शुक्रबार, वैशाख १४, २०८१

एनआरएनएमा एकता कायम गर्न केन्द्रिय अभियन्ताहरुको फेरि काठमाडौं दौडधुप

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २४ गते १८:५९

विगत ८ महिना लामो आन्तरिक विवाद पछी फुटको संघारमा पुग्नै लागेको गैर आवाशिय नेपाली संघ (एनआरएनए) लाई जोगाउने अन्तिम प्रयास स्वरुप केन्द्रिय अभियन्ताहरु काठमाडौं पुग्ने दौडधुप चलेको छ ।

दुबै पक्षलाई मिलाउन सकृय रुपमा लागिरहेका संघका वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ सहमतिका बिभिन्न प्रस्ताव सहित बुधवार काठमाडौं जाँदै छन भने अध्यक्ष कुमार पन्त समेत काठमाडौं जाने तयारी गरिरहेका छन । कुल आचार्य, जीवा लामिछाने, उपेन्द्र महतो लगायतका अभियन्ता काठमाडौं मै छन् । सबै पक्ष बसेर अन्तिम वार्ताको तयारि भैरहेको छ ।

एकता, सहमति र सहकार्यकालागि मध्यमार्गी भूमिका खेल्दै आएका श्रेष्ठले पछिल्लो समयमापनि सबैलाई एकै ठाँउमा जोड्न र एकताको महाधिवेशन गराउन ब्यापक पहल गर्दै आएका छन । अर्को पक्षलाई समेट्नकै लागि उम्मेद्बारी दर्ता प्रकृया तीन दिन लम्ब्याइएको थियो ।

कोषाध्यक्ष श्रेष्ठले नेपालप्लससँगको कुराकानीमा एकताको महाधिवेशनका लागि प्रयास जारी रहेको बताए । भने “सहमतिका विभिन्न पक्षबाट छलफल भइरहेको छ । कुनै न कुनै सहमतिमा हामी पुग्दैछौं ।”

विभिन्न विवाद र अदालती प्रकृयाकाबिचमा पनि समस्या समाधान नभए पछी अध्यक्ष कुमार पन्तले डेढ महिना अघि शेष घलेको संयोजकत्वमा उच्चस्तरिय समिती गठन गरेका थिए । संयोजक घलेले समितिका सदस्यहरुको सल्लाह बेगर एकल निर्णय गर्न थालेपछी एनआरएनएको ८२ औं केन्द्रिय बैठकले केही दिन अघि मात्रै उच्चस्तरिय समिती लगायत संरक्षक परिषद विघटन गरेको घोषणा गरेको थियो ।

त्यसपछी पनि महेश श्रेष्ठ लगातार सहमती र एकताको पक्षमा लागिरहेका छन । उनकै पहलमा फेरी एकपटक सबै जना काठमाडौंमा भेला हुन लागेको बताइएको छ ।

यस अघि एनआरएनलाई फुटबाट जोगाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत पहल शुरु गरेका छन । उनले कांग्रेसका बिभिन्न तहका नेताहरुलाई भेटेर एनआरएनको खास विवाद र यसलाई फुटबाट जोगाउने उपाय बताइसकेका छन ।

एनआरएन श्रोतका अनुसार गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत यस बारेमा छलफल गरिसकेका छन । थापाले नेपाली कांग्रेसलाई एनआरएनएको आफ्नो विधिविधान र प्रक्रिया अनुसार चल्न दिनुपर्ने, कुनैपनि हालतमा कुनै एक पक्षमा कांग्रेस लाग्न नहुने र एनआरएनएलाई फुटको संघारमा पुर्‍याएको दोष कांग्रेसले बोकेर हिंड्न नहुने बताउँदै आएका छन ।

उनकै पहलमा नेपाली कांग्रेसका खास गरेर पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताहरु लचिलो बन्दै गएको बताइन्छ । यसले पनि कुल आचार्य र बद्रि केसी दुबैमा मिल्नै पर्ने दवाव बढिरहेको छ ।

एनआरएनका एक अभियन्ता भन्छन- एनआरएनएलाई फुटबाट जोगाउने चाहना सबैको छ । त्यसका लागि पनि सहमतीका लागि हामीले अन्तिम प्रयास गरिरहेका छौं । यसपाली पनि सहमतिका लागि पहिले नै आइसकेका केही बुँदाहरुलाई पुन अघि सारीएको छ । केही नयाँँ बुँदाहरु पनि समेटिएको छ ।”

महेश श्रेष्ठ सम्मिलित पुरानो समितिले ल्याएका पालै पालो अध्यक्ष हुने बुँदामा यसपाली पनि छलफल गरिने छ भने अर्को कार्यकालका लागि कुनै एक जनालाई ‘कन्फर्म अध्यक्ष’ बनाउने लिखित सहमतिका बुँदालाई पनि छलफलमा ल्याइने छ ।

त्यसो त, अध्यक्षको दौडमा कुल आचार्य र बद्री केसी मात्रै छैनन, रविना थापा पनि उत्तिकै सकृयताका साथ चुनावी दौडमा छन । उनले अध्यक्ष पदमा मंगलवारनै आफ्नो उम्मेदवारी दर्ता गराइसकेकि छन् ।

तर रविना थापाले यदी सहमती भएमा आफू सहमतीमा वाधक नबन्ने बताएकी छन ।  केसी र आचार्य विचमा सहमती गराउन सकियो भने एनआरएनलाई फुटबाट बचाउन सकिने धेरैको आँकलन छ । त्यसैले अबको प्रयास खेर नजानेमा श्रेष्ठ आशावादी छन ।

“हामीले सहमतिका विभिन्न मोडेलमा छलफल गर्ने छौं । नेपालका राजनीतिक पार्टीहरु जस्तै कि नेकपा एमाले र नेकपा माओवादीको एकिकरण वा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एकिकरणमा कस्ता संयन्त्र प्रयोग भएका थिए भन्ने कुरामा पनि हामीले अध्ययन गरिरहेका छौं” श्रेष्ठले भने ।

तपाइँको प्रतिक्रिया