बिहीबार, वैशाख ६, २०८१

रुस-युक्रेन युद्दपछि उत्पन्न संकटबारे छलफल गर्न ईयु नेताहरुको फ्रान्समा सम्मेलन

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन २६ गते २२:५६

Photo: Council of the European Union)

युक्रेनमा रसियाको आक्रमण र उर्जा संकटलाई कसरि सम्बोधन गर्ने भन्ने बारे छलफल गर्न बिहीवारदेखि फ्रान्सको भेसाई दरवारमा युरोपेली युनियनका नेताहरुको दुई दिने शिखर सम्मेलन शुरु भएको छ ।

सम्मेलनमा युरोपेली संघका नेताहरूले युरोपेली ब्लकमा सदस्यता लिन चाहेका युक्रेन लगायतका देशहरुको लागि द्रुत मार्गको खोजि, युरोपेली मुलुकमा उर्जा संकटको समाधान र इयुको सुरक्षाका बारेमा छलफल गर्ने छन् ।

युरोपेली संघको सदस्यता प्राप्त गर्ने युक्रेनको आशालाई तुरुन्तै सम्बोधन गर्न, उर्जा संकटको उपाय खोजि गर्न र रुसको आक्रमणको नतिजालाई सम्बोधन कसरि गर्ने भन्ने प्रमुख एजेण्डा रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

भसाइ दरबारमा भएको बैठक फ्रान्सले ईयु अध्यक्षता लिएको छ महिनाको कार्यकालमा आयोजना गरिएको छ । तर राष्ट्रपति एमानुएल माख्रोंले रुसी नेता भ्लादिमिर पुटिनले युरोपमा दशकौंको स्थिरतामाथि अवरोध गरेपछि संकट शिखर सम्मेलनको नेतृत्व गरिरहेको र यो सम्मेलन त्यसैकालागि भएको दाबी गरिएको छ ।

युक्रेन युद्ध र ईयूको ऊर्जा आपूर्तिले दुई दिने बैठकमा प्रभुत्व जमाउने स्थिति रहेको भनाई फ्रान्सेली मेडियाहरुको छ ।

नेताहरू एउटै हल अफ मिरर्समा रात्रिभोजको लागि बसेका थिए । यो त्यहि ठाउँ हो जहाँ पश्चिमी सहयोगीहरूले पहिलो विश्वयुद्ध पछि सन् १९१९ मा युरोपको नयाँ नक्सा बनाएका थिए ।

“युक्रेनमा भएको युद्दपछि युरोप अझ छिटो र बलियोसित परिवर्तन हुनेछ” फ्रान्सका राजा लुइस चौधौंको पूर्व निवासमा आफ्ना समकक्षीहरूलाई अभिवादन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले भने ।

सम्मेलनमा ईयुका २७ वटै देशका राष्ट्रप्रमुखहरु भेला भएको युरोन्युजले उल्लेख गरेको छ ।

राष्ट्रपती माख्रोले यसलाई “युद्धको लज्जास्पद कार्य” को संज्ञा दिएका छन् । ईयुभरीका नेताहरूले यो अत्याचारको निन्दा गरेका छन् । स्पेनले यसलाई “युद्ध अपराध” भन्दै पुटीनमाथि सजायको माग गरेको एएफपीले जनाएको छ ।

रुस-युक्रेन द्वन्द्वले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आफ्नो देशलाई ईयुमा प्रवेश गराउने प्रस्तावमा समर्थनको वृद्धि भएको छ । तर केहि देशका नेताहरूले सदस्यताको द्रुत ट्रयाक असम्भव छ भनेर दोहोर्याएको बताइएको छ ।

“फास्ट ट्र्याक जस्तो छरितो कुनै चीज छैन” डच प्रधानमन्त्री मार्क रुटेले भने “म भोलोदिमिर जेलेन्स्कीका लागि आजै राति, भोलिनै के गर्न सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु । र युक्रेनको ईयु प्रवेश लामो अवधिको लागि हो। ”

लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेट्टलले युक्रेनलाई रातभरिमै सबै कुरा हुन सक्छ भन्ने धारणा नदिन चेतावनी दिए ।

‘सबैभन्दा ठूलो समस्या’

युद्ध अघि पनि शिखर सम्मेलन आयोजना गरेर विश्व मञ्चमा युरोपको कदलाई बलियो बनाउनको लागि मार्ग बनाउने माख्रोंको महत्वाकांक्षा थियो ।

नेताहरूले विशेष गरी ऊर्जामा एकदमै खतरनाक अवस्था भएको भन्दै उर्जाको संसारमा युरोपको आत्मनिर्भरतालाई हटाउने तरिकाहरू खोज्न तल्लिन देखिएका छन् ।

द्वन्द्वले उर्जाको मूल्य आकाशिएको छ । ईयुको अर्थतन्त्रलाई धम्की दिएको छ । युरोपेलीहरूले ग्यास र तेलको लागि कहाँ कसरि समाधान गर्ने भन्नेमा दबाबपूर्ण छलफल सुरु गरेको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनी विशेष गरी ऊर्जा प्रवाहमा रुसमाथि निर्भर रहेको छ । इटाली र धेरै मध्य युरोपेली देशहरूबाट युरोपेली संघले आफ्नो प्राकृतिक ग्यासको लगभग ४० प्रतिशत रूसबाट आयात गर्दछ । ईयुको तेल आयातको एक चौथाई भाग पनि रूसबाट आउँछ ।

रुसी उर्जामा युरोपको निर्भरताले पुटिनको आक्रामकताप्रति पश्चिमी देशहरुको एकीकृत प्रतिक्रियामा अवरोधको काम गरेको छ । अमेरिका र बेलायतले लागू गरेको रूसी तेल आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट ईयु यसै हप्ता पछि हटेको थियो ।

बैठकको अन्तिम घोषणाको मस्यौदा अनुसार २७ देशका नेताहरूले रुसको ग्याँस, तेल र कोइलामा रहेको ईयुको निर्भरतालाई कटौति गर्न सावधानीपूर्वक सहमत हुने उल्लेख छ ।

ईयु नेताहरूले उर्जाकालागि द्रुत योजना बनाउने, खाद्य उत्पादन, विशेष गरी रक्षा र अत्यधिक संवेदनशील क्षेत्रहरूमा युरोपले स्वतन्त्रता प्राप्त गर्न सक्ने तरिकाहरूमा अगाडि बढ्ने प्रयास गर्ने छन् ।

युरोपेली संघमा सामूहिक सुरक्षा मुख्यतया अमेरिकी नेतृत्वको नाटो गठबन्धनले ब्यवस्थापन गर्छ । तर फ्रान्स युरोपेली संघको सबैभन्दा ठूलो सैन्य शक्ति भएको देश हुनाले ईयुले ठूलो भूमिका खेलोस भन्ने चाहन्छ ।

ईयु सदस्यहरूले युक्रेनलाई रक्षा सहायतामा कुल ५० करोड युरो स्वीकृत गरेका छन् ।

जर्मनीले राष्ट्रिय रक्षामा एक खर्ब युरो लगानी गर्ने घोषणा गर्दै नाटकीय रूपमा लामो समयदेखिको सिद्धान्त तोडेको छ ।

“चुनौतिहरूलाई ध्यानमा राख्दै हामीले दृढताका साथ रक्षा क्षमता र नवीन प्रविधिहरूमा थप र राम्रो लगानी गर्नुपर्छ” नेताहरूले निचोड निकाल्ने अपेक्षा गरिएको छ ।

(फ्रंस २४ न्युज, युरो न्युज र एएफपीको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक