शनिबार, वैशाख १५, २०८१

युक्रेनी सिमानामा आँसु पुछदै परिवार छुट्टिंदै

नेपाल प्लस२०७८ फागुन २० गते ०:१२

आफ्नी छोरीलाई बिदाई गरेर लडाईकालागि युक्रेनमै बस्न लागेका बाबा र उनकी छोरी । ईडिभा डटक कम

पाभ्लो बिलोडिडले मंगलबार लिभिभ बस स्टेशनमा आफ्नी श्रीमती र दुई वर्षीया छोरीलाई बिदाइ चुम्बन गर्दा आँसु पुछे ।

उनीहरूलाई पोल्याण्ड जाने बसमा चढ्न मद्दत गर्दै थिए उनी । युक्रेनमा रूसी आक्रमण जारी रहँदा आफ्नो परिवारबाट अलग हुन बाध्य भएका पुरुषमध्ये एक हुन् उनी । यसरि परिवारबाट अलग हुनुपर्ने थुप्रै छन् पुरुषहरु । यो संख्या दिनदिनै बढ्दो छ ।

“यो डरलाग्दो छ । किनभने यो एकदमै अप्रत्याशित थियो । यो अवस्थाको लागि कोही पनि तयार थिएनन्” आफ्नो देशको लागि लड्न परिवारलाई बिदाई गरेर पछाडि बसेका पाभ्लो भन्छन् ।

“हामीले स्वयंसेवा गर्नुपर्छ । हामी यहाँ लिभिभमा के गर्न सक्छौं त्यहि गर्छौं । यदि हाम्रो आवश्यक पर्छ भने हामी रुसीबिरुद्द लड्न राजधानी कीभ जानेछौं ।”

३३ वर्षको उमेरका पाभ्लो हाल युक्रेन छोड्न प्रतिबन्धित पुरुषहरूको समूहमा पर्छन् । रुसी सेनालाई परास्त गर्ने प्रयासमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले १८ देखि ६० वर्षका सबैलाई यो नियम घोषणा गरेका थिए ।

उनको परिवारका तीन पुस्ताले युक्रेनको राजधानीमा लडाइँ तीव्र भएपछि सीमा पार गर्दै पोल्याण्डमा सुरक्षाको यात्रा गरिसकेका छन् ।

तर पाभ्लो र उनका बुबाले भने छोड्ने छैनन् । युक्रेनमै रहनेछन् । उनीहरुको आशा छ, हामी आफ्नो परिवारलाई एक दिन चाँडै भेट्नेछौं ।

“म पक्का छु कि हामी उनीहरूलाई भेट्ने छौं” उनी भन्छन् “तर अहिलेको लागि बन्दुक बोकेर हामी लड्नेछौं । किनभने यो हाम्रो भूमि हो ।”

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार अहिले २० लाख भन्दा बढी मानिस सुरक्षा खोज्दै युक्रेनबाट छिमेकी देशहरूमा भागेका छन् ।

आगामी दिनहरुमा यो संख्या अझ धेरै बढ्ने आँकलन गरिएको छ ।

(स्रोत-युरोन्युज डट कम)

तपाइँको प्रतिक्रिया