मंगलबार, वैशाख ११, २०८१

रुसी राष्ट्रपती पुटिन र फ्रान्सेली राष्ट्रपती माख्रों युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत !

नेपालप्लस संवाददाता२०७८ फागुन ९ गते १:३१

Image credit-fr.wikipedia.org

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों र रुसी राष्ट्रपती भ्लादिमिर पुटिन आइतवारको वार्तामा पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएको माख्रोंको कार्यालयले जनाएको छ ।

दुई नेताहरूले चलिरहेको संकटको कूटनीतिक समाधानको पक्षमा र त्यसलाई प्राप्त गर्न सबै कुरा गर्न आवश्यक काममा लाग्ने सहमति गरेको फ्रान्सेली राष्ट्रपतीको कार्यालय एलिजे प्यालेसले जनाएको छ ।

रुसी राष्ट्रपती पुटिन र फ्रान्सेली राष्ट्रपती माख्रोंले युक्रेन कूटनीतिलाई बढावा दिन आवश्यक रहेको भन्दै आइतवार छलफल गरेका हुन् ।

उनीहरुले आइतवार फोन कलमा पूर्वी युक्रेनमा बढ्दो संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा अघि बढाउने विषयमा छलफल गरेको रुसले बिज्ञप्तीमार्फत् जनाएको हो ।

“स्थितिको अत्यावश्यकतालाई ध्यानमा राख्दै, राष्ट्रपतिहरूले नर्मन्डी ढाँचाका नेताहरूलाई विदेश मन्त्रालयहरू र राजनीतिक सल्लाहकारहरू मार्फत कूटनीतिक माध्यमबाट पहल गरिने छ । समाधानको खोजी तीव्र पार्ने आवश्यकतालाई दुबै देशले स्वीकार गरेका छन्” एक विज्ञप्तिमा भनिएको छ ।

“यी सम्पर्कहरूले युद्धविरामको पुनर्स्थापना गर्न र डोनबासमा द्वन्द्वको समाधानमा प्रगति सुनिश्चित गर्न सहयोग पुर्‍याउनुपर्छ” रुसी सरकारी बिज्ञप्तीमा छ ।

अब फ्रान्सेली विदेशमन्त्री जाभिय ल ड्रियँ र उनका रूसी समकक्ष सर्गेई लाभरोभले भेट्ने कार्यक्रम छ । तर मिति भने तोकिएको छैन ।

यसैबिच अमेरिकाले आफ्ना नागरिकहरूलाई रुस र युक्रेनबाट सुरक्षित तरिकाले बाहिर निस्कन् योजना बनाईरहन आग्रह गरेको छ ।

“मस्को र सेन्ट पिटर्सबर्ग लगायतका प्रमुख सहरी क्षेत्रका साथै युक्रेनसँगको रुसी सीमामा बढेको तनावको क्षेत्रमा किनमेल केन्द्रहरू, रेलवे र मेट्रो स्टेशनहरू र अन्य सार्वजनिक भेला हुने ठाउँहरूमा आक्रमणको धम्की आएको छ” दूतावासले जनाएको छ।

“तपाईंको व्यक्तिगत सुरक्षा योजनाहरूको आफैं समीक्षा गर्नुहोस्” दूतावासले भनेको छ “अमेरिकी सरकारको सहयोगमा भर नपर्ने योजनाहरू बनाउनुहोस ।”

अमेरिकी दुतावासको भनाई बाहिरिएपछि रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले रुसलाई सम्भावित आक्रमणको सूचना दिएको हो कि भनेर प्रश्न गरेकि छन् “यदि होइन भने यो सबै कसरी बुझ्ने ?” ।

युक्रेनले पश्चिमा राष्ट्रहरुलाई रुसलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

युक्रेनका नेताहरूले बारम्बार आह्वान गरे पनि अमेरिकाले प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार म्युनिखमा भएको एक सुरक्षा सम्मेलनमा पश्चिमी नेताहरूलाई भने “केही दिनमा युद्ध हुनेछ भनेर तपाई मलाई शतप्रतिशत भन्नुहुन्छ । तपाई केको पर्खाइमा हुनुहुन्छ ?”

“बमबारी भएपछि वा हाम्रो राज्यमा गोली हानिएपछि, वा यदि हाम्रो देशको सिमानै नरहेपछि” उनले भने “हाम्रो अर्थतन्त्र ध्वस्त भएपछि वा हाम्रो राज्यको केही भागहरू कब्जा गरेपछि हामीलाई तपाईंको प्रतिबन्धको आवश्यकता पर्दैन” ।

उता रुसले भने पश्चिमी देशहरुले थप तनाव बढाएको आरोप लगाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले आक्रमण गर्न लागेको भन्ने पस्चिमी देशहरुको बारम्बारको चेतावनी उत्तेजक बनाउने खालको छ र यसले प्रतिकूल नतिजा निम्त्याउन सक्छ । रुसले संकटकालमा पूर्वी युरोपमा नेटो बल पठाएर पश्चिमले तनाव बढाएको बताएको छ ।

रुसको पक्षमा रहेको बेलारुसले रुसले सैन्य अभ्यास विस्तार गर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आइतवार रूसले आइतवार समाप्त हुने सैन्य अभ्यासलाई विस्तार गर्ने बेलारुसले बताएपछि तनाव बढ्दै गएको बताएका छन् ।

त्यसका बावजुद उनको रूसी समकक्षीसँगको बैठक अर्को हप्ता अगाडि बढ्ने उल्लेख गरेका छन् ।

“हामीले देखिरहेका सबै कुराले हामी आक्रमणको निकटमा छौं भन्ने सुझाव दिन्छ । यो हुनु अघि यसलाई रोक्नको लागि हामी सक्दो प्रयास गर्नेछौं” ब्लिन्केनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने । उनले मस्कोले आक्रमण गरेमा पश्चिमका देशपनि उत्तिकै तयार रहेको बताए ।

(फ्रान्स २४, एपी, एएफपी र रोयटर्सको सहयोगमा)

तपाइँको प्रतिक्रिया