बुधबार, वैशाख ५, २०८१

युक्रेन र रुसको लडाइमा रुसका ३५०० सैनिकको मृत्यु , २०० सैनिक बन्धक : १४ विमान, ८ हेलिकटर, १०२ ट्यांक ध्वस्त

नेपालप्लस संवाददाता२०७८ फागुन १४ गते १९:००

Image Credit-hindisip.com

रुसले फर्वरी २४ मा युक्रेनमा सैनिक आक्रमण शुरु गरे यता रुसले १४ वटा विमान, ८ हेलिकप्टर, १०२ ट्याङ्क, ५३६ बीबीएम, १५ भारी मेसिन गन र एउटा बुक मिसाइल गुमाएको युक्रेनको सेनाले जनाएको छ ।

किभ इन्डिपेन्डेन्ट न्युजका अनुसार रुसका ३,५०० भन्दा बढी सैनिकहरू गुमाएको युक्रेनको सशस्त्र बलले शनिवार (फर्वरी २६) मा सर्वजनिक गरेको हो । झन्डै २०० रुसी सैनिक सदस्यहरूलाई युक्रेनी सेनाले बन्धक बनाएको छ ।

युक्रेनमा सबै मोर्चामा आक्रमण गर्दा रुसले ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।

रुसले युक्रेनसँग सीमा जोडिएका क्षेत्रमा रिजर्भ इकाइहरू पुन: तैनाथ गर्न थालेको छ । एयरफिल्ड, सैन्य डिपोहरू र नागरिकहरूमा हवाई आक्रमणहरू जारी राखेको आरोप युक्रेनको सेनाले लगाएको छ । हवाई आक्रमणले सुमी, पोल्टाभा, मारिउपोल र कीभलाई लक्षित गरेको र त्यहाँ रातभर ठूलो लडाई भएको भनाईपनि युक्रेनी सेनाको छ ।

ब्ल्याक सी (समुद्र) बाट रुसले युक्रेनमा नौसेना सहितको क्रूज मिसाइलहरू प्रक्षेपण गरेको छ ।

रुसले सैन्य उड्डयन बेलारुस र उसले ओगटेको क्रिमियाबाट सुरु गरेको हो ।

रुसी सेना तर्फको क्षती । स्रोत युक्रेनको सेना मार्फत् किभ इन्डिपेन्डेन्ट डट कम

युक्रेनी सशस्त्र सैनिक बलको रिपोर्ट अनुसार रुसी पूर्वी सैन्य जिल्लाको ३५ औं सेनाको बटालियन मोजिरमा आधारशिविर बनाएर बसेको छ । त्यहिंबाट युक्रेनको क्षेत्रमा प्रहार गरेका छन् । दर्जनौं ट्याङ्कहरू सुम्स्केको क्षेत्रमा राखिएका छन् । बिएम-२१ ग्राड रकेट लन्चरहरू सुमी ओब्लास्टको कोसिभ्चन्या क्षेत्रमा राखिएको छ ।

रुसले आफ्नो विमानबाट युज्ना, ओडेसा ओब्लास्ट, ओजर्न एयरफिल्ड र कीभ नजिक र सिभिल इन्फ्रास्ट्रक्चरलाई निशाना बनाएको थियो । रुसले कीभको प्रतिरक्षा उल्लंघन गर्ने प्रयासमा ट्याङ्क र सैन्य गाडीहरू प्रयोग गरेको छ ।

युक्रेनी सेनाले खार्किभ ओब्लास्टमा रुसको आक्रमण रोकेको छ । दुबैतर्फ लडाई जारी छ । ओख्तिरका र सुमी ओब्लास्टमा अझै पनि शहरी युद्ध लडिरहेका छन् ।

ब्ल्याक सी तटमा युक्रेनको नौसेनाहरूले रुसी पहुँचयोग्य अवतरण साइटहरूमा माईन बिछ्याएका छन् ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले शत्रुका जेट विमानबाट गरेको हवाई आक्रमणलाई सफलतापूर्वक प्रतिकार गरेको किभ इन्दिपेन्डेन्टले उल्लेख गरेको छ ।

कीभको दक्षिणमा खसालिएको रूसी एल-७६ सैन्य यातायात विमान बाहेक युक्रेनको वायुसेनाले कीभ, चेर्निहाइभ र खेर्सन ओब्लास्टहरूमा दुश्मनको जनशक्ति र सैन्य उपकरणहरूमा आगोको क्षति पुर्‍याईराखेको छ ।

युक्रेनको सैनिक संयुक्त सैन्य बलले एक रक्षात्मक अपरेशन सञ्चालन गरिरहेको छ र दुई देशको सीमांकन रेखाको सबै भागमा आफ्नो उपस्थिति जारि राखेको भनाई युक्रेनी सेनाको छ ।

“हामी हाम्रो देशको रक्षा गर्नेछौं” राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् । उनले किभमा युक्रेनको प्रतिरक्षाको नेतृत्व गरिरहेको दाबी युक्रेनी सेनाको छ ।

तपाइँको प्रतिक्रिया