शुक्रबार, चैत १६, २०८०

एनआरएनएका कोषाध्यक्ष श्रेष्ठ भन्छन् “म चुनावी प्रकृयामा सामेल हुन्न”

नेपालप्लस संवाददाता२०७८ फागुन २१ गते १२:०९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) ले नयाँँ नेतृत्व चयनका लागि अबको दुई हप्ता पछी निर्वाचन गर्दैछ । निर्वाचनका लागि लगभग सबै प्रकृया पुरा भइसकेको जनाइएको छ । अबको प्रकृया उम्मेद्बारी दर्ता हो । तर विभिन्न पदमा उम्मेद्बारी घोषणा गरेका लगभग आधा उम्मेद्वारहरुले यो महाधिवेशनमा उम्मेद्बारी दर्ता नगर्ने संकेत देखिएको छ ।

गत वर्ष अक्टोवरमा हुने निर्वाचन प्रतिनिधि लगायत विवादका कारण रोकिएको थियो । केन्द्रिय समितिले विधानत आफ्नो अवधि ६ महिना थप गरेको थियो । बितेका पाँच महिनामा विवाद समाधानका लागि अध्यक्ष कुमार पन्तले विभिन्न चरणमा छलफल गरे । निम्नस्तरिय देखि उच्चस्तरियसम्मका समितिहरु बनाए । तर कुनै पनि समितिले मिलनविन्दु पत्ता लगाउन सकेन ।

पछिल्लो पटक गठन भएको घले समिती समेत टुङ्गोमा पुग्न सकेन । अध्यक्षका एक प्रत्यासी कुल आचार्य भन्छन- “शेष घले संयोजक रहेको उच्चस्तरिय समितिको निर्णयलाई आइसीसीले नमानेको हो । समिती टुङ्गोमा पुग्न नसकेको भन्नु गलत हो ।”

आइसीसीले सात जनाको समितीमा घले एक्लैले नौ सय बढी प्रतिनिधि कटाउन गरेको निर्णयलाई बदर मात्र गरेन घले संयोजक रहेको उच्चस्तरिय समिती नै भंग गर्ने निर्णय गर्‍यो । यसका अलावा आइसीसीको सोही बैठकले केन्द्रलाई शुल्क नबुझाउने पाँच वटा एनसीसीको पूनर्गठन र संरक्षक परिषद नै खारेज गर्ने निर्णय गर्‍यो । आइसीसीका यि निर्णय पछी विवाद झन उत्कर्षमा पुग्यो ।

कुल आचार्य पक्ष यही हिसावले चुनाव भए आफूहरु यस्तो चुनावमा सहभागी नहुने बताउँदै अलग छ । यसै शिलशिलामा एनआरएन भित्र निकै शालीन र कूटनितिक अभियन्ताको छवी बनाएका वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले पनि आफू निर्वाचनमा सहभागी नहुने जनाएका छन । उनले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका थिए । श्रेष्ठ एनआरएनका भावी अध्यक्षका दावेदार समेत हुन ।

उनले नेपालप्लस सँगको कुराकानीमा भने- “एउटा पक्षलाई बाहिर राखेर गरिने चुनावमा म उम्मेदवार हुन सक्दिन । एनआरएन भनेको छरिएका नेपालीलाई जोड्ने संस्था हो । एउटा पक्ष बाहिर रहनु भनेको नेपाली आपसमा टुक्रिनु हो । अहिलेको आवश्यकता भनेको मिल्नु नै हो, मिल्नुको विकल्प छैन ।”

श्रेष्ठले अध्यक्षका दुई जना प्रत्याशी कुल आचार्य तथा डा. बद्री केसीलाई लचक भएर संस्था बचाउन आग्रह गरे “हामीले आआफ्नो ठाउँबाट एकताका लागि निरन्तर पहल गर्दै आइरहेका छौं । विवाद छ, त्यसैले नै समितीहरु बनेका छन । समाधान हुन सकेन । यसको मतलव एउटा पक्षलाई छोडेर निर्वाचनमा जानु मात्रै पनि समाधान होइन ।”

“हुन त चुनाव प्रजातान्त्रिक प्रकृया हो । तर विवाद त आयो नि । त्यसैले सहमतिमा किन जान सकिदैन भन्ने मेरो कुरा हो” उनले थपे ।

एनआरएन भित्र अहिले सतहमा देखिएका दुई समुह छन । एउटा समुहलाई कुल आचार्यले नेतृत्व गर्छन भने अर्को समुहको नेतृत्व बद्री केसीले । आचार्य समुहले विगत ७ महिना देखि प्रतिनिधि चयन प्रकृयामा प्रश्न उठाउँदै आएको छ । उनिहरुको बुझाई संस्थापन पक्षले आफूहरुलाई पेलेर जान खोजेको भन्ने छ । त्यसकारण पनि प्रतिनिधि विवाद नसुल्झिए आफूहरु निर्वाचनमा नजाने अडान आचार्य पक्षको छ ।

के हुन्छ त उनिहरु चुनावमा सहभागी नभए ? श्रेष्ठ भन्छन- “एउटा ठूलो समुह छुट्छ । त्यो भनेको एनआरएन टुक्रिन्छ । यसरी मायाँ गरेको संस्था टुक्रिनेगरी हुने चुनावमा कसरी सहभागी हुने ? त्यसैले म चुनावमा जान्न ।”

श्रेष्ठले विधान संशोधन गर्दा केहि कमी कमजोरी रहेको बताउँदै भने- “हो केहि कमजोरी भए । त्यसलाई सच्याउन सकिन्छ । हामीहरु मिलेर गयौं भने धेरै ठुला कुराहरु केहि छैनन । जम्मा २ वर्षको कुरा हो । त्यसपछि देखिएका त्रुटीलाई सच्याएर निर्वाचन गरौंला । त्यसले म दुबै पक्षलाई लचक हुन आग्रह गर्दछु । मिल्नुको विकल्प छैन । आफ्नो गोरुको बाह्रै टक्का भन्ने अडान दुबै पक्षले छोड्नु पर्दछ ।”

मिल्ने विकल्प के त ? “विकल्प धेरै छन । मैले भने नि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अडानबाट थोरै मात्र लचक हुने हो भने कति छन कति विकल्प । सबभन्दा पहिले त यो संस्थालाई फुटबाट जोगाउँ भन्ने धारणा हुनुपर्‍यो । संस्था विभाजन हुँदा हामीहरु कमजोर हुन्छौं भन्ने सोच बद्रीजी, हेमराजजी र कुलजी सबैमा हुनुपर्‍यो । एकताका बाटा अनगिन्ती छन” उनले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक