मंगलबार, वैशाख ११, २०८१

युक्रेनमाथिको युद्द बारे मेरो कथन

ओबामा बाराक२०७८ फागुन १४ गते १४:१७

Image Credit-wikipédia.com

हिजो राति रुसले अन्तर्राष्ट्रिय कानुन र मानवीय शिष्टताको आधारभूत सिद्धान्तको उल्लङ्घन गर्दै युक्रेनका जनतामाथि निर्लज्ज आक्रमण गरेको थियो । युक्रेनले रुसलाई खतरा बनाएको कारणले होइन बरु युक्रेनका जनताले सार्वभौमसत्ता, आत्मनिर्णय र प्रजातन्त्रको बाटो रोजेको कारणले आक्रमण गरेको हो । सबै मानिसहरू र राष्ट्रहरूका लागि उपलब्ध हुने अधिकारहरू आफूले प्रयोग गर्नका लागि । युक्रेनीहरूले अहिले निर्दोषहरूलाई मार्ने र अनगिन्ती संख्यामा पुरुष, महिला र वालवालिकाहरूलाई विस्थापित गर्ने क्रूर आक्रमणको सामना गरिरहेका छन् ।

रुसको लापरवाहीपूर्ण कार्यको नतिजा युक्रेनको सिमानाभन्दा बाहिर फैलिएको छ । युरोपको मुटुमा यो अवैध आक्रमणले अन्तर्राष्ट्रिय व्यवस्था र सुरक्षाको जगलाई पनि खतरामा पारेको छ । विगत केही समयदेखि हामीले संसारभर विभाजन र अधिनायकवादका शक्तिहरूले प्रजातन्त्र, विधिको शासन, समानता, व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति र उपासनाको स्वतन्त्रता र आत्मनिर्णयको आदर्शमाथि आक्रमण गरेको देखेका छौं । युक्रेनमा रूसको आक्रमणले देखाउँछ, यी खतरनाक प्रवृतिहरूले नेतृत्व कता लैजान सक्छन् । तिनीहरूलाई किन स्वच्छन्दतापूर्वक छोड्न सकिँदैन भन्नेपनि देखाउँछ ।

विश्वभरका विवेकशील मानिसहरूले रुसको कार्यको चर्को र स्पष्ट रूपमा निन्दा गर्न र युक्रेनी जनतालाई समर्थनको प्रस्ताव गर्न आवश्यक छ । प्रत्येक अमेरिकीले, कुनै पनि पार्टीले राष्ट्रपति बिडेनको प्रयासलाई समर्थन गर्नुपर्दछ । हाम्रा निकटतम सहयोगीहरूसँग समन्वय गरी रूसमा प्रतिबन्धका कडा प्रहारहरू गर्नुपर्छ । यस्ता प्रतिबन्धहरू जसले रूसको निरंकुश अभिजात वर्गहरूलाई वास्तविक मूल्य तिराउँछ ।

विश्व ऊर्जा बजारहरूमा रूसको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै त्यस्ता प्रतिबन्धहरूको केही आर्थिक परिणामहरू हुन सक्छन् । तर त्यो यस्तो मूल्य हो जुन हामीले स्वतन्त्रताको पक्षमा अडान लिन र तिर्न तयार हुनुपर्छ ।

लामो समयको लागि हामी सबैले एउटा छनोटको सामना गर्नुपर्छ : एउटा यस्तो संसार जसमा निरंकुशहरूले बल मार्फत आफ्नो इच्छा थोपार्न स्वतन्त्र हुन्छन् र त्यसलाई अधिकारका रुपमा स्थापित गराउन खोज्छन् । वा जहाँ स्वतन्त्र मानिसहरूले आफ्नो भविष्य निर्धारण गर्ने शक्ति हुन्छ । यि दुईकाबिचमा हामीले छनौट गर्नै पर्छ ।

मिशेल र म युक्रेनका साहसी मानिसहरूका लागि प्रार्थना गरिरहेका हुने छौं । यी आक्रमणहरूको बहादुरीपूर्वक विरोध घोषणा गर्ने रूसी नागरिकहरूका लागिपनि प्रार्थना गरिरहेको हुने छौं । र यो मूर्ख युद्धको मूल्य चुकाउने सबैका लागि प्रार्थना गर्नेछौं ।

(मेडियम डटकममा प्रकाशित ओबामाको स्टेटमेन्टको भावानुवाद)

तपाइँको प्रतिक्रिया

फेसबुक