बिहीबार, चैत १५, २०८०

“युक्रेनबाट नेपाली लुकिछिपी सुरक्षित स्थलतर्फ लागिरहेका छन्”

रघुनाथ शाह२०७८ फागुन १३ गते १८:०४

म युक्रेनको राजधानी किभबाट करिब ७० किमी पर आइसकें । सकें भने पोल्याण्डसित सिमा जोडिएको लिबोभ शहर पुग्ने हो । नसके आज राती यतै कतै बस्छु । भोलि पुगौंला । सुरक्षित स्थलतर्फ जानकालागि । अहिले म पेट्रोलकोलागि लाईन लागिराखेको छु । हामी तीन जना छौं । हिजो सात जना जति पोल्याण्डसितको सिमामा गए नेपाली । आज १० जनाजति उतै जानकोलागि बस पार्कमा थिए । धेरै नेपालीले खासै केहि भन्दैनन् । कोहि राती पुगे । जसरि पायो, सक्यो त्यसरिनै गैरहेका छन् । सुरक्षित साथ पोल्याण्ड पुग्ने उनीहरुको योजना हो ।

म युक्रेनमा ३५, ३६ वर्षदेखि बसिरहेको छु । हर्बल कस्मेटिकको उध्योग छ हाम्रो युक्रेनमा । यहाँ नेपालीले समस्या पर्‍यो भने सम्पर्क गर्छन् नत्र सम्पर्क गर्ने होइनन् । एक जना चौरी भाईले सम्पर्क गरेको थियो । मैले सोधें । उनीहरु पोल्याण्ड जाने तरखरमा रहेछन् । मैले भिडियो बनाएर पठाउन भनेको उसले ‘ओहो त्यो त गर्दैन’ भनेर मानेन ।

आज विहानै देखि धेरै ठाउँमा पड्किएको सुनिएको छ । जताततै रुसी सेना पुगेका छन् । आज भोली केहिदिनमै रुसले आफूले चाहेका युक्रेनका ठाउँ कब्जा गर्छ जस्तो लाग्छ । सबै कुरामा रुस भन्दा युक्रेन १० गुणा सानो छ ।

सिधा त कसैले भन्दैन तर अप्रत्यक्षरुपमा १५, २० जना नेपाली पोल्याण्डतिर पुगेको कुरा थाह भयो । त्यता गाह्रो छ पस्न । तर कसैकसैलाइ फेरि बिना पासपोर्टपनि पठाईरहेछ रे भन्ने सुनिएको छ । कोसिस गर्नु, छिर्‍यो भने त छिरिहाल्यो भनेको थिएँ केटाहरुलाई ।

युक्रेनको सिमामा राती १० बजेदेखि विहान ७ सात बजेसम्म कर्फ्यु लाग्छ । सबै सार्वजनिक यातायात बन्द हुन्छ । त्यसैले युक्रेनबाट अर्को देश छिर्नपनि सहज छैन । सामान्य अवस्थामा दुई सय डलरमै पुगिने ठाउँमा अहिले एक दुई हजार डलरनै लिन थाले भनेर केटाहरुले सुनाउँदै थिए । कतिपय नेपाली किभबाट उता पोल्याण्डको सिमातिर आधा बाटोसम्म जान्छन् । त्यसपछि फेरि उताको ट्याक्सी बोलाएर जान्छन् ।

हिजो विहान चार बजेबाट रुसले आक्रमण शुरु गर्‍यो । त्यसको केहि घण्टामा केहि नेपालीले निर्णय गरे, अब भाग्ने भनेर । मैले चाहिं ‘यदि चान्स पायौ भने तिमीहरु छिर्न सक्छौ । नत्र त जोखिम लिनुभन्दा किभनै राम्रो छ’ भनिदिएको थिएँ ।

मलाई त किभमा हान्ला भन्ने लागेकै थिएन । उता सिमा क्षेत्रतिर हुने हो जुन करिब ८०० किमी छ यहाँबाट । सन् २०१४ मा त्यहाँ लडाई भएको थियो । रुसले जति सक्यो लियो र युक्रेनलेपनि आफूले सक्नेजति लियो । त्यसैले लडाई त्यतै हुन्छ जस्तो लागेको थियो ।

हिजो बेलुका ४ बजे बम हान्दा केहि मान्छे घाइते भए । किभको ६ तले भवनमा । त्यहि भएर डर लागेर हामीपनि भाग्न लागेको हो । अहिलेसम्म नागरिकलाइ लक्षित गरिएको छैन । सेनाको बिचमा हो । त्यसैले नेपालीपनि कोहि पर्ने कुरो भएन, सबै सुरक्षित छन् । म किभको ब्यापार बन्द गरेर हिंडेको हो । यस्तो बेला ग्राहकपनि आउने होइन । त्यस्तै पर्‍यो भने परिवार अन्तै लैजानुपर्ला, म चाहिं जान्न होला ।

केहि नेपालीलाई कस्तो लाग्छ भने ‘हाम्रो खबर, सूचना दुतावासमा पुग्यो भने दुतावासले डिपोर्ट गरिदेला’ । त्यसैले सूचना दिन खोज्दैनन् । मैले हिजो ‘सानो भिडियो पठाउ, पत्रीकामा सूचान दिनु छ’ भनेको उसले ‘के गर्ने कोहि मान्दैन’ भन्यो ।

(शाहसित नेपालप्लसले गरेको कुराकानीमा आधारित)

तपाइँको प्रतिक्रिया

फेसबुक