बिहीबार, वैशाख १३, २०८१

युक्रेन-पोल्याण्डको सिमामा जाम, नेपालीहरु अन्य देशतिर फर्किँदै

नेपालप्लस संवाददाता२०७८ फागुन १५ गते १५:३४

स्लोभाकियामा बसेर नेपालीलाई सहयोग गरिरहेका जय शिवाकोटी

रुस र युक्रेनका बिचमा युद्द भड्किएपछि सुरक्षित हुन पोल्याण्डतिर लागेका नेपालीहरु फेरि फर्किएर अन्य सुरक्षित देश तर्फ लाग्न थालेका छन् ।

युक्रेनबाट पोल्याण्डतर्फ लागेका नेपालीहरु युक्रेनसित सिमा जोडिएको पोल्याण्डतिर जानेको संख्या अत्यधिक भएपछि सिमामा जाम भएकाले नेपालीहरु स्लोभाकिया, रोमानिया र हंगेरीतिर लागेका हुन् ।

स्लोभाकियामा बसेर नेपालीहरुलाई उद्दार र सहयोग गरिरहेका जय शिवाकोटीले आज आइतवार नेपालप्लससित कुराकानी गर्दै उक्त जानकारि दिएका हुन् ।

“युक्रेनका नागरिकनै एकदमै धेरै देश छोडेर बाहिर गैरहेका छन् । हिजो देखि धेरै मानिस पोल्याण्डतिर लागेकाले भिड धेरै भयो । त्यसैले सिमामा धेरै जाम भएको छ । माछाको भुरा लाईन लागेजस्तो जता सजिलो हुन्छ त्यतै जान्छन् भनेजस्तो भएको छ।”

शिवाकोटीले युक्रेन छोडेर अर्को जुन देश जान सजिलो हुन्छ त्यतै गैरहेको बताए ।

“जानेलाई जता सजिलो हुन्छ त्यतै गैरहेका छन् । र जता आफूहरुलाई रिसिभ गर्न सजिलो हुन्छ त्यतै रिसिभ गरिरहेका छौं’ उनले भने ।

हाल चार जना नेपालीहरु युक्रेन छोडेर स्लोभाकियातर्फ लागेको र बाटोमै रहेको उनले बताए । ति नेपालीहरुलाई सहयोगकालागि तयार भएर, कुरेर बसिरहेको बह्नाई उनको थियो । त्यसबाहेक अन्य चार जनालाई सहयोग गरेरपनि आफ्नो आफ्नो बाटो तर्फ सुरक्षितसाथ हिंडेको शिवाकोटीले बताए ।

“चार जनालाई कुरेर बसेका छौं । अन्य चार जना यहाँ आएरपनि आफ्नो बाटो लागिसक्नुभयो” उनले सुनाए ।

ति मध्ये दुई जना चिकित्सा विषयका विद्यार्थी रहेको ति नेपाल फर्किने तरखरमा रहेका छन् । ति नेपाली हंगेरीको बुढापेस्टबाट नेपाल फर्किंदै गरेका छन् । तिनलाई बुढापेस्टका सुरेन्द्र श्रेष्ठले सहयोग गरिरहेका छन् ।

युद्द भड्किएपछि धेरै नेपाली पोल्याण्ड सजिलो हुन्छ भन्दै त्यतातिर लागे । तर धेरै मान्छे पोल्याण्डतिर गएपछि जाम भयो र त्यहिं फसिरहेको शिवाकोटीले जानकारि दिए ।

“हिजोसम्म यतातिर आउन लाग्नेहरुको वेभ पोल्याण्डतिर लागेको थियो । तर उता पोल्याण्डमा धेरै जाम भएपछि त्यो वेभ फेरि यतैतिर फर्किंदै छ” शिवाकोटीको भनाई थियो ।

युक्रेनमा ४०० देखि ५०० नेपाली रहेको अनुमान छ । ति मध्ये २५० देखि ३०० नेपाली बाहिर निस्किन चाहेका छन् ।

तपाइँको प्रतिक्रिया