बिहीबार, जेठ १२, २०७९

‘पर्ख र हेर’ को स्थितिमा युक्रेनका नेपाली

रन्जीत शाह, / किभ, युक्रेन२०७८ फागुन १२ गते २०:३५

आज विहान रुसले युक्रेनमा आक्रमण गरेछ । मैले विहान ६ बजेतिर थाह पाएँ । तर यो आक्रमण हुन्छ भनेर आशंका त थियो । मलाई फोनपनि आउन थाले । युक्रेनका सैन्य आधारशिविरहरुमा जहाँ सैनिकका हातहतियार राखेका छन् त्यहाँ आक्रमण भएको रैछ ।

हामी नेपालीहरु वरिपरिनै छौं । हामी बेलाबेला भेट हुन्छौं । परिवार यतै छ । कामधाम यहिं छ । ब्यवशाय गर्ने यतै हो । यो हाम्रो घर जस्तै हो । हामी चिन्तित छौं । तर उतिसाह्रो डराएका छैनौं । किनभने यो पहिलो प्रतिक्रिया हो । लडाई, युद्दको क्रममा सैन्य आधार शिविरहरुमा यस्तो हुन्छ । अहिलेसम्म नागरिकमाथि आक्रमण भएको छैन । आजको दिन अलि बढी महत्वपूर्ण छ भनेका छन् । रुसी सेनाले युक्रेनको राजधानी किभ लाईनै कब्जा गर्ने तयारि गरेको छ कि ? संभावनाहरु छन् ।

हिजोसम्म शान्त थियो । आजबाट अशान्ति भयो । तर हामी किभमै छौं । भोलि विहानसम्म बस्छौं । अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । आत्तिने भन्दापनि हेर्ने र बुझ्ने अवस्थामा छौं ।

हामी बसेको ठाउँ किभबाटै युरोप जाने राजमार्ग रहेछ । त्यहाँ धेरै मानिसहरु बाहिर निस्किन खोजेका थिए ।  टन्नै थिए मानिसहरु । धेरै मानिस आत्तिएर युक्रेन छोडिरहेका छन् । धेरै मान्छे बसिरहेकापनि छन् । ‘हेरौंला’ भन्नेपनि छन् ।

हामी जस्तै पुराना परिवार यहाँ छ, सात वटा छन् । अन्य केहि नेपाली किभ, लुबोभ, ओडेसा, खार्किभ आदि फरक फरक शहरमा हुनुहुन्छ । मैले थाह पाए अनुसार केहि नेपाली अध्ययन र कामको शिलशिलामा आएका छन् । उहाँहरुबाट मैले करिब १० फोन कल पाएँ । मैले उहाँहरुलाई भनें -हामी सबै एउटै परिस्थितिमा छौं । हाम्रो यहाँ न त कन्सुलेट छ न दुतावासनै छ । तर जर्मनीका नेपाली राजदूत रामकाजी खड्काले दुई तीन दिन अगाडि फोन गर्नुभएको थियो । उहाँले नियमित सम्पर्कपनि गर्नुभएको छ ।

नेपालीहरु के गर्ने, कसो गर्ने भन्ने अवस्थामा छन् । यसकोलागि हाम्रो दुतावासले संयोजन गर्नुपर्‍यो । आफैंले उद्दार गर्ने हो भने कसरि गर्ने ? तर मेरो सल्लाह के छ भने भारतीय दुतावासले आफ्ना नागरिकहरु विमान लगेर उद्दार गर्छ । यदि संभावना छ संयोजन, अनुरोध गरेर भने त्यसबाटपनि उद्दारको प्रयास गर्न सकिन्छ ।

यहाँका केहि नेपालीले असुरक्षित महसुस गरिरहेका छन् र ति मध्ये केहि नेपाली सुरक्षित भएर देश फर्किन चाहन्छन् । मसितै ३१ जना नेपालीको सूची छ । ति मध्ये सबै त होइन केहि नेपाली सुरक्षित गन्तब्यमा पुग्न चाहनुहुन्छ । आफ्नो ब्यक्तिगत कुरा पनि हो । जस्तो मलाई कसैले फर्किनुहुन्छ भनेर सोध्यो भने म फर्किन चाहन्न । म किन फर्किने ? जे हुन्छ हुन्छ । देखा जाला । हाम्रा साथीहरुपनि छन् । हामी एक अर्कासित सम्पर्कमै छौं ।

मलाई आज आठ, १० जना नेपाली भाईहरुले फोन गरे । मैले के भनेको छु भने जहाँ हुनुहुन्छ त्यहिं बस्नुस् । यस्तो घटना राजधानी किभमा मात्रै होइन कि सम्पूर्ण युक्रेनभरि हुनसक्ला । अहिले स्थानिय स्तरमा अलिबढी आत्तिएको अवस्था छ । जोखिम र त्रासपनि छ । निस्किहालेपनि कहाँ गएर केमा, कता फस्ने हो । बाटोमै गोलाबारी पो हुन्छ की ? एउटा साकारात्मक कुरा के छ भने नागरिकमाथि आक्रमण भएको छैन । त्यस्तो अवस्थामा मलाई लाग्छ हाम्रो दुतावासले केहि न केहि बिकल्प ल्याउला । सहयोगकोलागि जति गर्न सक्छौं उति हामी गरौंला ।

राजधानी किभ र सैनिकहरुको दोहोरो भिडन्त भएको क्षेत्रको दूरी करिब एक सय किमी होला । हामीले किभबाट आक्रमणकै आवाज भने सुनेका छैनौं । यहाँको मेयर कार्यालय, प्रधानमन्त्रीको संवोधन र मेडियाबाट थाह पाएको हो । सरकारी सन्जालले जानकारीहरु दिन्छ । किभमा मेरो बिचारले ३०, ४० जना छन् नेपाली । ति बाहेकपनि केहि सम्पर्कमापनि आएका थिए ।

खार्किभबाटपनि मलाई एक जना भाईले फोन गरेका थिए । उनले बताए अनुसार त्यहाँ अवस्था किभमा भन्दा खराब छ । खार्किभ नजिक पर्ने रुसको सिमा क्षेत्रमा लडाई राम्रै चलिरहेको छ । भयंकरनै भैरहेको छ । उनले ‘म गोलाबारी सुनिरहेको छु’ भनेका थिए । उनी युद्द क्षेत्रबाट नजिकै कहिं बसेको हुनुपर्छ । शहरमा भए अलि सुरक्षित हुन्थ्यो । उनको कुराले मलाई अलि आतंकित पार्‍यो । तर मैले उनलाई त्यहिं बस्नुस् भनेको छु । संपर्कमा बसौं । अझै खराब भएमा केहि उपाय सोचौंला । अत्तालिएका होलान् । हामीलेपनि पर्खिरहेका छौं, दुतावासले के पहल गर्ला भनेर । किनभने निजि प्रयास राम्रो हो । तर यहाँ जिम्मेवारीकोपनि कुरा हुन्छ । सबै कुरा ठिकै हुन्छ भनेर मैले सुनिस्चित गर्नुपनि भएन ।

युक्रेनबाट निस्किन चाहनेहरुलाई आफैं सम्पर्क गर्नुभएको छ दुतावासले । दुतावासबाट मलाईपनि सम्पर्क गर्नुभएको थियो । तर दुतावासबाट त्यस्तो केहि दिशानिर्देश छैन । त्यसैले ति भाईलाईपनि भनेका छौं, सम्पर्कमा बसौं । केहि आपतै पर्‍यो भने कसरि, कहाँ गर्ने हो छँदै छ नि भनेका छौं । दुतावासले दिशानिर्देश गरिदिए राम्रो । दुतावास हात बाँधेर बसेजस्तो लादैन । काम गरिरहनुभएको होला । म आफू बाहिर जान नचाहेपनि चाहने नेपालीहरुले भनिरहनुभएको छ र उहाँहरु दुतावासको संपर्कमा हुनुहुन्छ । म चाहिँ आफूलाई सहज महसुस गर्छु ।

आज मेरो बद्रि केसीसितपनि कुरो भएको थियो । बद्रिजीले केहि पर्‍यो भन्नुहोला भन्नुभएको छ । हामी संपर्कमै छौं । युक्रेन बस्ने हामी पुराना नेपालीको संपर्क छ । नयाँले खास सम्पर्कपनि गरेनन् । हामीले सुनेका छौं हामी बाहेकपनि सय डेढ सय नेपालीहरु काम र पढ्ने सिलसिलामा आएका छन् । यो भन्दा अगाडि संकट नभएकोलेपनि ति सबैसित संपर्क थिएन । हाम्रो युक्रेनको सबै मामिला जर्मनीको नेपाली दुतावासले हेर्ने हो । उहाँबाट केहि सुझाव, निर्देशन पर्खिरहेको छु ।

युक्रेनमा जतिपनि नेपाली भाइहरु छन् म के भन्न चाहन्छु भने आफू धेरै आतंकित हुनुभएन । त्यस्तो परिस्थिति बनिसकेको होइन । किनकि सर्वसाधारणमाथि आक्रमण भएको छैन । लुबोभमा राख्न सके सुरक्षित भईन्छ । तर म के भन्छु भने लुबोभपनि पुरै युक्रेनको क्षेत्र हो । त्योपनि पूर्ण सुरक्षित त छैन । रुसले त्यत्तिकै यहाँ हात हालेको होइन ।

यो हुँदैन भनेर केहि पनि भन्न हुन्न । आज पहिलो दिन हो । मलाई के लाग्छ भने युक्रेनमा त्यति लामो युद्द चल्दैन । हप्ता दुई हप्ताको कहानी हो । अहिलेको विश्व सुसंस्क्रित र सभ्य समुदायले केहि न केहि बिकल्प ल्याइहाल्ला । आउने केहि दिनहरु अलिकति महत्वपूर्ण, चुनौतिपूर्ण छन् । हप्ता १० दिनमा के हुन्छ भनेर थाह हुन्छ ।

दुतावाससित हाम्रो आग्रह छ, उहाँहरुले एउटा गाईडलाईन बनाएर दिनुपर्‍यो । भनिदिनुपर्‍यो, यस्तो यस्तो अवस्थामा के गर्नुपर्ने हो ।

यहाँ बस्ने नेपालीले घर नछोडी यथास्थितिमा बस्नुपर्छ । आफू धेरै आत्तिनुभएन । केहि पर्‍यो भने हामी संयोजन गर्ने छौं । यहाँका नेपालीका परिवारलाईपनि आत्तिहाल्नुपर्ने अवस्था छैन भन्न चाहन्छु । एकदमै स्थिति बिग्रिएको अवस्थामा जे स्थिति हुन्छ हामीले गर्नसक्नेसम्म गर्छौं । किनकि हामीपनि त्रासमै छौं । त्यहि अवस्थामा छौं ।

विरेन्द्र सिं / लोबोभ शहर, युक्रेन

म लुबोभ शहरमा बस्छु । यो युक्रेनको सबैभन्दा पस्चिमी क्षेत्रमा छ । यहाँ म एक जना नेपाली मात्रै हो । यो पोल्याण्डबाट नजिकै पर्छ । हाम्रो एनआरएनएका अध्यक्ष हरि मल्लसित सम्पर्कमा जान्छन् । हामीपनि संपर्कमा छौं । सम्पर्कहरु हरि मल्ल र जयन्त नेपाल भन्ने अर्को पुराना नेपालीसित हुन्छ । युक्रेन बस्ने पुरा सम्पर्कमा ३८ जना नेपाली छन् । म सन् १९८७ मा आएको, सोभियत संघकै बेला । परिवार यतै छ । ब्यापार यतै छ ।

प्राय यता आएका नयाँ नेपालीहरुले संपर्क गर्न चाहन्नन् हामीहरुसित । कतिपय गैर कानुनिरुपमा वा अवैधानिक कागज हुनाले संपर्क भएर कतै फिर्ता पठाउँछन् कि भनेर डराउँछन् । हाम्रो उहि पुरानो नेपालीसित संपर्क हुन्छ ।

रुसले यसरि आक्रमण गर्ला जस्तो लागेको थिएन । भब्यरुपमा युद्द त होला जस्तो झनै लाग्या थिएन । तर समस्या भएमा धेरै साथीहरु मै बस्ने लुबोभ शहरमा आउने छन् । हाम्रो त्यस्तो समझदारी भएको छ । बाहिरबाट कोहि साथीहरु लुबोभ शहर आएमा म सहयोग गर्न सक्छु । किनकि यो पोल्याण्डको सिमामा पर्नाले अलि सुरक्षित छ ।

तर आजको दिनमा दुई तिन वटा सैन्य क्याम्प जहाँ हातहतियारको गोदाम छन् त्यहाँ प्रहार भएको प्रस्ट भएको छ । भोलि के होला थाह छैन । अहिलेसम्म चाहिं कुनै खास खतरा छैन । आजसम्म चिन्ता गर्नुपर्दैन । ३०, ४० वर्ष देखि बसिरहेका छौं । रुसले युक्रेनी जनतालाई प्रहार नगर्नुपर्ने भन्ने लाग्छ । तर पुटीनको दिमाखमा के छ त के थाह ? जबसम्म प्रहार हुन्न तबसम्म त्यहिं बस्ने भनेर आजै निर्देशन आएको छ ।

(नेपालप्लसले बिहिवार आयोजना गरेको प्रत्यक्ष कुरानाकी मूल अंश-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक