मंगलबार, वैशाख ११, २०८१

कांग्रेस नेता थापा, खड्का सहित एनआरएनएको गोप्य वार्ता, दोस्रो वार्ता अध्यक्षका प्रत्यासीसहित गरिने

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २६ गते १३:०९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न भन्दै नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का, गगन थापा र एनआरएनएका तर्फबाट कोषाध्यक्ष महेश श्रेष्ठ, संरक्षक जीवा लामिछानेसहितको वार्ता चलिरहेको छ ।

वार्तास्थल गोप्य राखिएको छ ।

वार्ता एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा हुन लागेको हो । अध्यक्ष केपी ओली सहित भेट्नुपरेपनि आफूले भेटेर सहमतिकालागि प्रयास गर्ने कांग्रेस नेता गगन थापाले आस्वाशन दिएको स्रोतले बताएको छ ।

वार्तामा शेष घले पक्षबाट कोहिपनि संलग्न छैन । कांग्रेस नेताहरु घले पक्षलाई वार्तामा संलग्न गराउन अनिच्क्षुक देखिएका हुन् ।

यदि सहमति भएमा परराष्ट्र मन्त्रालय र पाटन उच्च अदालतमा परेका मुद्दापनि फिर्ता लिने प्रस्ताव कांग्रेस नेता पूर्ण बहादुर खड्का र गगन थापाले प्रस्तुत गरेका छन् ।

राजनितिक रुपमा पार्टीहरुको समर्थन जुटाईसकेपछि सहमति भएको खण्डमा मात्रै अध्यक्षका प्रत्यासीहरु बिच वार्ता गरिने एनआरएनएको उच्चस्रोतले नेपालप्लसलाई बताएको छ ।

वार्तामा सहमतिकालागि बिभिन्न खाले बिकल्पमा कुराकानी गरिने छ । ति मध्ये सबैभन्दा प्रमुख एनआरएनएको आगामी कार्यकाल तीन वर्षकोलागि बनाईने र अध्यक्षका तीनै जना प्रत्याशीले एक एक वर्ष चलाउने भन्ने छ ।

त्यसमा सहमति हुन नसकेमा तीनै जना अध्यक्ष बनाउने र ति तीन जना मध्ये कार्यकारी, आलंकारिक, काम चलाउ अध्यक्ष र सम्मानित अध्यक्ष यस्तै कुनै फुर्को जोडेर भागवण्डा गरिने प्रस्तावलाईपनि बिकल्पको रुपमा हेरिएको छ ।

वार्तामा सहभागि हुन अनिच्क्षुक देखिएका जीवा लामिछानेलाई पूर्ण बहादुर खड्का र गगन थापाले जोडजुलुम गरेपछि सहभागि भएको स्रोतको भनाई छ ।

वार्ताकालागि अध्यक्ष कुमार पन्तलेपनि समर्थन जनाएका छन् र उनी बिहिवारसम्म नेपाल पुग्ने कार्यक्रम रहेको छ । पन्तसित सम्पर्क गर्न खोज्दा पन्त सम्पर्कमा आएनन् ।

तर राजनितिक पार्टीको नेत्रित्व र संलग्नतामा हुने वार्ताले संस्थालाई झनै राजनितिकरण गर्ने, एनआरएनएलाई राजनितिक दलको भगिनी संगठन बनाउने र संस्था झनै धराशायी हुने भन्दै अभियन्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

एनआरएनएलाई राजनितिक दलको हस्तक्षेपबाट अलग राख्नुपर्ने माग बढीरहेका बेला उल्टै राजनितिक दलका नेताहरुलाईनै संलग्न बनाएर निकाश खोज्ने प्रयासले आम एनआरएनएका सदस्य र अभियन्ताहरुमा कुठाराघात हुने भनाई अभियन्ताहरुको छ ।

यसरि राजनितिक दलका नेतासित वार्ता गरेर झनै राजनितिक हस्तक्षेप निम्त्याउने, राजनितिक पार्टीलाई आधिकारिक रुपमै संलग्न गराउने र विधान बिपरितका सहमति गर्ने हो भने त्यस्तो सहमति आफूहरुलाई मान्य नहुने भन्दै केहि अभियन्ताहरुले चेतावनी दिएको स्रोतले बतायो । राजनितिक पार्टीको संलग्नतामा गरिने सहमति आफूहरुको लागि मान्य नहुने भन्दै अभियानबाटै बाहिरिने भनाईपनि केहिको छ ।

नेपालप्लसले यो समाचार लेख्दासम्म वार्ता चलिरहेको छ ।

एनआरएनएलाई आफ्नै नितिनियम र विधान अनुसार चल्न दिनुपर्ने, फुट हुन कुनैपनि हालतमा दिननहुने, एनआरएएन फुटको अपजस नेपाली कांग्रेसले बोक्न नहुने भन्दै कांग्रेस नेता गगन थापाले केहि दिनदेखिनै पहल गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया