बिहीबार, वैशाख १३, २०८१

युक्रेनी जनताका हातहातै हतियार र अफगानिस्तानबाट सिक्नुपर्ने पाठ

तिर्थनाथ कँडेल२०७८ फागुन २१ गते १७:५६

लेखक तिर्थनाथ कँडेल

२४ डिसेम्बर १९७९, दुनियाँले क्रिशमस उत्सव मनाइरहेको थियो । एशियाका अधिकांश देशहरुमा केहि दिन अघि मात्र रमादानको नियमित पर्व सकिएको थियो । खास गरेर अफगानिस्तानको उत्तरी भागमा बस्ने त्यहाँका जनताले आउँदो जाडोको लागि जोहो गर्नुपर्ने थियो । मध्येरात नजिकिदै थियो । काबुलका जनता चिसोलाई पन्छ्याएर सुत्ने तरखरमा थिए । त्यहिबेला सोभियत संघले अफगानिस्तानको राजाधानीमा आक्रमण गर्‍यो । लाखौं काबुलबासिहरुले चिसो रातलाई चिर्दै सकसपूर्ण आँखाहरुले आफ्नो शहरमा रुसी सेनाले बुट बजारदै गरेको हेरे ।

काबुल शहरमा अनुमानित २ सय ८० युद्द ट्यांक र विमानहरु उतारिएको थियो भने करिव ९ हजार रुसी सेनाका डिभिजनहरु तैनाथ गरिएको थियो । आक्रमणको दिन देखी नै ताजबेग प्लेसलाई रुसी सैनिकहरुले घेराउ गरेका थिए । पछील्लो सेप्टेम्बरमा मात्र नियुक्त गरिएका नयाँ प्रधानमन्त्री हाफिजुल्लाह अमीनले रुसी सैनिक विरुद्द आफ्नो सेनालाई आदेस त दिए । तर प्रतिकार गरेर देश बचाउन सक्ने अवस्था थिएन । आधुनिक हातहतियार सुसज्जित रुसी सेनासँग दुई दिन मात्र लड्न सक्यो अफगानी सेना ।

छु डिसेम्बर १९७९ मा रुसी सेनाले ताजबेग दरवारलाई कब्जा गर्‍यो । प्रधानमन्त्री हफिजुल्लाह अमिनको हत्या गर्‍यो । त्यहि समय थियो जसले अफगानिस्तानलाई कहिल्यै नमेटिने दिर्घकालिन दलदलमा पुर्‍यायो । त्यहि यस्तो बेला थियो, अफगानिस्तानमा मुजाहिद्दिन जन्मियो जसले अफगानिस्तानलाई अलकायदा र तालीवानको युगसम्म डोर्‍यायो । रुसले अफगानिस्तानमा आक्रमण गर्दैछ भन्ने कुरा तत्कालिन अमेरीकि राष्ट्रपती जिम्मीकार्टरलाई पहिले नै जानकारी थियो । तर उनले यसबारेमा खास चासो नदिएको सीआइएका रिपोर्टहरुमा उल्लेख छन ।

तर जब रुसी सेनाले प्रधानमन्त्री अमिनको हत्या गर्‍यो त्यसपछी बल्ल कार्टर तातेका थिए । उनले तुरुन्तै रुसीहरूसँग लड्न रणनीतिक गठबन्धन बनाए । दुई हप्ताभित्रमा पाकिस्तानी नेता जिया उल हकलाई पाकिस्तानी भुमिमा शरण, अड्डा र तालिम दिएर मुजाहिद्दीनलाई सहयोग गर्न राजी गराएका थिए । रुस विरुद्दको योजना अनुसार अमेरिका र साउदी अरबले संयुक्त रूपमा विद्रोहलाई आर्थिक सहयोग गर्ने, पाकिस्तानी गुप्तचर सेवा (आईएसआई) मुजाहिद्दीनको संरक्षक हुने, सीआईए र साउदी गुप्तचर सर्भिसले युद्दका समयमा आर्थिक मद्दत गर्ने । तर लडाईं भने अफगानी जनताले नै गर्ने निर्णय गरिएको थियो ।

वाशिंगटन र रियादका लागि अपरेशन धेरै सस्तो थियो। साउदी गुप्तचर संस्थाले अफगानहरूलाई समर्थन गर्न दुई अरब ७० करोड अमेरिकि डलर खर्च गरेको थियो भने सीआईएले पनि त्यही हिसावमा खर्च गरेको थियो । रियाद प्रान्तका तत्कालीन गभर्नर, अहिलेका राजा सलमानको नेतृत्वमा साउदीका निजी स्रोतहरूले विद्रोहीहरूका लागि थप ४ अर्ब डलर सङ्कलन गरेका थिए । यो रकमले भारी मात्रामा हतियार खरिद गरिएको थियो र पाकिस्तान हुँदै हतियार अफगानिस्तान भित्रिएको थियो । आईएसआई मार्फत अफगानिस्तान पुगेका ति हतियारहरु अफगानी नागरिकहरु र मुजाहिद्दिन सदस्यहरुका हात हातमा पुगेका थिए । रुसी कब्जाको खिलाफ हतियारले सज्जित अफगान जनताकै तहबाट प्रतिकार गरिए पछी र छिमेकी राष्ट्र खासगरेर र पाकिस्तान रुसी आक्रमणको विरुद्दमा रहेकोले पनि अफगान जनतालाई रुसी सेना विरुद्दमा लड्न सजिलो भएको थियो ।

मुजाहिद्दीनले सोभियत संघ विरुद्ध छापामार रणनीति अपनाएका थिए । तिनीहरूले तुरुन्तै आक्रमण गर्थे । त्यसपछि पहाडहरूमा गायब हुन्थे । लडाकुहरूले सोभियत सेनाबाट खोसेका र अमेरिकाले उपलब्ध गराएका हतियारहरू प्रयोग गरे । सन् १९८७ मा युद्धको लहर बढीरहेको थियो । मुजाहिद्दिनहरुलाई काँधमा राखेर मार हान्ने एन्टी एयरक्राफ्ट मिसाइल प्रयोग गर्न र नियमित रूपमा सोभियत विमान र हेलिकप्टरहरु खसाल्ने अनुमति दिएका थिए । प्रत्यक्ष रुपमा त्यो लडाई अफगानी जनताले लडेको देखिए पनि खासमा लडाईं रुसको विरुद्दमा पाकिस्तान, साउदी, बेलायत र अमेरिका थिए । बेलायतले आधुनिक बन्दुक र काँधमा राखेर प्रहार गर्न मिल्ने मिसाइल उपलब्ध गराएको थियो ।

भनिन्छ त्यो दस वर्षे लडाईंका दौरानमा हरेक अफगानी पुरुष हतियार चलाऊन जान्ने भएको थियो र सबैका घरमा विभिन्न खालका आधुनिक हतियार थिए । दस वर्षको लडाईं पछी रुस फर्क्यो । आफ्ना १५ हजार भन्दा बढी सैनिक गुमाएर अफगानिस्तान छोड्यो । तर अफगानीहरुले हतियार छोडेनन । यही युद्द सोभियत साम्राज्यको पाटन बन्यो । यही युद्द नै थियो जसका छिटाहरुले विश्वमा आतंकवादको रेखा कोर्‍यो । विनलादेनको उदय यसै युद्दबाट भएको थियो । किनभने रुसी सेनाले देश छोडिसके पछी पनि हतियारको रापले छोडेन । बरु रुसले त्यति ध्वंश मच्चाएको थिएन जती ध्वंश अफगानीहरुले नै आफ्नै देशमा मच्चाए । अफगानी जनतालाई अन्धाधुन्द हतियार बाँड्दाको परिणाम अहिले सम्म लाखौं निर्दोषहरुले ज्यान गुमाइरहेका छन ।

अहिले फेरी त्यस्तै भैरहेको छ । ८ वर्ष पछी रुसले पुन: युक्रेनमा हमला गरेको छ । राजधानी किभ र आसपासका शहरहरु, सैनिक अड्डा, विमानस्थल लगायतका ठाउँमा रुसी आक्रमण जारी छ । युक्रेनी राष्ट्रपती बोलोदिमिर जेलेस्कीले युरोपेली परिषद र नाटो लगायतसँग सहयोगको याचना गरेपनि उनिहरुले आफ्ना सेनालाई यो युद्दमा उतार्न सहमत भएनन । तर उनिहरु सबैले युद्द सामाग्री पठाउन भने हिच्किचाएनन । युद्द शुरु भए यताका यि ११ दिनमा ५०करोड डलर भन्दा बढीको युद्द सामाग्री युक्रेनले प्राप्त गरिसकेको छ । जसमा रकेट लन्चर, बन्दुक, युद्द ट्यांक, सेफ्टी कम्ब्याट लगायत छन । अमेरिका एक्लैले २० डलर भन्दा माथिका सामाग्री पठाएको छ ।

युक्रेनी राष्ट्रपती जेलेनेस्किले आफ्ना नागरिकहरुलाई हतियार बोकेर रुसी सैनिकको प्रतिकार गर्न आग्रह गरेका छन । उनको आग्रह अनुसार नै देशको पूर्वी सिमा क्षेत्रका अधिकांश वयस्कहरुलाई केही घण्टाको सामान्य प्रशिक्षण पछी आधुनिक हतियार दिइएको छ । एकजना प्रत्यक्षदर्शीले भनेका छन ‘किभ र खार्किभका सडकहरुमा सैनिकको तुलनामा हतियारधारी गैर सैनिकहरु बढी छन । रुसी सेनाको प्रतिकारमा उनै उत्रेका छन ।’

जन्म भूमी यस्तो भावना हो जसले यसको रक्षाका लागि जुनसुकै बेला युद्दमा होमिन प्रेरित गरिरहन्छ । तर त्यो कहाँँ पुगेर टुङ्गिन्छ भन्ने कुरा भने अँध्यारो पक्ष हो । यो ठ्याक्कै अफगानिस्तानको जस्तै अवस्था हो त्यतिबेला गैर सैनिक अफगानहरु रुसी आक्रमणको विरुद्द सशस्त्र उत्रिएका थिए । अहिले युक्रेनी जनता त्यही रुपले रुसी आक्रमणको विरुद्दमा उत्रिएका छन ।

युक्रेनमा पनि कुनै न कुनै दिन युद्द जरुर सकिने छ । तर हतियार चलाऊन अभ्यस्त बन्दै गएका जनता निशस्त्र बन्लान नबन्लान यो एउटा ब्यापक चिन्ताको विषय हो ।

सन १९८० मा अफगानी जनताका काँधमा आफैंले भिराएको बन्दुक उतार्न अमेरिकाले डेढ दशक भन्दा लामो प्रयास गरेर पनि सफल हुन सकेन । ४० वर्ष यता अफगानिस्तानलाई बन्दुकले नै गिजोलेको छ । युक्रेन त्यस्तो नहोस् । गैर सैनिकले चलाऊने हतियार देशको लागि मात्र नहुन सक्दछ । यो अफगानिस्तानले सिकाएको पाठ हो ।

तपाइँको प्रतिक्रिया