बुधबार, वैशाख १२, २०८१

माधव नेपाल र प्रचण्डका लागि पासो : सरकार छोडे शक्ति सकिन्छ, सडक छोडे कार्यकर्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन १३ गते २०:०२

बाह्र वर्षमा बगेर गएको खोला पनि फर्किन्छ- यो सामान्य जीवन बाँच्ने मान्छेहरुको किस्मतका बारेमा गरिने नाप तौल हो । अथवा बाह्र वर्षसम्म कुनै पनि वस्तुको चाहना राख्ने हो भने ईश्वर त्यो चाहना पूर्तीको लागि वाध्य हुन्छ भन्ने मान्यता पनि हो । हामी जिन्दगीका धेरैजसो जस अपजस मान्यताका आधारमै चलाइरहेका हुन्छौं । वाह्र वर्षमा खोलो फर्किने मान्यता पनि त्यस्तै एउटा मापन हो र हामीले कुनै कुरा प्राप्तिका लागि बाह्र वर्ष सम्म नै पर्खिदिन्छौं । खोलो फर्काउन ईश्वर वाध्य हुन्छ ।

तर राजनीति एउटा यस्तो क्षेत्र हो जहाँँ जुनसुकै बेला पनि खोलो फर्किन सक्दछ । अझ नेपालको राजनीतिमा यस्ता खोलाहरु पटक पटक फर्किन्छन । अहिले केपी ओलीको खोलो फर्केको छ । नेपाली तरल राजनीतिमा ओली एक पटक फेरी खोलो फर्काएर आफूसँग राख्न सफल भएका छन । उनको खोलो बगेर गएको भर्खर सात महिना भएको छ र उस्तै खोलो फर्केर उनकै घर अगाडि आइपुगेको छ ।

सडकमा महाकाली सन्धिको समय झल्किने गरी भद्रगोल छ । आन्दोलनकारीहरुले सडक खनेका छन । रेलिङ भाँचेका छन । गुलेली चलाएका छन । काठमाडौंका सडकमा संग्राम मच्चिएको छ । अबको एक दुई दिनमा एमसीसी कुनै टुङ्गोमा पुग्न सकेन भने फेरी एक पटक रगतका छिटाहरुले शहरलाई छोप्ने छन् । सडकमा जुन प्रकारको दंगाफसाद छ त्यही प्रकारले सरकारमा बसेका दलहरु समेत तितर वितर छन । पाँच दलिय गठवन्धनले सरकार बनेको छ । ति मध्ये सबै सरकारमा छन र ति मध्येका केही सडकमा छन । तिनका कार्यकर्ताहरुले सडक फोरेर कब्जा जमाएका छन ।

हामीमा एउटा ठूलो समस्या छ, नेपालमा पढेलेखेको एउटा ठूलो समुह बेरोजगार छ । त्यही बेरोजगार समुह कुनै पनि कुरा पढ्दै नपढी, अध्ययन नै नगरि नेताहरुको आव्हानका पछी दुगुर्छ र थपक्क बाटो भत्काउन शुरु गर्दछ । यिनै बाटो भत्काउनेहरुले बनाएको खोलो ७ महिना पछी फेरी केपी ओलीको निवास वालकोट पुगेको छ ।

सरकारमा रहेका सबै दलका नेताहरुले पाँचदलिय गठवन्धन नटुटेको बताएका छन । विहिवार राती संचारमाध्यमसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए । उनले भने- अहिले नै यो गठबन्धन टुटेको छैन, गठबन्धन कायमै छ ।

तर अहिलेको पेचिलो प्रश्न गठवन्धन कहाँँ छ भन्ने हो । यदी गठवन्धन भनिएका सबै पार्टीहरु सरकारमा छन भने बाटो भत्काउने को हो ? प्रहरीका टाउका ताकेर गुलेली चलाऊने को हो ? प्रचन्ड र माधव नेपालका कार्यकर्ताहरुले यो सब गरिरहेका छन भने गठवन्धन सरकार कुन ठाउँमा उभिएको छ ? साँच्चै नै गठवन्धन नफुटेको भए वालुवाटार र वालकोटमा लगातार भैरहेका बैठकहरु केका लागि हुन ? यि सबै कुरा अब रहस्यमा रहेनन ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पद र एमसीसी दुबैको उत्तिकै चिन्ता छ । उनलाई एमसीसी पास पनि गराउनु छ र प्रधानमन्त्री पनि बनिरहनुपर्ने छ । तर यि दुबै कुरालाई समर्थन हुने गरी उनले गठवन्धनलाई मनाउन सकेनन । अब वालकोट आशाको केन्द्र बनेको छ । विहिवारको प्रतिनिधि सभा बैठक एक्कासी स्थगित भयो । सरकारका गृहमन्त्री खुल्लम खुल्ला भन्छन्- एमसीसीबारे निर्णयार्थ मतदानमा जाँदा कुन दल कतातिर जान्छ त्यो निर्क्योल भएको छैन । त्यसैले विहिवारको प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

फेरी गठवन्धन खोइ त कहाँँ छ ? साँच्चै भन्ने हो भने सात महिना लामो गठवन्धन कहाँँ छ भनेर गठवन्धनले नै खोज्नुपर्ने बेला भएको छ । हुन त पाँचदलीय गठबन्धन समाप्तिकाे औपचारिक घाेषणा भएकाे छैन । शेरबहादुर देउवा नै सरकार प्रमुख छन । प्रचण्ड र माधव नेपाल अहिलेसम्म पनि गठबन्धनका शक्तिशाली नेता छन । यो अर्कै कुरा हो, तिनका कार्यकर्ताले सडक भत्काइरहेका छन । तर, गठबन्धन सरकार सक्रिय छ कि छैन ? त्याे कसैलाई थाह छैन । किनभने बानेश्वरका सडकलाई हेर्दा बरु लाग्थ्यो, केपी ओलीका कार्यकर्ताले गर्नुपर्ने काम गठवन्धन भित्रकै दलका कार्यकर्ताहरुले गरिरहेका छन । सात महिना मै फर्किएको खोलो हेरेर केपी ओली आनन्दले अभिभुत बनेका छन । अब याे पक्का छ, चुनावकाे मुखमा एमसीसी अनुमाेदित हुनेछ । जस अपजस दुबै कांग्रेसको पोल्टामा पर्ने छ । त्यसैले बाह्र वर्षपछी फर्किने खोलो लिएर सात महिना बित्दा नवित्दै प्रधानमन्त्री शेरबहादुर देउवा वालकोटमा चिया पिउन र वालुवाटारमा ओलीलाइ स्वागत गर्न हरदम तयार छन ।

एमसिसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्यको सम्भावना तत्काल छैन भन्ने ठानेका प्रचन्ड र माधव नेपाल सरकार एमालेविच विहिवारसम्म भएका घनिभुत छलफल पछी झस्किएका छन । नेपाल-प्रचन्ड खास गरेर एमालेबाट उछिट्टिएको माधव नेपाल समुह सरकारमा नरहनु भनेको सक्किनु हो । पार्टी सक्किए पछी सबैका अहंकार सकिन्छन । त्यसैले प्रचन्ड-नेपाल आफ्नो अहंकार जोगाउने अन्तिमा कसरतमा छन । दुबैका लागि अबको बाटो भनेको सडक भत्काउन बसेका आफ्ना कार्यकर्ताहरुलाई फिर्ता बोलाउने अथवा सरकारमा पुगेका आफ्ना मन्त्रीहरुलाई सडक भत्काउन बोलाउने । यि दुबै बाटाहरु भर्खरैका लागि त्यति सहज छैनन ।

प्रचन्ड अमेरिकाको आतंककारी सूचीबाट हटेको धेरै भएको छैन र अमेरिकालाई के विश्वास छ भने प्रचन्डले त्यस्तो कुनै पनि कदम चाल्ने छैनन जसले उनको ब्यक्तित्व पखाल्न वर्षौं लागोस । त्यसैले यो समय नेपाल-प्रचन्डका लागि ‘जाल’ मा पारेको समय हो । सरकार छोडे शक्ति सकिन्छ, सडक छोडे कार्यकर्ता सकिन्छन ।

हो, ठ्याक्कै यही समयको प्रतिक्षामा थिए खड्ग प्रसाद ओली । समयले सात महिना नबित्दै उनलाई अवशर जुराइदिएको छ । विहीवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित दुबै पार्टीका नेताबीच छलफल भएको थियो। त्यही छलफलमा एमाले अध्यक्ष ओलीले राखेको धारणाले माओवादी केन्द्रका नेताहरुको जग हल्लाएको छ । माओवादी केन्द्रका नेताहरूलाई ओलीले आफ्नो पार्टीले बर्खास्तका लागि सिफारिस गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने अडान राखेका थिए । त्यति गर्न नसके सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने पुरानो सर्त पनि उनले दोहोर्‍याए । त्यसपछि मात्रै एमसिसीबारे पार्टीले निर्णय लिने ओलीले बताए ।

एमाले अध्यक्ष ओली सँगको वार्ताले सार्थक विन्दु फेलापार्ने संकेत नदेखेपछी शुक्रवार प्रचन्डको टोली पुन: वालुवाटार पुगेको छ । माओवादीका एक जना नेता भन्छन्- परिमार्जन सहित यो सम्झौता पास गराउन सकिन्छ कि भनेर हामीले विकल्पमा छलफल शुरु गरेका छौं । तर पछील्ला बैठकमा एमाले अध्यक्ष ओलीको सकारात्मक जवाफ पाएका प्रधानमन्त्री देउवाले प्रचन्डहरुसँग एमसीसी परिमार्जनको बाटो समात्नेमा अली शंका छ । बगेर गएको खोलो देखिने गरी ओलीको ढोकासम्म फर्केको छ । र राजनीतिको दाउपेच फेरी अली परसम्म लम्बिन सक्दछ ।

तपाइँको प्रतिक्रिया