बिहीबार, वैशाख १३, २०८१

रुस-युक्रेन युद्दको बिरोधमा जर्मनीमा हजारौंको र्‍याली

नेपालप्लस संवाददाता / जर्मनी२०७८ फागुन १५ गते २३:३५

Photo by @markus__schreiber, via Emotions Screen shot

रुसले युक्रेनमा गरेको आक्रमणको विरोध गर्न जर्मन संसदको विशेष सत्र चलिरहेको बेला जर्मनीको राजधानी बर्लिनमा हजारौं हजारको भिड जम्मा भएको छ ।

डिडब्ल्यु न्युजका अनुसार रसियाले युक्रेनमाथि हमला गरेको युद्दको बिरोध गर्न आइतवार कम्तिमा एक लाख मानिसहरू बर्लिनको केन्द्रमा भेला भएका थिए ।

ग्रीनपीस जर्मनीले उपस्थित हुनेहरूको संख्या पाँच लाख भएको बताएको छ । बर्लिन प्रहरीले संख्या उल्लेख नगरि ‘छ वटा नंबर भएको संख्या जति’ भनेको छ ।

प्रदर्शनीमा सहभागिहरु मध्ये धेरैले युक्रेनी झण्डाको सूर्यमुखी पहेंलो रङ र आकाशे निलो पहिरन लगाएका थिए । मध्य बर्लिनको अन्डर डेन लिन्डेन एभिन्यूस्थित रुसी दूतावास नजिकै रहेको ब्रान्डेनबर्ग गेटमा जम्मा भएका उनीहरूले “तेस्रो विश्वयुद्ध चाहिएको छैन”, “हत्यारालाई रोक्नुहोस्”, युद्द बन्द गर्नुहोस” जस्ता नाराहरू लगाएका थिए ।

बर्लिनको प्रदर्शनीमा पुगेका डिडब्ल्यु न्युजका पत्रकार इलियट डगलसले शहरको केन्द्रीय भागमा जमा भएको ठूलो भीडले शान्तिको लागि नारा लगाएको बताएका छन् ।

आयोजकहरूले लाउडस्पीकरहरूमा प्रहरीले २० हजार मानिसहरू मात्र देखाउन खोजेको आरोप लगाएका थिए ।

ब्रान्डनबर्ग गेटबाट सडकमा सयौं मानिसहरू रुसी आक्रमणको विरोध गर्न रूसी दूतावास बाहिर उभिएको युरो न्युजले उल्लेख गरेको छ ।

युक्रेनी प्रदर्शनकारी ३५ वर्षीया भ्यालेरिया मोइसेभाले किभको बम शेल्टरमा बस्दा आफ्नी आमा डराएको डिडब्ल्यु न्युजलाई बताउँदै भनिन् “म यो भन्दा बढी गर्न सक्दिन । मैले गर्नसक्नेनै आमाको लागि युद्द बिरुद्दको यहि प्रदर्शनी मात्रै हो ।”

श्रमिक संघ, धार्मिक संस्था, स्थानीय पहल, वातावरण संरक्षण संगठनहरू र शान्ति कार्यकर्ताहरूको गठबन्धनले “युद्ध रोक्नुहोस्: युक्रेन र सम्पूर्ण युरोपको लागि शान्ति” भन्ने नाराका साथ विशाल प्रदर्शनको आयोजना गरेको थियो ।

तपाइँको प्रतिक्रिया