बिहीबार, वैशाख १३, २०८१

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा

नेपालप्लस संवाददाता२०७८ फागुन २० गते २:३७

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।

‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समिति’ को बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको बताएका छन् ।

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् ।

उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकोले पारिवारीक र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको बताए ।

उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्डस्थित राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको जानकारी दिए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले बिहिवार रोमानियामा आयोजित रोमानियाको सरकारी स्तरीय एक सम्मेलनमा सहभागी भएर युद्ध प्रभावित नेपालीहरुको समस्याका बारेमा जानकारी दिएको उल्लेख गरे । विश्वभरका एकसय भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध राज सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपालीको संख्या कम हुदै गएको जनाकारी दिए । उनले उद्धारको लागि आग्रह गर्ने नेपालीहरुको संख्या अहिले निकै कम हुदै गएको र अवस्था सामान्य बन्दै गएको समेत उल्लेख गरे । उनले केही नेपालीहरु युद्धको क्रममा हराईरहेको आशंका रहेको समेत बताए ।

गैरआवासीय नेपाली संघ स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेष्टुरेन्टमा बनाएको उद्दार केन्द्रमा नेपाली लगायत अन्य देशका नागरिकहरुलाई समेत राखेर मानवीय सहयोग गरेको जानकारी दिए । उनले भारतीय, वंगलादेशी र सेनेगलका नागरिकहरुलाई समेत बास दिएका छन् ।

बैठकमा विगत केही दिनदेखि नेपालीहरुको उद्धारका लागि बिभिन्न देशका सीमा क्षेत्रमा खटिएका सुरेन्द्र श्रेष्ठ (हंगेरी), पनव खड्का (पोल्याण्ड), सन्तोष भट्टराई (जर्मनी), चिरनन्जिबी खड्का (चेक रिपब्लिक) लगायतले सीमा क्षेत्रको स्थलगत विवरण प्रस्तुत गरेका थिए ।

यस अघि एनआरएनए अध्यक्ष कुमार पन्त युक्रेन-पोल्याण्ड सिमामा पुगेर नेपालीहरुको वस्तुस्थिति बुझ्नुका साथै उद्दारकालागि खटिएका थिए ।

तपाइँको प्रतिक्रिया