बुधबार, वैशाख १२, २०८१

‘रुसी आक्रमणले ७० लाखभन्दा बढी युक्रेनीलाई विस्थापित गर्ने खतरा’

नेपालप्लस संवाददाता२०७८ फागुन १६ गते ०:४९

Image-cepa.org, screen shot

रुसी आक्रमणले ७० लाखभन्दा बढी युक्रेनीलाई विस्थापित गर्ने खतरा रहेको युरोपेली युनियनका संकट समाधान आयुक्तले बताएका छन् ।

युक्रेनबाट शरणार्थीहरूको प्रवाहका विषयमा केन्द्रित ईयूका गृहमन्त्रीहरूको बैठक पछि जेनेज लेनार्सिकले मिडिया सम्मेलनमा भने “हामी हाम्रो युरोपेली महाद्वीपमा धेरै भन्दा धेरै वर्षसम्म प्रभाव पार्ने सबैभन्दा ठूलो मानवीय संकट के हुन सक्छ भन्ने साक्षी छौं ।”

“हाल विस्थापित हुने युक्रेनीहरूको अनुमानित संख्या ७० लाख भन्दा बढी छ” उनले भने । तर उनले लडाईले सहि गणना गर्न अवरोध भएकाले संयुक्त राष्ट्रबाट मोटामोटी अनुमान मात्रै लगाउन सकेको बताएका छन् ।

युरोपेली आयोगका एक अधिकारीले पछि स्पष्ट गरे “लेनार्सिकले संयुक्त राष्ट्रको जानकारीको आधारमा आक्रमण जारी रहेको खण्डमा त्यो अनुमान दिएका हुन् ।”

लेनार्सिकले संयुक्त राष्ट्र संघलाई उल्लेख गर्दै त्यो युक्रेनमा होस् वा छिमेकी देशहरूमा यदि युद्ध जारी रह्यो भने करिब एक करोड ८० लाख युक्रेनीहरू मानवीय हिसाबले प्रभावित हुने बताए ।

उनले संख्या ठूलो भएकोले यस प्रकारको आपतकालिन अवस्थाको लागि तयारी गर्नुपर्ने र यो तयारिको अनुपात ऐतिहासिक खालको हुने उल्लेख गरे ।

संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) को शनिबार ढिलो जारी गरिएको पछिल्लो प्रतिवेदन अनुसार, एक लाख ६० हजार भन्दा बढी व्यक्ति आन्तरिक रूपमा विस्थापित भएको उल्लेख छ ।

“एक लाख १६ हजार भन्दा बढी मानिस अन्तर्राष्ट्रिय सिमाना पार गरी छिमेकी युरोपेली देशहरूमा भाग्न बाध्य भएका छन्” युएनएचसिआरको अनुमानमा आधारित रिपोर्ट उल्लेख गर्दै ओसीएचएले थपेको छ ।

रिपोर्टमा युक्रेनी सरकारले सबैभन्दा खराब अवस्थामा ५० लाख शरणार्थीहरू हुन सक्ने अनुमान गरेकोसमेत उल्लेख छ ।

तपाइँको प्रतिक्रिया