शुक्रबार, वैशाख ७, २०८१

एनआरएनएमा घले पक्षबाट गोप्य भेला, कठोरतापूर्वक अगाडि बढ्ने उद्घोष

नेपालप्लस संवाददाता२०७८ फागुन १७ गते २३:४२

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानकालागि बनेको उच्च स्तरिय समितिका संयोजक शेष घले र उनको निकट पक्षले आफ्ना पक्षको भेला गर्दै एनआरएनएमा कठोरतापूर्वक अगाडि बढ्ने निचोड निकालेको छ ।

भेलामा उच्चस्तरिय छानबिन समितिका संयोजक शेष घले र अर्का सदस्य देवमान हिराचनलेसमेत संवोधन गरेका थिए ।

मंगलवार आयोजित भेलाबारे ह्वाट्सएप, फेसबूक र इमेलबाट आफ्ना निकटका एनआरएनए अभियन्ता र एनआरएनए एनसिसीहरुलाई निम्ता गरिएको थियो । भेला आन्तरिक रुपमा गरिएको थियो । भेलामा आफ्नै पक्षका भनिएकाहरुको मात्रै सहभागिता थियो ।

स्वतन्त्र पत्रकारिताको चर्चा चलाउने गरेपनि भेला आयोजकहरुले आफ्नै गुटका बारेमा लेख्ने, प्रचार गर्ने आधा दर्जन जति पत्रकारलाई छानि छानि समावेश गराएका थिए । तर अरुकालागि भने निषेध गरिएको थियो ।

संस्थापन पक्षले यसलाई आफ्नै गुटको भेला भएको बताएको छ । सार्वजनिक रुपमा कतै टिकाटिप्पणी नगरिएपनि ‘उच्च विवाद समाधान समितिको संयोजकलेनै यसरि गुटको भेला गर्दै गएपछि त्यस्तो ब्यक्तिले दिएको रिपोर्ट कस्तो हुन्छ ? गुट बनाउँदै हिंड्नेले कस्तो समाधान दिन्छ ? सबैलाई कसरि न्याय दिन्छ ?’ भन्ने टिप्पणी गरेका छन् ।

भेलामा विवाद समाधान समितिका एक सदस्य देवमान हिराचनले संस्थापन पक्षले विवाद समाधान समितिको काम कर्तब्यका बारेमा प्रोपोगाण्डा फैलाएको र त्यसकाबिरुद्द डटेर जानुपर्ने, विवादको समाधान निकाल्नुपर्ने’ मा जोड दिए ।

एनआरएनएका उपाध्यक्ष सोनाम लामाले आफूलाई उच्चस्तरिय समितिका संयोजकले जिम्मेवारी दिए अनुरुप एनआरएनएको नियमावलीको धारा ४.२ अनुसार एम आई एसमा सिस्टममा निर्वाचन हुनु एक महिना पहिले नाम दर्ता हुनुपर्ने लेखिएकाले सोहि नियमावली अनुसार आफूले एक महिना पहिले दर्ता भएका छन् कि छैन भनेर सदस्यको तथ्यांक हेरेर बुझाएको बताए । उनले अध्यक्षले एकलौटीरुपमा काम गरेको आरोपपनि लगाए । शेष घलेले गर्ने काममा आफ्नो पूर्ण समर्थन रहनेसमेत उल्लेख गरे ।

उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेले संवोधन गर्दै यस्तो उत्पादनमुलक कार्यक्रम आयोजना गरेकोमा भेला आयोजकलाई धन्यावाद दिए। उच्चस्तरिय समितिबाटै १० औं महाधिवेशनका लागि भएका समस्या समाधान गर्न सक्ने आफूहरुले बुझेको बताए । उनले विवाद समाधानकालागि यस भन्दा अघि कमिटीहरु बनेपनि खासै सफल हुननसकेको उल्लेख गरे । उनीहरुले गरेको सुझावहरु आइसिसीमा जाने कि के हुने भन्ने भएको र पास नभएको बताउँदै भने ‘हामीले बुझेको त्यसरि होइन । यो रोड ब्लक भयो । निकाशा भएन । आइसिसीले यो गर्न सकेन । नसकेपछि उच्चस्तरिय समिति बनाईयो । यसमा पूर्व अध्यक्ष र कार्यकारी अध्यक्षसमेत रहेकाले यो कमिटी भन्दा अर्को उच्चस्तरिय, बढी अधिकार सम्पन्न, उच्चस्तरको कमिटी हुनसक्दैन ।”

सम्पूर्ण समस्याको समाधान निकालेर, प्रतिनिधि छनौटको सूची बनाएर वर्तमान अध्यक्ष, निर्वाचन आयुक्त र केन्द्रिय समितिलाई दिने उनले उल्लेख गरे ।

आफूहरुले मोटामोटी चार वटा क्षेत्रमा समस्याको पहिचान गरेकोपनि घलेले उल्लेख गरे । एनसिसीको सदस्यता दर्तादेखि लिएर एनआरएनए जापानको आफ्नै समस्या, ६५ र २५ प्रतिशतको प्रतिनिधि छनौट प्रक्रिया जसमा ६५ प्रतिशत पुरानोले पठाउने कि नयाँ कमिटीले पठाउने र २५ प्रतिशत प्रतिनिधि छान्ने प्रक्रियाका बारेमा भएको उनले उल्लेख गरे । उच्चस्तरिय समितिलाई दिएको चार बुँदे सहमतिका बुँदा (टिओआर) मा ‘विधानत र निस्पक्ष ढंगले’ भन्ने उल्लेख भएकाले त्यो महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

आफूहरुलाई २६ जनवरी सम्मको समय तोकिएपनि त्यो ब्यवहारत असम्भव भएको उनले उल्लेख गर्दै भने ‘पहिलो बैठकमै मैले भनेको थिएँ कि करिब चार देखि ६ हप्ता लाग्छ । त्यसैले रिपोर्ट दिनुपर्ने भन्ने मितिसित हामी सहमत थिएनौं ।’

बुधवार उच्चस्तरिय समितिको सातौं बैठक बस्नेपनि उनले उल्लेख गरे ।

६५ प्रतिशत र २५ प्रतिशत प्रावधान अनुसार प्रतिनिधि छनौटका विषयमा रहेको समस्या समाधान गर्न आफूहरु धेरै नजिक पुगिसकेको भनाईपनि उनको थियो । एनआरएनए जापानको समस्या समाधान गर्नकालागि भवन भट्ट र देवमान हिराचनलाई जिम्मेवारी दिएको र एनआरएनए जापानको छिट्टै निर्वाचन हुने बताए । तर उनले त्यो निर्णयलाई केन्द्रिय अध्यक्षले बदर गरेको, भवन भट्टले आफूसित कुनै सम्पर्क र सल्ल्लाह नगरेको गुनासोकाबारेमा भने केहिपनि उल्लेख गरेनन् ।

उनले उच्चस्तरिय समितिले रिपोर्टहरु तयार पारेको र बुधवारको बैठकमा पेश गर्नेसमेत बताए । उनले आफू उच्चस्तरिय कमिटीको संयोजक भएपछि कुनै देश, उमेदवार भनेर निकट र टाढा राखेर नहेरेको, कतै मेडियामा कुनैपनि प्रतिक्रिया नदिईकनै काम गरेको समेत उल्लेख गरे । तर मंगलवारको गुटगत भेलामा किन उपस्थित भएको हो र यस्तो कार्यक्रममा सबैलाई सार्वजनिकरुपमा सहभागि हुन किन आव्हान गरिएन, जानकारि नदिएको भन्ने चाहिं घलेले उल्लेख गरेनन् ।

आफूले दाबी बिरोधको समयसिमा भित्रै केहि प्रतिनिधिहरुका बारेमा निर्वाचन समिति समक्ष दाबी बिरोध गरेर पत्र पठाएको र निर्वाचन आयुक्तले त्यसमा विचार गर्ने, त्यसलाइ मनन गर्ने आशा गरेको बताउँदै भने ‘म आशा गर्छु की त्यो पत्रलाई हेरेर उनले सहि काम गर्ने छन्, सहि निर्णय गर्ने छन् ।”

मन्तब्यको अन्त्यतिर उनले अब बाँकी छ हप्ता समय रहेको र त्यसमा जे भएपनि सफलतापूर्वक सम्पन्न हुने उल्लेख गरे ।

त्यसैगरि एनआरएनए आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी सार्वजनिक गरेका कुल आचार्यले एनसिसीहरु भनेको आइसिसीहरुको मेरुदण्ड भएको र ति आफ्नो देश अनुसारको नियमले चल्न पाउनुपर्ने, तिनको आवाज सुन्नुपर्नेमा तिनमाथि केन्द्रिय समितिले डण्डा चलाईरहेको आभास भएको बताए । “एनसिसीहरुले गरेका यस्ता कार्यक्रमले आइसिसी कुनबाटो जानुपर्छ भन्ने शिक्षा दिएको छ’ उनले भने ।

आफूहरुले शुरुकै दिन दिन प्रतिनिधि एनसिसीहरुले चयन गर्न पाउनुपर्छ भन्दै आएपनि आइसिसीले चयन गर्न खोजिरहेको आरोप लगाए । उनले भने “यो दूर्भाग्य हो, प्रतिनिधि छनौट आइसिसीले गर्न खोजिरहेको छ ।”

आफूहरुले कटफ डेटमा एकरुपता गरौं र विधानत नियमावली अनुसार प्रतिनिधि छनौट गरौं भनिरहेकोपनि उनले बताए । जुलाई ३१ सम्म एनसिसीहरुको निर्वाचन भएपछि अगस्ट १५ सम्ममा प्रतिनिधि छनौटको सूची नयाँ कार्यसमितिले पठाउनुपर्ने आचार्यले आफ्नो पुरानो भनाई मंगलवारपनि दोहोर्‍याए ।

एनसिसीहरुले पठाएको प्रतिनिधि सूचीलाई मान्य हुँदैन र मनपरि ढंगले गरेमा यस्तो अधिवेशनमा भाग लिन नहुने हङकङका त्रिलोचन गुरुङले बताए । उनले भने ‘हामी सत्यको बाटोमा छौं भने किन डराउने ? जो चोर उसैको ठूलो स्वर ? हामीले महाधिवेशनसम्म बहिस्कार गरेर आफ्नै तरिकाले अगाडि बढेर संस्थालाई सहि बाटोमा भविष्यपनि सहि तरिकाले अगाडि बढाउनुपर्छ ।”

त्यसैगरि महासचिवका उमेदवार डा. केशव पौडेलले बुधवार राख्ने भनिएको  आइसिसीको मिटिङ कम्तिमा एक हप्ता अगाडि सूचना दिएर, एजेण्डासहित गर्नुपर्नेमा तिन दिनमा मिटिङ राख्नु एनआरएनए कुनै ब्यक्तिले कब्जा गर्नकालागि गरिएको आरोप लगाए । उनले आइसिसीको बैठक प्राईभेट कम्पनीका रुपमा बिकास गर्ने नियतको पराकाष्टा भएकोसमेत उल्लेख गरे । “त्यो मिटिङ हाम्रोलागि मान्य हुँदैन” उनले भने “एनसिसी आइसिसीका मेरुदण्ड हुन् । एनसिसीले पठाएको सूची मान्य नभएसम्म यो चुनाव एकतर्फी हो । यो चुनावमा हामी भाग लिंदैनौं । जब यो सच्चिएर प्रतिनिधिहरुको समस्या समाधान हुन्छ त्यसपछि चुनाव हुन्छ । त्यसपछि तपाईहरु जस्ता साथीहरुको सहयोगले एनआरएनएमा सहि साथीहरुको जित निस्चित छ । ”

एनआरएनए उच्चस्तरिय समितिलाई बिघटन गर्ने कुराहरु धम्की मात्रै भएको र त्यसले एनआरएनएको अभियानलाई सहयोग नगर्नेसमेत उल्लेख गरे ।

कार्यक्रममा एनआरएनए एनसिसीका अध्यक्ष नन्द गुरुङ, एनसिसी ईटालीका अध्यक्ष छबीकाल कँडेल, एनसिसी डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पूर्व सल्लाहकार दिल गुरुङ, आइसिसी सल्लाहकार सोम सापकोटा, जनसवालका सम्पादक रामजी बगाले  र तोया दहाल थिए ।  त्यस्तै, प्रविन गुरुङ,  (मध्यपूर्व), एनसिसी मकाउका युवराज न्यौपाने, त्रिलोक गुरुङको नाम पढेर सुनाइेएको थियो ।

एन सिसी कतारका मोहम्मद अख्तर, एनआरएनए साउथ अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराईसमेतले बोलेका थिए ।

अनलाईन बैठकमा ५१ जना सहभागि र ४३ वटा एनसिसीले भाग लिएको दाबी गरिएको थियो । ४५ देशका एनसिसी आफ्नो पक्षमा रहेको दाबी समेत आयोजकको थियो । तर कार्यक्रममा एनआरएनए कतार, दक्षिण अफ्रिका, एनआरएनए अष्ट्रिया, एनआरएनए अमेरिका, एनआरएनए क्यानडा, एनआरएनए स्पेन, एनआरएनए युके, एनआरएनए फ्रान्स लगायतका १३ एनसिसी अध्यक्षले मात्रै संवोधन गरेका थिए । केहि अभियन्ताहरुको नाम पटक पटक संवोधनकालागि बोलाएपनि तिनले संवोधन गरेनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक