शुक्रबार, वैशाख १४, २०८१

युक्रेनमाथि ‘बर्बर आक्रमण’ भएको भन्दै ईयुद्वारा निन्दा, रुसी अर्थतन्त्र पंगु बनाउने वाचा

नेपालप्लस संवाददाता२०७८ फागुन १२ गते ११:५९

युरोपेली संघले युक्रेनमाथि बर्बर आक्रमण गरिएको भन्दै रुसमाथि ठूलो र लक्षित प्रतिबन्ध लगाउने घोषणा गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेकि हुन् । उनले रुसको मुख्य प्रविधिहरूको पहुँचमा रोक लगाउने र युक्रेन आक्रमणको लागि आर्थिक सहयोग गर्ने देशको क्षमतालाई अपांग बनाउने समेत बताएकि छन् ।

“हामी मुख्य प्रविधिहरू र बजारहरूमा उनीहरूको पहुँच रोकेर रूसी अर्थतन्त्रका रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्नेछौं । हामी रूसको आर्थिक आधार र यसको आधुनिकीकरणको क्षमतालाई कमजोर पार्नेछौं । साथै हामी ईयुमा रूसी सम्पत्तिहरू फ्रिज गर्नेछौं र रूसी बैंकहरूको पहुँचलाई युरोपेली वित्तीय बजारमा रोक्ने छौं “उनले भनिन् “हामी साझेदार र सहयोगीहरूसँग नजिकको गठबन्धनमा छौं । यी प्रतिबन्धहरू क्रेमलिनको हित र युद्धको वित्तपोषण गर्ने क्षमतामा ठूलो असर पार्न डिजाइन गरिएको हो ।”

ईयुले यसअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका २७ व्यक्ति, संस्था र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र रूपमा मान्यता दिने पक्षमा मतदान गर्ने ३५१ डुमा सांसदहरूमाथि प्रतिबन्ध लगाएको छ ।

भोन डर् लेयनले बिहीवार बिहान युक्रेन विरुद्ध आक्रमण सुरु गर्ने रसियाको निर्णयको प्रतिक्रियामा छोटो बयान दिंदै उक्त घोषणा गरेकि हुन् । “यो एउटा मोड हो जसले ईयु नेताहरूलाई थप बलियो र कट्टरपन्थी प्रतिक्रिया दिन थप दबाब दिन्छ” उनले भनिन् ।

आयोग प्रमुखले युद्धलाई पुन युरोपमा फिर्ता ल्याएको भन्दै त्यसकोलागि राष्ट्रपति पुटिनलाई दोष दिईन् ।

“फेरि एक पटक युरोपको केन्द्रमा निर्दोष महिला, पुरुष र केटाकेटीहरू मरिरहेका छन् वा तिनीहरूको जीवनको त्रास फैलिएको छ। हामी यो बर्बर हमलाको निन्दा गर्छौं र यसलाई जायज ठहराउन प्रयोग गरिने निन्दनीय तर्कहरूकोपनि निन्दा गर्छौं” उनले भनिन्।

“रूसको लक्ष्य डोनबास मात्र होइन । उसको लक्ष्य युक्रेन मात्र होइन । लक्ष्य युरोपमा स्थायित्व र सम्पूर्ण अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था बिरुद्द हो । त्यसका लागि हामी रुसलाई जवाफदेही बनाउँछौं” भोन डेर लेयनले भनिन् “पुटिनले रूसी साम्राज्यको घडीलाई फर्काउन खोज्दैछन् र रूसी जनताको भविष्यलाई जोखिममा पार्दै छन् ।”

“हामी राष्ट्रपति पुटिनलाई विगत दशकहरूमा युरोपलाई शान्ति र स्थायित्व प्रदान गर्ने सुरक्षा संरचनालाई भत्काउन दिनेछैनौं । हामी राष्ट्रपति पुटिनलाई कानूनको शासनलाई बल र निर्दयताको शासनले प्रतिस्थापन गर्न अनुमति दिने छैनौं ” उनले घोषणा गरिन् “हाम्रो संकल्पलाई कम आँकलन गर्नु हुँदैन । हाम्रो लोकतन्त्रको बललाइ कम आँक्नु हुँदैन।

“इतिहासले प्रमाणित गरेको छ: विश्वास र स्वतन्त्रतामा बनेका समाज र गठबन्धनहरू लचिलो र सफल हुन्छन् । निरंकुशहरू डराउँछन्” उनले थपिन् ।

उनले युक्रेन बिजयी हुने घोषणासमेत गरिन् ।

युरोपेली संघका नेताहरू आज बिहिवारनै ब्रसेल्समा रुसमाथि नयाँ प्रतिबन्ध प्रणाली र सदस्य राष्ट्रहरू बीचको मतभेदलाई समाधान गर्न छलफलकालागि भेट गर्दैछन् । बैठक मध्य युरोपेली समय अनुसार साँझ आठ बजे व्यक्तिगत रूपमा हुने समय तालिका छ।

(स्रोत-युरोन्युज)

तपाइँको प्रतिक्रिया