शुक्रबार, चैत १६, २०८०

एनआरएनए संरक्षक परिषद बिघटन, सदस्यता दस्तुर नतिर्ने पाँच एनसिसी पूनर्गठन, उच्चस्तरिय समिति बिहिवारदेखि भंग गर्ने निर्णय

नेपालप्लस संवाददाता२०७८ फागुन १८ गते २०:५०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) केन्द्रिय समितिले संरक्षक समितिलाई बिघटन गर्नुका साथै केन्द्रलाई सदस्यता दस्तुर नतिर्ने पाँच एनआरएनए एनसिसीहरुको पूनर्गठन र बिहिवारदेखि एनआरएनए उच्चस्तरिय समितिसमेत बिघटन गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको एनआरएनएको ८२ औं बैठकले यस्तो निर्णय गरेको हो ।

एनआरएनए विवाद समाधान उच्चस्तरिय समितिको बुधवार दुई पटक बैठक बसेको थियो । वुधवार विहान बसेको बैठकमा उच्चस्तरिय समितिका सदस्य तथा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो राजिनामा बुझाउन मात्रै उपस्थित भएका थिए । त्यसपछि बसेको दोस्रो बैठकमा महतो उपस्थित भएनन् । अर्का सदस्य जीवा लामिछानेपनि उपस्थित हुनासाथ बाहिरिएका थिए ।

‘यो समितिले अब केहि गर्न सक्दैन, विधिविधानपनि मान्दैन, एक्लो निर्णय, पेलान र हठका आधारमा गर्छ’ भन्दै महतोले राजिनामा दिएका हुन् र लामिछानेलेपनि त्यहि बुझाइमा तत्कालै बाहिरिएका थिए ।

बुधवारनै नेपालको समय अनुसार साँझ ७ बजेबाट शुरु भएको एनआरएनए केन्द्रिय समितिको ८२ औं बैठकमा अध्यक्ष कुमार पन्तले संरक्षक समितिको भूमिका र उच्चस्तरिय विवाद समाधान समितिको कामबारे बिस्तारमा सुनाएका थिए ।

त्यसपछि बैठकमा यो संरक्षक समितिले विवाद निकालेको, संरक्षण गर्नुभन्दा संस्थालाई बदनाम बनाएको र संरक्षक समितिका सदस्य उच्चस्तरिय समितिमै रहेकाले संरक्षक समितिको कुनै आवस्यकता नरहेको भन्दै खारेजीको माग गरेका थिए ।

त्यसपछि उच्चस्तरिय समिति बनाउने बारेमा अध्यक्ष कुमार पन्तलेनै जोडजुलुम गरेको तर यो समितिलेपनि काम गर्न नसकेको, बरु संस्थालाई बिभाजन र बेइज्जत गर्ने, भाँड्ने काम गरेको भन्दै यसलाईपनि बिघटन गर्नुपर्ने माग राखेका थिए ।

बैठकमा पक्षबिपक्षबिच मतमतान्तर भएपनि बहुमतले उक्त प्रस्तावलाई पास गरेको हो । आजकै बैठकबाट संरक्षक समिति र पाँच वटा एनआरएनए  एनसिसीहरु बिघटन भएका छन् । ति एनसिसीका विधिविधान मान्नेहरुभित्रैबाट एनसिसीहरु पूनर्गठन गरिने भएको छ ।

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदहरु मध्ये एनआरएनए जापान, एनआरएनए अमेरिका, एनआरएनए क्यानडा, एनआरएनए अष्ट्रेलिया र एनआरएनए युकेले केन्द्रमा बुझाउनुपर्ने दस्तुर नबुझाएकाले तिनलाई पूनर्गठन गर्ने निर्णयपनि बहुमतले गरेको हो ।

उच्चस्तरिय समितिका संयोजक शेष घलेले आफ्नो रिपोर्ट बुझाउन भोली बिहिवारसम्मको समय माग्दै बुधवारको आइसिसी बैठक रोक्न अनुरोध गरेका थिए । घलेले पन्तलाई ‘भोलीसम्म आइसिसी बैठक रोकिदिनुस्, सरप्राईज प्याकेज, निर्णय लिएर जान पाउनुहुन्छ’ भनेका थिए । तर अध्यक्ष पन्तले ‘तपाईले तयार पार्नुस्, बैठक रोकिन्न’ भन्ने जवाफ फर्काएर बिहिवारसम्मको समय दिएको स्रोतले नेपालप्लसलाई बतायो । अध्यक्ष कुमार पन्तको विशेष आग्रहमा बिहिवारसम्मको समय दिने निर्णय केन्द्रिय समितिको बैठकले गरेको हो ।

संयोजक शेष घलेले बिहिवारसम्म रिपोर्ट बुझाएपनि यो उच्चस्तरिय समिति स्वत बिघटन हुने र नबुझाएपनि बिघटन हुने निर्णयपनि केन्द्रिय समितिले गरेको छ ।

उच्चस्तरिय समितिका तर्फबाट त्यस अघि संयोजक शेष घलेले निर्वाचन समितिलाई बुझाएको प्रतिनिधिहरुको दाबी बिरोधमापनि निर्वाचन समितिले हेर्ने छैन । किनभने यो अवैधानिक तरिकाले आएको र निर्वाचन समितिलाई स्वतन्त्ररुपमा छोड्नुपर्ने, कसैले हस्तक्षेप गर्न नपाउने र उसले निकालेको निर्वाचन प्रक्रिया कुनैपनि हालतमा फेरबदल नगरि स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने भन्दै बुधवारको केन्द्रिय समितिले पास गरेको छ ।

यो समाचार लेख्ने बेलासम्म (युरोपको समय अनुसार साँढे सात बजे बेलुका) सम्मपनि केन्द्रिय समितिको बैठक जारि छ ।

तर आज बसेको केन्द्रिय समितिको बैठकले संरक्षक समिति, पाँच वटा एनसिसी र उच्चस्तरिय छानबिन समिति बिघटन गर्ने जुन निर्णय गर्‍यो त्यसले संस्थामा अप्रिय वातावरण बनाउन सक्ने वा संस्था फुटतिर जाने असन्तुस्ट पक्षले बताएका छन् । किनभने आजकै केन्द्रिय समितिको बैठकमा असन्तुस्ट पक्षका केहि अभियन्ताहरु बैठक बहिस्कार गर्दै निस्किएका थिए ।

तपाइँको प्रतिक्रिया