शनिबार, वैशाख ८, २०८१

“युक्रेनमा रुसको हमला पछि नेपालीहरु सुरक्षित स्थलतर्फ लाग्दैछौं”

डा. हरि मल्ल / युक्रेन२०७८ फागुन १२ गते १४:१२

Image Credit-Reuters via atlanticcouncil.org

म युक्रेनको ओडेसा शहरको ब्लेक्सीमा बस्छु । आज विहान युक्रेनको समय चार बजेबाट रुसी राष्ट्रपती पुटीनले आक्रमण शुरु गरेका छन् । यसले हामीलाई एकदमै तनावमा, त्रासमा पारेको छ । युक्रेनी सेनाको आधारशिविरहरुमा बम खसालेका छन् ।

भोली के हुने थाहै छैन । त्यसैले ७, ८ लिटर पानी, १५, २० किलो चामल, दुई चार किलो आलु, दुई चार किलो मासु ल्याएर राख्नुपर्‍यो नी । त्यसको ब्यवस्था गर्नुपर्‍यो भनेर म लुगासुगा लगाएर ठिक परेर बसेको छु । गाडीमा पेट्रोलपनि ट्यांकीभरि हाल्नुपर्‍यो । दुई किमी लाईन छ रे तेल हाल्न ।

पुटीनले आत्मसमर्पण गर्न भनेका छन् युक्रेनीहरुलाई । नाटो सैन्य गठनबन्धनमा नजाउ भनेका छन् । युक्रेनले मान्यो भने शान्त हुन्छ । मानेनन् भने अशान्ति भैरहन्छ । यो भविष्यको अफगानिस्तान हुन्छ अब ।

हामी नेपालीहरु अहिले यहाँ त्रासमा छौं । बम त हो । बम खसाउँदा यहिं खस्छ भनेर निर्दिस्ट हुन्न । ताकेको भन्दा चार पाँच मिटर यताउति भयो भने त घरमै पर्‍यो नी ।

अहिलेसम्म मानविय क्षती भएको भन्ने त छैन सुनेको । तर सिमा क्षेत्रमा दुई तर्फका सेना लडिरहेका छन् । दनेस लुगास भन्ने ठाउँ हो त्यो । दनेश एउटा अञ्चल र लुगास अर्को अञ्चल भन्न सकिन्छ । त्यो ठाउँमा दुई तर्फी सेनाको हानाहान भएको छ । त्यो क्षेत्रमा पहिलेदेखि रुसी समर्थक धेरै थिए । तिनले अलग्गै प्रान्त बनाउन खोजेका छन् ।

फ्रान्सभन्दापनि ठूलो छ युक्रेन । यो युरोपको सबैभन्दा ठूलो मुलुक हो । हामी यहाँ स्थायि रुपमा बस्ने नेपाली ३८, ३९ जना जति छौं । तर बिध्यार्थी र ट्रान्जिट बनाउने नेपाली २०० जनाजति होलान् । पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानिया हुँदै अन्य सेनजेन क्षेत्रतिर ट्रान्जिट मिलाएर जाने हुन्छन् नेपाली । त्यस्ता नेपाली २०० को हाराहारीमा छन् ।

म पिएचडी डाक्टर हुँ । पढ्न आएको थिएँ सन् १९८३ मा । म भन्दा एक जना पुरानो हुनुहुन्छ, जयन्त नेपाल । उहाँ आएको ४२ वर्ष भयो । अरु ३०, ३५ वर्ष बस्नेपनि छन् । सन् १९९० मा पूँजीवादी ब्यवस्था आएपछि हामीले ब्यापार शुरु गर्‍यौं । त्यहि ब्यवशाय चलाईराखेको छु ।

पहिला त शान्त, राम्रो मुलुक हो युक्रेन । आणबिक बमहरु भएको देश हो । तर पछि तहसनहस बनाए । गोर्वाचोभको पाला अलग हुने बेलामा तहस नहस पारेका हुन् । अमेरिकासित मिलेर । भिटो पावर हुनेले मात्रै राख्न पाउने भन्ने भएपछि तहसनहस पारेका हुन् ।

म बस्ने ओडेसाबाट सेनाहरु दोहोरो हानाहान भएको क्षेत्र नौसय किमी जति टाढा पर्छ । मै बसेको ठाउँमापनि बम खसालेको छ । सेनाहरु लडाई भएको क्षेत्रमा नेपालीहरु छैनन् । त्यो क्षेत्रको नजिकै बस्ने ६ जना नेपालीले मलाई फोन गरेका थिए । पोल्याण्डको युक्रेनसितको सिमामा एक शहर छ, लुबोभ भन्ने । हामीले उहांँहरुलाई त्यहाँ गएर सुरक्षित भएर बस्नु भन्यौं । लडाई भएको ठाउँबाट करिब ४० किमीको दूरीमा छन् नेपालीहरु । बन्दुक पड्काएको, बम खासेको सबै सुन्छन् तिनले । त्यो क्षेत्रका नेपाली आज भाग्दै छन् त्यो ठाउँ छोडेर । त्यहाँबाट निस्किहाल भनेका छौं ।

युक्रेनमा त्यसरि हिंडिरहनुपर्ने नेपाली ट्रान्जिटवाला हुन् । करिब २०० को हाराहारीमा छन् । दलालहरुले के के प्रलोभन दिएर नेपालबाट पठाउँछ । यहाँ आइसकेपछि कसैलाइ भिसा मिलाएर पठाउने, कसैलाइ डङ्की गरेर (गधालाई झैं वनजंगल, पहाड को बाटो हुँदै सुरक्षाकर्मीको आँखा छलेर हिँडाएर, लुकिछिपि पठाउने)गर्छन् । वास्तविक विद्यार्थी होइनन् । आउने बित्तिकै कुनै युनिभर्सिटीको ट्युसन फी तिरेर भर्ना भएपछि एक साल आधिकारिक रुपमा बस्न पाउँछन् । त्यो एकसाल तिनीहरुले आफ्नो ब्यवस्था मिलाउँछन्, कता जाने हो के गर्ने हो । ति पढ्न आउने होइनन् तिनको एक साल बस्ने आधार मिलाउनकालागि हो । जो ब्यवस्था मिलाउँछन् कतै छिर्छन् जसले सक्दैनन् गैर कानुनि वा अबैधानिक भएर बस्छन् । गैरकानुनि भएपछि डङ्की गरेर अन्यत्र पठाउँछन् । त्यस्तो गर्ने पाकिस्तानी, भारतीय छन् । कोहि नेपालीपनि होलान् । त्यो च्यानल मिलाएर पठाउँछन् ।

दुतावासले त गरेरपनि केहि हुने अवस्था छैन अहिले यहाँ । युक्रेन नेपालको जर्मनीस्थित दुतावासले हेर्छ । म सम्पर्कमै छु । तर यहाँबाट विमान उड्दैन । विहानैबाट सबै विमान बन्द गरिदिएको छ । रुसले आक्रमण गर्न सक्छ नी त्यसैले उडान सबै रद्द गरियो । हवाई मार्ग त सुरक्षित गर्नुपर्‍यो ।

युक्रेनको विहान ४ बजेदेखि हान्न थाल्यो । स्पाक्तुरा भन्छ, सैनिक सैनिकबिच हमला भयो । जबसम्म नागरिक क्षती हुन्न तबसम्म सरकार आत्तिँदैनन् । नागरिक क्षती हुन थालेपछि सरकार आत्तिने हो । अनि बल्ल वार्ताका कुरा चल्ने हो । हार जित जे मान्ला त्यसपछि शुरु हुन्छ । अमेरिकी, नाटोका सेनाले त हामी अस्त्र दिन्छौं लड्ने तिमीहरु हो भनिदिएका छन् युक्रेनलाई ।

(नेपालप्लससितको कुराकानीमा आधारित)

तपाइँको प्रतिक्रिया

फेसबुक