बिहीबार, वैशाख ६, २०८१

आफ्ना प्रतिनिधिहरु सदर नगरेसम्म एनआरएनए युकेले बुझाउनुपर्ने ५६ हजार डलर केन्द्रलाई नपठाउने

नेपालप्लस संवाददाता२०७८ फागुन १३ गते १२:४०

एनआरएनए युकेद्वारा पठाएका प्रतिनिधिहरुको सूची सदर नगरेसम्म एनआरएनए केन्द्रलाई बुझाउनुपर्ने सदस्यताबापतको दस्तुर ५६ हजार डलर नपठाउने भन्दै पत्राचार गरेको छ ।

गैर-आवासीय नेपाली संघ यूकेले संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउँदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा स्पष्ट पारेको हो ।

पत्रमा गैर-आवासीय नेपाली संघ यूके संघको अन्तराष्ट्रिय समन्वय परिषदसंग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तव्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराइएको छ । त्यस्तै पत्रमा सदस्यता शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद यूकेका सरोकारका विषयहरुको समयमै सुनुवाई होस भन्ने आग्रह पनि गरिएको छ ।

पत्रमा भनिएको छ “गैर-आवासीय नेपाली संघ यूकेका सदस्यहरुको तर्फबाट संघको दशौं महाधिवेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनुपर्नेमा हामी स्पष्ट छौ । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट पठाइएका प्रतिनिधिका सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाबाट भने हामी चिन्तित छौं ।

“राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन सकिरहेका छैनौं” पत्रमा भनिएको छ “हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस् भन्ने चाहान्छौं ।”

एनआरएनए युकेले अध्यक्ष कुमार पन्तलाई पठाएको पत्र

यसैगरी पत्रको दोश्रो बुँदामा भनिएको छ “गैर-आवासीय नेपाली संघ यूके हालै मात्र बेलायतको स्थानीय कानून अनुसार कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । यस संस्थाबाट हुने सम्पूर्ण आर्थिक गतिविधि नियम कानूनको परिधिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ । अतः केन्द्रमा सदस्यता शुल्क बापतको रकम पठाउनु पहिले वैधानिक दायीत्व श्रृजना हुने गरी केन्द्र र हामविचमा अधिकार, कर्तब्य र दायित्व बाँडफाँडको सामान्य दस्ताबेजको रुपमा नियमानुसारको सम्झौता पत्र (MOU) तयार गरी हस्ताक्षर हुन जरुरी हुन्छ । हाम्रो तर्फबाट यस्तो दस्ताबेजका सम्बन्धमा आवश्यक तयारी भैसकेको जानकारी गराउँदै अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट समेत समयमै आवस्यक पहल हुनका लागि अनुरोध गर्न चाहन्छौं । ”

गैरआवासीय नेपाली संघ यूकेको बैंकिङ कारोवारको पूर्ण हस्तान्तरण नभइसकेको र रकम स्थानान्तरण सहज नभइरहेको कारण समय लाग्न सक्ने अवस्था जानकारी गराउँदै पत्रमा भनिएको छ “अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुसारको हाम्रो दायीत्व समयमै बुझाउने कुरामा हामी पुर्ण प्रतिबद्ध छौं । हाम्रा चासोका विषयहरुमा अध्यक्ष ज्युको समयमै ध्यान जानेछ भन्नेमा हामी विस्वस्त छौ।”

त्यस्तै, गैरआवासीय नेपाली संघ यूकेको नेपाल हाउस बनाउने कार्यक्रम बारेमा जानकारी गराउँदै आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ ।

“करिव दुई लाख गैरआवासीय नेपालीहरुको बसोबास भएको भनिएको यो देशमा गैरआवासीय नेपाली संघ तथा यहाँ रहेका नेपाली हरुको साझा घरको आवस्यकता महशुस भएको छ । अतः गैरआवासीय नेपाली संघ यूकेले यो वर्ष नेपालीहरुको साझा घर ‘नेपाल हाउस’ बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ” पत्रमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक