बिहीबार, वैशाख १३, २०८१

नेपाली कांग्रेसलाई गलाउने प्रचन्ड ‘प्लान’ बालकोटको आवाजले मत्थर

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन १६ गते १६:३०

अमेरिकी सरकारले दिएको समय सिमा सकिनु केही समय अघि नेपालको संसदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गर्‍यो । पछील्लो समय नेपालको राजनीतिमा उथल्पुथल ल्याउन लागेको यो सम्झौतालाई संसदको बहुमतले पारित गरेको हो । एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो ।

तर यो सम्झौताको पक्षमा प्राय: सकारात्मक रहने गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन । बरु निकै आलोचनात्मक रहेका सरकारकै घटकहरु माओवादी र नेकपा समाजवादीले आफ्नो मत सम्झौता अनुमोदनका लागि दिए । यस बाहेक उनिहरुसँग अर्को विकल्प पनि थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पारित गराउन चर्को दवाव थियो भने गठवन्धनका अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जुनसुकै हालतमा पनि यसलाई चुनाव पछी सार्ने तयारीमा थिए । तर यसपाली समय प्रचन्डको पक्षमा भएन । सिङ्गो पार्टी यसको विपक्षमा थियो र छँदैछ । कार्यकर्ता सडकमा छन । शेरबहादुर देउवा कुनै पनि हालतमा तुरुन्तै परिणाम ल्याउने तयारीमा थिए । त्यसका लागि उनले लगातार एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका थिए । एमसीसीका लागि यदी सत्ता साझेदारहरु आफ्नो पक्षमा नरहे उनका लागि एमालेले ढोका खुल्ला राखिदिएको थियो । त्यहि ढोकाबाट बेलाबेलामा निस्किने चर्को आवाजले प्रचन्डलाई निरन्तर तर्साइरहेको थियो । नेपाली कांग्रेसलाई गलाउने प्रचन्ड ‘प्लानलाई’ बालकोटबाट आउने आवाजले नै मत्थर पारीदियो । शेरबहादुर देउवालाई नचाउन तम्सिएका उनी आफैं नाचे ।

सत्तामा रहने वा नरहने भन्ने कुराको निर्क्योल एमसीसीको पक्ष वा विपक्षमा उठ्ने हातहरुले गर्ने थिए । प्रचन्डलाई लागिरहेको के थियो भने पार्टी अहिले सरकारबाट बाहिरिनु भन्दा घातक अर्को केही हुनै सक्दैन । त्यही कारण हुन सक्दछ, प्रचन्ड हरेक कोणबाट नाचे ।

अली पछाडि जाउँ । केपी ओली प्रधानमन्त्री थिए । दुई तिहाइको सरकार थियो । नेपाल कम्युनिष्ट पार्टीको नेताका रुपमा प्रचन्ड ईतिहासकै शक्तिशाली मान्छे बनेका थिए । जव देशमा एमसीसी पस्यो, सडक देखी सदनसम्म अमेरिकी सहयोग परियोजनाको चर्चा चल्ने नै भयो । भनिन्छ, ओली र प्रचण्डबिचको मुख्य दरार यही परियोजना थियो । प्रचन्ड उतिबेला पनि विपक्षमा थिए । अहिलेपनि यसको विपक्षमा नै छन । एमसीसी पास गराउन कस्सिएका ओलीसँग यसैका बारेमा कुरो मिलेन । पार्टी टुक्रियो । टुक्रा मात्र परेन, तीन टुक्रा भयो । नेकपा भित्रका मुख्य तिनजना नेताहरु प्रचन्ड, ओली र माधव नेपालले आ-आफ्नो बाटो समाते । तर अहिले उतिबेला एमसीसी पास गराउन कस्सिएका केपी ओली समुहले आफ्नो मत कतै पनि दिएनन । एमसीसीलाई पास गराउनुहुँदैन भन्ने प्रचन्ड-नेपाल समुहले यो सम्झौताको पक्षमा मत जाहेर गरे ।

राजनीति अजीवको हुन्छ । यो जुनसुकै बेला जता पनि मोडिन सक्दछ । तर अहिलेको राजनीति चाहीं सजिलोसँग मोडिने खालको थिएन । पुष्पकमल दहाल जालमा थिए- पुँजिवादी बन्ने अथवा समाजवादी ! उनले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो । तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसिसीको विपक्षमा उभिने निर्णय गरेको थियो । उनी दोहोरो दलदलमा फसिसकेका थिए । सरकार छोड्नु कि सडक छोड्नु ? यो दलदलबाट जोगिन निकै मुस्किल थियो प्रचन्डलाई ।

तर नेपाली कांग्रेसका नेता गगन थापाले प्रचन्ड सहित माधव नेपाललाई चोख्याउने बाटो खोजे । केही समय अघी गगन थापाले एमसीसी सम्झौता संसदले संकल्प प्रस्ताव पास गर्दै पारित गर्न सकिने तरिका ल्याएका थिए । त्यसैको पारीमार्जीत स्वरुप थियो, व्याख्यात्मक टिप्पणी । प्रचन्ड-नेपाल समुह यस्तै कुनै बिचको बाटोको खोजिमा थिए । खासमा यो टिप्पणी उनिहरुका लागि थिएन । सडक भत्काएर बसेका कार्यकर्ताहरुलाई भन्नु थियो- “देख्यौ हामीले अमेरिकालाई झुकायौं” ।

तर यस्तो १२ बुँदे व्याख्यात्मक टिप्पणीले त्यस्तो केही भनेको छैन जसले एमसीसी सम्झौता आफ्नो अनुकुल बनाउन मद्दत गरोस । व्याख्यात्मक टिप्पणीका कतिपय बुँदाहरु आफैंमा हाँस्यास्पद छन । कुनै पनि सन्धि सम्झौताका लागि त्यो देशको संविधान भन्दा माथि केही पनि हुँदैन । यस्ता खालका सन्धि सम्झौताहरु सम्बन्धित देशले आफ्नो संविधान, देश र जनता अनुकुल भएन भने जुनसुकै बेला पनि खारेज गर्न सक्दछ । यि सामान्य कुरा हुन । र प्रचन्ड-नेपालका कार्यकर्ताहरुका लागि गगन थापाले तयार गरिदिएको सामान्य चारो मात्र हो ।

यदी अमेरिकी सेनाले कुनै देशमा हस्तक्षेप वा प्रवेश गर्‍यो भने त्यो देशको संविधानका धारा पढेर हस्तक्षेप गर्ने होइन । दुनियाँमा कुनै पनि यस्तो देश छैन जसले अर्को कुनै शक्तिशाली देशलाई ‘ल म माथि हस्तक्षेप गर’ भनेर आमन्त्रण गरेको होस् । त्यसैले हस्तक्षेपहरु कहिल्यै पनि सम्बन्धित देशका कानुन सम्मत हुँदैनन । कानुनको पालना गरेर हुने जुनसुकै कृयाकलापहरु हस्तक्षेपको दायरा भित्र पर्दैनन । हामीलाई हस्तक्षेप गर्न पाउँदैनौ भनेर संसद वा मन्त्रीपरिषदले गरेका निर्णयहरु क्षणिक सान्त्वना मात्र हुन् । त्यसले दिर्घकालिन अर्थ राख्दैन । तै पनि एमसीसी पास गराउन कांग्रेस महामन्त्री गगन थापाले खेलेको भूमिका नेपालको राजनीतिमा एउटा परिपक्व राजनीतिको संकेत हो ।

गगन थापा एक्लैले देशलाई डोर्‍याउन सक्दछन् भन्ने खुबी देखाएका छन् । आइतवार संसदको बैठकमा उनको प्रस्तुती दमदार देखिएको थियो । थापासँग मान्छेलाई मनाउन सक्ने गज्जवको खुवी छ । जुन पटक पटक देखिएको छ । तर एमसीसी मामिलामा उनको प्रस्तुती अलग थियो र त्यही प्रस्तुतिले नै उनलाई राष्ट्रिय र निर्विकल्प रुपमा दहर्‍याएको छ । एमसीसी भलै गलत बाटोमा जाला तर गगन थापाले तत्काल देख्दा सबैलाई सहमति गराउन सक्ने सहि बाटो समातेका छन ।

तपाइँको प्रतिक्रिया