शुक्रबार, वैशाख १४, २०८१

युक्रेनी शहरहरूमा रूसी मिसाइल आक्रमण : राजधानी कीभमा तीव्र लडाई

नेपालप्लस संवाददाता२०७८ फागुन १४ गते १५:४६

युक्रेनको राजधानी किभमा आज शनिवार देखिएको युद्दको झलक । फोटो- किभ टाईम, स्क्रीन सट

रसियाली सेनाले शनिबार युक्रेनी सहरहरूमा एकत्रितरुपमै क्षेप्यास्त्र र तोपखाना आक्रमणहरू शुरू गरेको छ । युक्रेनको राजधानी कीभमा समेत बन्दुकको गोली चलेको थियो ।

बन्दुकको गोली, विस्फोट र साइरनहरू राजधानी वरिपरि गुन्जिएका छन् । लडाई शुरु भएको तेस्रो दिन शहर रूसी आक्रमणमा परेको छ । मस्कोको सेनाले युक्रेनमा उनीहरूको आक्रमणलाई दबाब दिईरहेको छ । आत्मसमर्पण गर्न भनिरहेको छ ।

फ्रान्स २४ न्युजका अनुसार खार्किभ सहरको केन्द्रबाट करिब १० किलोमिटर उत्तरमा युक्रेनी सेनाले रुसी सेनालाई पछाडि धकेल्ने प्रयास गरेको छ । युक्रेनीहरू हालसम्मका लागि आफ्नो स्थानमा कायम रहेका छन् तर कमाण्डरका अनुसार लडाई तीव्र छ ।

युक्रेनी सेनाले रातको समयमा कीभमा रूसी आक्रमणलाई अस्वीकार गरेको बताएपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शहरको केन्द्रमा एक सेल्फी-शैलीको भिडियो खिचेका थिए । भिडियोमा उनले त्यहाँ रहेर लड्ने वाचा गरेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

युरोन्युजका अनुसार रुसको सेनाले दक्षिणपूर्वी युक्रेनी सहर मेलिटोपोल कब्जा गरेको दाबी गरेको छ ।

युक्रेनी सैनिकहरूले राजधानीमा रूसी आक्रमणलाई फिर्ता जान बाध्य पारेको युक्रेनी सेनाले शनिबार बिहान बताएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले विहान हुनुअघिनै कीभलाई कब्जा गर्ने प्रयास गर्ने चेतावनी दिएका थिए ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्यास्कोले शनिबार रुसी सेनाले आफ्नो देशमा गरेको आक्रमणबाट तीन वालवालिकासहित १९८ सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेका छन् ।

शुक्रबार साँझ रूसी सेनाहरू राजधानी किभ नजिकै प्रवेश गर्दा जेलेन्स्कीले एक भिडियो जारी गर्दै आफू कीभमा रहेको र राजधानी नछोड्ने बताएका थिए

शुक्रवार दिनभर कीभका नागरिकहरूले हतियार उठाए र सरकारले कसरी पेट्रोल बम बनाउने भन्दै निर्देशनहरू प्रसारण गर्यो ।

रुसले अपेक्षा गरेअनुसार युक्रेनमाथिको आक्रमणको निन्दा गर्दै र तुरुन्तै आफ्ना सेना फिर्ता गर्न माग गर्दै शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो लगाएको थियो । परिषद्का १५ सदस्यमध्ये ११ जनाले प्रस्तावको पक्षमा मतदान गरे । चीन, भारत र युएई भने अनुपस्थित थिए ।

मस्कोले कीभसँग वार्ताको प्रस्ताव राखेको छ । जेलेन्स्कीको कार्यालयका प्रवक्ताले रुस र युक्रेनले वार्ताका लागि समय र स्थानबारे छलफल गरिरहेको बताएका छन् ।

ईयू, अमेरिका र बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभको विदेशी सम्पत्ति रोक्का गरेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म ५० हजार भन्दा बढी युक्रेनीहरू भागेर पोल्याण्ड र मोल्डोभा गएका छन् ।

यसैबिच अमेरिकी राज्य सचिव एनटोनी ब्लिन्केनले युक्रेनलाई नयाँ अमेरिकी सैन्य सहायता स्वरुप ३५ करोड डलर घोषणा गरेका छन् ।

“संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुसी आक्रमण विरुद्ध लड्न थप सैन्य सहायतामा ३५ करोड डलर प्रदान गर्दैछ” विदेश सचिव एन्टोनी ब्लिन्केनले शनिबार घोषणा गरे ।

“यस प्याकेजले युक्रेनलाई बख्तरबंद, हवाई र अहिले सामना गरिरहेको अन्य खतराहरूमा मद्दत गर्न थप रक्षात्मक सहयोग पुग्छ” ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

किभमा कर्युको समय बढ्यो

कीभका मेयरले शनिबार युक्रेनको राजधानीमा कर्फ्यू समय विस्तार गरेका छन् ।

सहरको थप प्रभावकारी रक्षा र यसका जनताको सुरक्षा सुनिश्चित गर्न भन्दै हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यु जारी रहने मेयर भिटाली क्लिट्स्कोले ट्विटरमा लेखेका छन् ।

३० लाख जनसंख्या भएको सहर कीभमा यसअघिको कर्फ्यु राति १० बजेदेखि बिहान ७ बजेसम्म थियो ।

तपाइँको प्रतिक्रिया