’ सुशिल दाले जिद्दी गरे । सुशिल दा देख्दा जती सरल देखिन्थे ब्यवहारमा पनि उत्तिकै सरल रहेछन् ।

माओवादी द्वन्दताका रेड लिस्टमा परेका कोइराला जती कठोर होलान भन्ने सुन्निन्थे वास्तविकरुपमा उल्टो देखियो । विदेश बसाइमा हामीले प्र्योग गर्ने सानो एउटा कोठा । सिमित साधन । मितब्ययी बसाई । कम खर्चमा चलाऊने गुजारा । बचेको रकम गृहस्तीका लागि घर पठाउने गरेको ब्यथा । सुशिल दाले सबै ध्यान दिएर सुन्थे । राम्ररी बुझेका थिए । र पनि उनलाई दिने आतिथ्यमा कमी नहोस् भन्ने विषयमा हामी सजग थियौं । तर कुनैपनि अनावश्यक खर्च सुशिल दाले गर्न दिएनन ।

जम्मा एक दिनको समय लिएर आएका सुशिल कोइराला । हामी सित एकैदिनमा वा आएकै दिन झ्याम्मिए । भोलिपल्ट मिल्छ भने टिकट अवधी सारेर अझै तीन दिन हामी माझ बस्ने संकेत दिए । त्यसै गरियो ।

भोलिपल्ट बिहानै हामी हिटलरले गरेको नरसंहार स्थल दखाउ (मुक्ती शिविर) गयौं । त्यहाँ २० लाख मान्छे एउटै चिहान बनाइएका थिए । त्यो देखेर सुशिल दाले आँखाभरी आँसु बनाए । उनी रोएको त्यो दृष्य अहिले पनि आँखा भरी झल्झली सम्झन्छु म ।

गहभरी आँसु भरेर ति याहूदी मृतकहरुप्रती नमन गरे उनले । हार्दिक श्रद्दान्जली दिए । लोकतन्त्रका लागि आफूलाई आहुती दिन तयार हुने यि योद्धालाई क्रुर तानाशाहको चरम लीलाले कति दुखित बनाएको होला !

जुन महिनाको चर्को घाम । लामो पैदल यात्राामा सुशिल दाका खुट्टा भुक्क सुनिन थालेका थिए । तर ज्याद्रा सुशिला दा, थाकेको कुनै संकेत दिएनन । बाटाभरि उनका जीवनमा भएका अनकौं घटना हामी उत्सुकताका साथ सुनिरहेका थियौं । कहिले रोमान्चक बनाउँथ्यो त कहिले तत्कालै आँसु झर्ला झैं हुन्थ्यो । उनले भोगेको जिन्दगीको एक एक पाटो, हरेक पल हाम्रो लागि रमाईलो, अचम्मित, रोमान्चक वा केहि न केहि नौलो थियो ।

सुशिला दासित यस्ता कहानी कति थिए कति । उनको जिन्दगीमा यस्ता भोगाईको महाभारतनै थियो । बिच बिचमा उनले जेल परेका प्रसंग सुनाए । युवा छँदा प्रेममा परेका प्रसंगले हामीलाई निकैबेर हर्षित बनायो । फेरि सुशिल दाको त्यो अपुरो जस्तो लाग्ने प्रेम प्रसंगले दुखित जस्तो पार्थ्यो । उनले निर्वाह गर्नुपर्ने कैयौं जिम्मेवारी पुरा गर्न नसकेका तिता अनुवभवपनि सुनाए ।

पुरातनपन्थि युग जस्तो लाग्ने त्यो समय । त्यसमाथि राणा शासन र उनिहरुले लोकतन्त्रका लागि गरेको त्याग । त्यो सामान्य हुने त कुरै थिएन । कलिलो उमेरबाटै देशलाई राणाहरुबाट मुक्त बनाउनुपर्छ भनेर लागेका सुशिल दा । सम्पूर्ण देशलाई नै आफ्नो परिवार माने उनले । सानो परिवार होइन सिंगै देश उनकालागि परिवार बन्यो । त्यसैले उनले आफ्नो ब्यक्तिगत, निजि परिवार बनाएनन् ।

सुशिल दाले हामीसितको जर्मनी बसाइका बेला तीन दिन कतै फोन संपर्क गरेनन् । हामीबिच रमाए । हाँसे, हँसाए । उनी जती रमाए हामीले पनि छुट्टीने बेला घरको अभिभावक छोडेर जान लागेको जस्तै अनुभव गर्‍यौं । उनले हामीमाझ रमाएर बिताएका कुरा मृत्‍युपर्यन्त सम्म छुटेन ।

बसाइका दौरानमा राजनीति छोडेर उनको आफ्नो निजी जीवनका सम्भवत कुरा गरेको यो पहिलो अनुभव थियो होला, सुशिल दाको । हामीले सुनेका सुशिल कोइराला र भेटेका सुशिल कोइराला अत्यन्तै भिन्न थिए ।

मान्छेले उनका बारेमा कती अनर्गल कुरा बोल्दा रहेछन् । सुनेकै भरमा पत्याउँदारहेछन् र लेख्दा रहेछन भन्ने हामी आफैंले भोग्न पायौं । किनभने सुशिल कोइराला जर्मनीको म्युनिखमा हामी माझ हुँदाकै समयमा शेर बहादुर देउवा ग्रिस भ्रमणमा थिए । उनिहरु बिच कुनै सम्वाद भएको थिएन । तर अनेकौं मेडियाले ‘दुई नेताको युरोपमा गोप्य छलफल’ भन्दै छापेका थिए ।

त्यसबेला जनसंपर्क समिती युरोपको विवाद उत्कर्षमा थियो । सुशिल दा यो कमिटी भंङ गरिदिने सोचमा थिए । दिल बहादुर गुरुङ युरोपका संयोजक थिए । यदी यो कमिटी भंग गरिए जातिय बखेडा निस्केला भनेर त्यो विषयको प्रसंग नै निकालेनन् उनले ।

हामीबिच नेता कार्यकर्ताको सम्बन्ध भन्दा आत्मिय, आफन्त, आफ्नै घर परिवारको एक सदस्य, अभिभावकको नाता बनिसकेको थियो । तीन दिन कसरी बिते पत्तो भएन । फर्केपछी सुशिल दा विहान प्राय थानेश्वर सापकोटाको मोबाइलमा मिसकल गर्थे । यति नजिकको नाता, संवन्ध बनेछ तीन दिनमै कि हामी जिस्कने मस्कनेसम्म गर्थ्यौं सुशिल दासित । उनीपनि कुनै दिन ‘तनाव बिर्सन र खुशी हुन बिहान कुरा गर्दा राम्रो हुन्छ, समग्र दिन राम्रो हुन्छ’ भन्थे । उनीसँगको यस्तो सम्वादले निरन्तरता पाउँदै गरेको थियो । यो देखेर एक दिन गगन थापा पनि दङ् परेका थिए । सुशिल दाको सरल र सादगीपन सम्भवत कुनै राजनीतिककर्मिले अनुसरण गर्न सकेनन् ।

एक पटक म नेपाल गएका बेला सुशिल कोइरालासँग भेट गर्न भनेर संपर्क गरें । उनले ‘भोली बिहानै ८ बजे आउनु भेटौं’ भने । विहान आठ नबज्दै उनको निवास महाराजगन्ज पुगें । तर उनले मलाई बोलाएको कुरा बिर्सेंछन । म उनलाई भेट्न पुग्दा उनी मान्छेहरुले घेरिईसकेका थिए । गाडी चढे । कुरै नगरि हिंडे । म हेरेको हेर्‍यै भएँ । केहिबेरपछि आफ्नो बाटो लागें ।

उनले बेवास्ता गरेको देखेपछी फेशबुकको भित्तामा मैले तितो पोखें । मेरो स्टाटस लेखिएको केही घण्टा पछीनै मैले फेसबूकमा पोखेको तितोबारे कसैले उनलाई सुनाएछ । उनले थाहा पाएर मलाई फोन गरे । तर म जर्मनी फर्कन विमान स्थल पुगीसकेको थिएँ । भेट्न सम्भव भएन । यो कुरा सुशिल दाले पछीसम्म पनि गल्ती भएको भनेर स्मरण गर्न छुटाएनन् ।

हामी जस्ता सामान्य मान्छेलाई नभेटेर केही नोक्सान हुने थिएन उनको । तर कसैको मन नदुखोस् भन्ने विषयमा उनी कति सम्वेदनशिल थिए, अरुलाई कति आदर गर्थे भन्ने कुराको संकेत थियो त्यो । मेरो मानसपटलमा सुशिल कोइराला एक जना राजनितिज्ञ मात्रै थिएनन् बरु सादगी, सरल, दयालु र समभाव राख्ने, अरुलाई आदर र सम्मान गर्ने नेताका रुपमा रहेका छन् । प्रेरणादायी पात्रकारुपमा पनि रहेका छन् ।

तिवारीका अघिल्ला रचनापनि हेर्नुस्

चमत्कार गर्ने चक्करमा कैयौं नेपाली विलीन

प्रवाशका राजनितिक रोगीहरुलाई समयमै उपचारको खाँचो

हे एनआरएन दोहोरो नागरिकताको मुद्दा खोइ ?

तपाइँको प्रतिक्रिया