शुक्रबार, चैत १६, २०८०

एनआरएनको चुनाव विथोल्ने को ?

नारायण कँडेल२०७८ फागुन ११ गते २३:२०

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचन र दशौं महाधिबेशन कुहिरोको काग भएको छ । तर निर्वाचन रुपी काग लुकाउने कुहिरोको भने अब पहिचान हुनुपर्छ । काग लुकाएको दोष अर्थात चुनाव र अधिबेशन रोक्ने वा हुन नदिने को हो भनेर अहिलेसम्म परस्पर आरोप मात्र लगाउने काम भएको छ । प्रत्येक दिन सामाजिक सन्जालमा एनआरएनएका परस्पर विरोधी समुहहरुले आफूहरु निर्वाचन र अधिबेशन गर्न चाहेको तर अर्को पक्षले निर्वाचन हुन नदिएको आरोप लगाउने गरेका छन । अर्थात एनआरएनए भित्रैबाट चुनाव रुपी काग लुकाईएको छ । तर लुकाएको स्वीकार गर्न कोही पनि तयार छैनन् ।

टाठाबाठाहरुले प्रचार प्रसारमा फेसबुक र सामाजिक संजाल तिर अठार थरीका समुह खडा गरेर अनेकानेक कथाहरु लेखेर निर्वाचन रोकेको दोष अर्को पक्षलाई दिने गरेका छन् । अनलाइन मिडिया तिर एकोहोरो रटान लगाउने पेशेवरहरुको पनि कमि छैन । उनिहरु यो चुनाव हुन नदिने कुल आचार्य भएको भाष्य श्रृजना गर्न खोजेका देखिन्छन् । परराष्ट्रमा गएको, उजुर बाजुर गरेको मन्त्रीले चिठी लेखेको सबै कुल आचार्यले गरेका हुन । त्यसैले चुनाव रोक्ने, अधिबेशन हुन नदिने उनै आचार्य हुन भनेर खुबै प्रचार प्र्रसार भएको छ । अर्थात चुनावरुपी कागमा बादल लगाउने कुल आचार्य नै हुन । अरु कोही होइनन् भन्ने ढोल कति पिटियो पिटियो ।

भ्रमाचारलाई समाचारमा परिणत गर्ने गोयबल्स थ्योरीको प्रभावकारी प्रयोगले धेरैलाई भ्रम दिइरहेको थियो । गोयबल्सको झुटलाई धेरै पटक भनेर सत्य बनाउन सकिन्छ भन्ने थ्योरीको पक्षपाती संसारभर पाईदैनन् । तर प्रयोग गर्नेहरु अत्यधिक छन जस्तो लाग्छ । त्यसमा पनि नेपाल र नेपालीमा धेरै नहुने कुरै भएन । एनआरएनएको निर्वाचन कसले रोकेको र किन रोकिएको भन्ने तथ्य लुकाएर इतर पक्षलाई दोष थोपर्न गोयबल्स थ्योरी प्रयोग गरी गलत प्रचार भएको कुरा अब छर्लङ्ग भएको छ ।

निर्वाचन र अधिबेशन कसरी अनिस्चित भएको रहेछ भन्ने तथ्य बुझ्न एकछिन एनआरएनएका महासचिव डा. हेमराज शर्मालाई सुनौं । डा. शर्माले आफ्नो पक्षको पृष्टपोषण गर्न हालै नेपालप्लसलाई दिनुभएको अन्तर्वार्तामा थुप्रै तथ्यहरुलाई एताउता गर्नुभएको छ । तर त्यसै विचमा उहाँले बोलेको एउटा बाक्यले भने फरक सत्य उजागर गरेको छ । हो त्यही सत्य हो जसले गएको अक्टोबर देखि आजसम्म एनआरएनएको अधिबेशन र निर्वाचनलाई अनिस्थित बनाएको । एनआरएनएलाई आजको हालतमा पुर्याएको ।

महासचिव शर्माले २२ फर्वरीमा नेपालप्लस अनलाइनका ददि सापकोटालाई एउटा अन्तर्वार्ता दिनु भएको छ । १ घन्टा १६ मिनेट ३६ सेकेन्ड लामो उहाँका अन्तर्वार्ताको १३ औं मिनेटमा एनसीसीहरुले आइसीसीलाई पैसा नतिरेको प्रसंग छ । यही प्रसंगमा उहाँले पहिले एनसीसीहरुले पठाएका २५ प्रतिशत प्रतिनिधी आइसीसीले स्वीकार गरिएको थिएन । तर अहिले स्वीकार गरिएको छ । त्यसैले अब पैसा तिर्नु पर्छ भन्नु भएको छ । उहाँकै शब्दमा “हिजो सम्म हामीले (एनसीसीले) पठाएका प्रतिनिधीहरु आइसीसीले एसेप्ट गरेन त्यो भएर हामीले दिंदैनौ भनेर एक खालको मोलमोलाई गरेर बस्नुभएको थियो भने अहिले त्यो तिनओटै देशका २५ प्रतिशत प्रतिनिधी एनसीसीले जस्तो पठाएको हो उस्तै स्वीकार गरीसकेपछि उहाँहरुले फि नतिर्ने कारण देख्दै देख्दिन” ।

माथिको भनाई एनसीसीले पैसा तिर्नुपर्ने कारण प्रष्ट पार्ने आसयले आएको हो । तर यसमा अर्को फरक विषयको तथ्यलाई सर्लक्क स्वीकार गरिएको छ । त्यो के हो भने पहिले एनसीसीहरुले बैधानिक रुपले पठाएका २५ प्रतिशत प्रतिनिधी आईसीसीले अस्वीकार गरेको रहेछ । तर आईसीसीको यो कदम गलत देखिए पछि अहिले बल्ल जस्ताको तस्तै स्वीकार गरिएको रहेछ । यसले के देखियो भने आइसीसीले उतिबेलै स्वीकार गर्नुपर्ने प्रतिनिधी ७ महिनासम्म स्वीकार नगरी झुलाएर राखेको रहेछ । जुन कुरा स्वयं महासचिबले स्वीकार गर्नुभयो । अव बैधानिक प्रतिनिधीहरुलाई ७ महिना सम्म अस्वीकार गरि झुलाएर राख्ने ब्यक्ति वा निकाय भेटिए पछि ६ महिना सम्म चुनाव रोक्ने अर्को ब्याक्ति वा कारण खोज्नु पर्ला र ? यसरी त आईसीसी आफैले चुनाव विथोलेको देखियो । अब यसका महासचिवले यो गलत कार्यको कतिसम्म जिम्मा लिने भन्ने कुरा मात्र हो ।

अगष्ट महिनामा नै विधान अनुसार एनसीसीहरुले प्रतिनिधीहरु पठाएका थिए । उतिबेलै ति प्रतिनिधी स्वीकार गरेको भए के हुन्थ्यो होला सोचौं । सम्भवतः प्रतिनिधी सम्बन्धी विबाद कम हुँदो हो । परराष्ट्र जानुपर्ने कारण आउँदैनथ्यो । झैझगडा, बादविवाद, अड्डा अदालतको चक्कर आदीको कुरै नहुन सक्थ्यो । सम्भवतः अक्टोबरमै चुनाव समेत हुने थियो । अतः प्रतिनिधी अस्वीकार गर्ने काम जसले गर्यो उसैले हो एनआरएनएको चुनाव र अधिबेशन रोकेको । एनआरएनएको अहिलेको यो लथालिङ्ग भताभिङ्ग पार्ने कर्तुतको नायक उहि हो ।

डा. शर्मा स्वयं महासचिव जो संगठन र सचिवालयको हर्ताकर्ता हुने हुँदा शक्तिशाली पदमा हुनुहुन्छ । अहिलेको कार्यसमिती भित्रका भित्रीयाहरुको बाहुल्यता भएको एउटा प्यानलबाट उमेदवार पनि हुनुहुन्छ । आरोप प्रत्यारोपको लागि होइन तर एक जना बौद्धिक ब्यक्तिको रुपमा यो ७ महिने अन्यौलको नैतिक जिम्मेवारी लिने स्थानमा डा. शर्मा स्वयं समेत देखिनु भएको छ ।

डा. शर्माको भनाई पछि अहिले आएर एनसीसीले पठाएका प्रतिनिधीहरुको बैधानिकता स्वीकार गरिएको बुझियो । आफूले बैधानीक रुपमा प्रतिनिधी पठाउँदा समेत अगष्ट देखि आजसम्म एनसीसीहरुलाई ज्यादै दुख दिइएको थियो । एनसीसी विरुद्ध त एक प्रकारको युद्ध नै छेडियो । नैतिक पक्ष भएकोले यसमा कारवाही वा सजाय हुने कुरा भएन । तर ककश नाम दिइएको संस्थापन वा एनआरएनएको (भित्रिया) पक्षका उमेदवारहरुले प्रचार गर्ने कार्यक्रममा सधैजसो संस्थाका वाहालवाला उपाध्यक्ष, महासचिव उपस्थित हुनुहुन्थ्यो । ति कार्यक्रमहरुमा एनसीसीले पठाएका २५ प्रतिशत प्रतिनिधीहरु विना नै निर्वाचन हुनुपर्छ भन्ने आवाज आउने गर्थ्यो । बैधानिक प्रतिनिधी विना नै निर्वाचन गर्ने कसरत चर्को गरी भएको थियो । यसको मनशाय के हो ?

बैधानिक प्रतिनिधी विना कथित चुनाव गराएर नक्कली विजय श्रृजना गरी संस्थाको सिन्दुर जवरजस्ती पहिरिने प्रयास होइन ? यस्तो गलत प्रयास गरेकोमा अनि बैधानिक प्रतिनिधीलाई अस्वीकार गरेर ७ महिना निर्वाचन पर धकेलेकोमा ककश पक्षिय भित्रियाहरुले नैतिक जिम्मेवारी लिनु पर्ने कि नपर्ने ? कि उपरी नेतृत्वलाई नैतिकताका सिद्धान्त वा नियमहरु लाग्दैन ?

प्रश्न उठ्न सक्छ, अब २५ प्रतिशतमा एनसीसीले पठाएका प्रतिनिधी स्वीकार भएपछि भै गयो नि । तर यो मामला यतिमा मात्र सकिने खालको छैन । जसले २५ प्रतिशत बैधानिक प्रतिनिधीहरुलाई एनआरएनएको प्रकृयाबाट बाहिर राख्ने गलत प्रयास गरी ७ महिनासम्म प्रकृया विथोल्यो । ति प्रतिनिधीहरु बिना नै निर्वाचन गरेर संस्था हत्याउने प्रयास गर्याे । अहिले पनि संस्थाको चापी उहाँहरुकै हातमा छ । बैधानीक प्रतिनिधीलाई प्रतिनिधी हुन नदिन आधा वर्ष गलत कसरत गर्नेहरुले अबैधानिक वा नक्कली प्रतिनिधी बनाउने अवसरलाई छोडे होलान ? संस्थाको पन्जिकृत सदस्यहरुको विवरण भण्डार गरिएको एमआईएस सिस्टम उहाँहरुको नियन्त्रणमा छ । बैधानिक प्रतिनिधीहरुलाई पाखा लाउन संगठित रुपमा नियतबस खटिने ब्यक्तिहरुले संस्थाको पवित्रता विरुद्ध अपवित्र वा अनैतिक सहवास गरेनन् भनेर कसरी विश्वास गर्ने ?

अतः सम्पूर्ण प्रकृयालाई विवादास्पद बनाउने प्रयासबाट संस्थालाई बचाउन यो प्रकृयामा भए गरेका सम्पुर्ण गलत कार्यहरुको स्वतन्त्रतापूर्वक सुक्ष्मरुपमा पुनरावलोकन हुनु पर्छ ।

(गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष कँडेल क्वीन्स युनीभसिटी बेलफाष्ट, युकेबाट अभिब्यक्ति स्वतन्त्रताका विषयमा विद्यावारीधी गर्दै रहेका सोधार्थी हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक