बुधबार, असोज १९, २०७९

“हात समातेर डोर्‍याउनुहोला भनेको, खुकुरीले हातै काटिदिनु भयो”

नेपालप्लस संवाददाता२०७८ फागुन १० गते १९:१९

 

शनिवार बद्रि केसी समुहको चुनावी कार्यक्रम थियो । होनहार, बलिया उमेदवार थिए । थैली बलियो बोकेका ब्यापारी एनआरएन थिए । डाक्टरहरु थिए । सचेत, जानेबुझेका हाईफाईवालापनि निकै थिए । सुटेड बुटेडकै बोलवाला हुनेनै भयो । अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडाका सुखि देशका त्यत्तिकैपनि सम्पन्न मानिनेहरुको बोलवाला हुनेनै भयो । तर त्यहाँ इत्रुका भनिने, दुखजिलो गर्न अरब, खाडी र अफ्रिकातिर श्रम गर्न हिंडेका नेपाली पनि थिए ।

कार्यक्रममा पालो प्राय सुटेबुटेड र सम्पन्न देशकै अब्बल ठानिनेको आउँछ पहिले त । प्राय हरेक कार्यक्रममा बोल्नेपनि तिनै सुटेड बुटेडनै हुन्छन् । प्रश्न तिनैले सोध्छन् प्राय । तिनको हाउभाउ चल्छ । गनिन्छ । तर यो पटक अलि फरक भयो यो कसश कार्यक्रम । अफ्रिकाका नेपालीले शुरुमै बोल्न पाए । तिनले आफ्नो गुनासा राखे ।

उच्चस्तरिय छानबिन समितिका संयोजकको अरन खटनमा प्रतिनिधि छानबिनको छानबिन गरेका भनिएका सोनाम लामाले नौ सय प्रतिनिधि काट्नुपर्ने सुझाव दिएपछि अवस्था तात्तिएको थियो । ति नौ सय कटाईमा परेका बिभिन्न देशका यिनै मजदुर र श्रमिकको आवाजपनि यो बेला ककशलाई झन बढी चाहिएको थियो । ककशलाई मात्रै किन ? उमेदवार जति सबैलाई चाहिएको थियो ।

क्यानडा, अमेरिका, बेलायत, जापान लगायत युरोपका बिभिन्न मुलुकका नेपालीले निर्धक्कले बोले । आफ्ना धम्किपनि दिए । गुनासापनि पोखे । तर्क त झन एक से एक आउनेनै भए । तिनका गुनासा र धम्कीपनि एक से एक समाचार बने ।

तर यहि ककशमा एकाध पात्र यस्ता आइपुगे तिनको प्रस्तुतिलेनै भन्थ्यो, ‘तिनको आवाज सुन्ने गरिन्न । तिनलाई हनबेर्नोसमान बनाईयो । तातो डेक्ची अगेनोबाट बाहिर निकालेपछि हुत्याईएको हनबेर्नो जस्तो ।

कार्यक्रमको पुछारतिरमा मध्यपूर्वका गैर आवाशीय नेपालीको दुखेसो कहने पालो आयो । ओमानका बिकल लामा सुस्त बोलि लिएर उपस्थित भए । उनले साँच्चिनै मन छुने दुख पोखे ।

यो खाडी मुलुकमा देशका बिभिन्न डाँडापाखा, अन्दराकुन्दराका नेपाली आइपुग्छन् । त्यहाँ आउँदा तिनले बल्ल एनआरएनए भन्ने सुन्छन् । तिनको गाउँमा आइफोन, स्मार्ट फोन पुगेको हुन्न । कतिले पोखरा, काठमाडौं, चितवन, बिराटनगर जस्ता ठूला शहरमा आएपछि बल्ल अलि गतिला मोबाईल किन्छन् । किनभने त्यहि मोबाईलबाट परदेशिएका कहानी सुनाउनुपर्ने हुन्छ । पत्नीलाई ‘दुखेसो नमानेस, आम्ला नी आठ दश लाख कमाएर’ भन्ने आस्वाशन बाँड्नुपर्छ ।

आमा र बाउलाई ‘चित्त नदुखाउनुस्, मेरो पिर नमान्नुहोला’ भन्ने माध्यमपनि त्यहि मोबाईल भैदिन्छ । र बल्ल यिनले अनेक थरी इन्टरनेटमा बस्ने भ्वाईस र फोन लाग्ने मोबाईल किन्छन् । कति त उतै अरब मुलुक पुगेपछि मोबाईलका पसल धाउँछन् ।

तिनलाई खासमा यत्ति थाह हुन्छ ‘रातोले फोन कात्ने हरियो थिचे बोल्नी ।’ बाँकि सबै सिस्टम उतैकाले सिकाउनुपर्छ । हो यहि दुखेसो विकल लामालेपनि सुनाए । उनले कुनै फाइफुट्टी नदेखाई आफ्ना बाध्यता र अज्ञानता सुनाए ।

उनको भनाइ थियो- यो अरब मुलुकमा एनआरएनएको सदस्य बनाउन कति गाह्रो छ । एप्लिकेसन (अनुप्राग) चलाउनपनि जान्दैनन् । लोड गर्न आउन्न । तिनलाई त्यो अनुप्राग चलाउन, खोज्नपनि मान्छे खटाउनुपर्छ । मान्छे खोजि खोजि तिनको कोठामा पुर्‍यायो । अनुप्राग डाउनलोड गर्न लगायो । त्यो सिकाएर बल्ल सदस्यता फार्म भर्न लगाउनुपर्छ ।’

यति दुखले बनाएको सदस्यता किन ? मजदुरलाई भोलि अन्याय अत्याचार होला र भैपरि आउँदा यो प्रदेशमा यहि एनआरएनएले कुनै आड भरोसा देला ।

तर तिनले सोचेको जस्तो यो सदस्यता छनाबिन समितिले गरेन । झनै अन्याय पो गर्‍यो । उनले भने ‘यति दुख गरेर बल्लतल्ल बनाएका सदस्य (प्रतिनिधि) ९८ जना थिए । तिनमा सबै काटेर ११ जना बनाइदिनु भयो । हामीलाई दुख लागेको छ, यो सदस्य संख्या सुन्दा ।’

एनआरएनए टर्कीमा काम गरेका राजन योन्जनको भनाई त झनै मार्मिक थियो । उनले आफ्नो ब्यापार बिग्रिएर एनआरएनएमा सक्रिय हुन नपाएको दुखेसो सुनाउँदै थिए । उनी बसेको देश टर्कीलाईपनि प्रतिनिधि शुन्य बनाइएको थियो । अर्थात् एनआरएनए टर्कीले आजसम्म दिएको साथ र समर्थनस्वरुप एक जनालेपनि केन्द्रिय महाधिवेशनमा भाग लिन नपाउने उपहार।

राजन योन्जनले यसमा आफ्नै खालको गुनासो गरे । उनले खासै चर्किएर केहि बोलेनन् । कुनै धम्कि त झन दिंदै दिएनन् । बिद्रोहको आवाज त झन यिनले के बोल्थे । उनले प्रतिनिधिमा आफ्नो देशबाट एक जनापनि नपत्याउने एनआरएनए नेतालाई भने “हात समातेर डोर्‍याउनुहोला भनेको, खुकुरी दिएर हातै काटिदिनु भयो ।”

उनले नमिठो लागेपनि यत्ति दुख मनाउ गरे ‘हाम्रो देशले जे सक्यो त्यो योगदान गर्‍यो । केन्द्रिय महाधिवेशनमा हाम्रो देशलाई शुन्य बनाइदिनुभएकोमा घोर भर्त्सना गर्छु ।’

हुनपनि हो, गैर आवाशीय नेपाली संघमा एक लाख ६ हजार सदस्य छन् । यो संस्थामा अपनत्व महसुस गर्न सबैले मतदान गर्न पाउनुपर्छ भन्ने माग तिब्ररुपमा उठिरहेको छ । अध्यक्ष कुमार पन्तले समस्या समाधानकालागि बनाएको उच्चस्तरिय समितिका एक सदस्य सचिव गौरी जोशीले त ‘यो प्रतिनिधि विवाद समाधान गर्न सबै सदस्यले मत दिन पाउनुपर्छ’ भन्ने रिपोर्टमै उल्लेख गरेको बताएका थिए ।

एक लाख ६ हजार सदस्यलेनै आफ्नो नेत्रित्व छान्न पाउनुपर्ने माग उठिरहेका बेला भएका करिब ४६ सय प्रतिनिधिपनि काटेर १९ देशलाई मतदान गर्नै नपाउने बनाईदिनु न्यायपूर्ण देखिएन । अझ केन्द्रिय महाधिवेशनमा एक जना प्रतिनिधिपनि सामेल हुनै नपाउने स्थिति बनाइदिएपछि ति देशका एनआरएनएले कसरि सहुन् ? आफ्नो एक जना पनि प्रतिनिधित्व नभै बनेको केन्द्रिय संस्था कसरि आफ्नो जस्तो लाग्छ ? कसरि सहभागिता हुन्छ ?

अफ्रिकाका केहि नेपालीले त भनेपनि ‘हामीलाई मजदूर, श्रमिक, अफ्रिका बस्ने देखेर हेप्नुभयो । सुकिला मुकिलाले जे गरेपनि हुन्छ भन्ने मानसिकता राख्नुभयो । यसरि हेपेपछि कसरि यो संस्थामा अपनत्व, समानताको महसुस गर्ने ?’

तपाइँको प्रतिक्रिया

फेसबुक