बुधबार, वैशाख १२, २०८१

“एनआरएनए समस्या समाधानमा कुनै ठोस कदम चालिएको छैन” आचार्य

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २७ गते ११:५६

गैरआवाशिय नेपाली संघमा चर्किएका विवाद मिलाउन काठमाडौंमा अन्तिम रस्साकसी चलिरहेको छ । नेपाली कांग्रेस पार्टीका उपल्ला नेताहरु समेत एनआरएनको एकता जोगाउन कस्सिएका छन । संघका वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ सहमतीको ‘प्याकेज’ लिएर जापानबाट काठमाडौं आइपुगेका छन । उनले नेपाली कांग्रेस लगायत संघका पूर्व अध्यक्षहरु सँगका भेटघाट तिब्र परेका छन । तर अध्यक्षका प्रत्यासी तथा संस्थापना इतर समुहका एकजना अभियन्ता कुल आचार्यले छलफलहरु समस्या समाधान तर्फ नबढेको बताए ।

“बैठकहरु भएका छन भन्ने कुरा मैले पनि सुनेको छु । तर समस्या समाधानका विषयमा कुनै ठोस कदम चालिए जस्तो मलाई लाग्दैन” नेपालप्लससँगको कुराकानीमा आचार्यले भने ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठसँग छलफल भएको बताउँदै उनले भने “उहाँले चक्रिय प्रणालिमा गएर मिल्नुपर्‍यो भन्नु भएको थियो । तर त्यसमा कंक्रिट खाका मैले केहि पनि देखिन र कुनै बिन्दु नभएको विषयमा समय वर्वाद गर्नुको कुनै अर्थ रहेन ।”

तर आचार्यले राष्ट्रिय समन्वय परिषदहरुले पठाएका प्रतिनिघीहरुको नामावली सदर गरिएको खण्डमा चुनावमा जान सकिने बताए । उनले भने “विवाद मुख्य रुपमा प्रतिनिधि सँग सम्बन्धित छ । मैले पहिले पनि भनेको हो, राष्ट्रिय समन्वय परिषदहरुलाई बाहिर राखेर कसरी सम्भव हुन्छ ? पहिले राष्ट्रिय समन्वय परिषदको अस्तित्व स्विकार गर्न सक्नुपर्‍यो । भन्न चाहिँ राष्ट्रिय समन्वय परिषद भन्ने तर उसले पठाएका प्रतिनिधि सदर नहुने ?”

अब समाधानको विन्दु के त ? नेपालप्लसको प्रश्नमा उनले भने “म आफैंले पनि राष्ट्रिय सहमती गरौं । एकताको अधिवेशन गरौं । इच्छा र काम गर्ने आकांक्षा हुने साथीहरुलाई मौका दिउँ भनेर प्रस्ताव लगेको हो । उहाँहरुले त्यो पनि मान्नु भएन । विवादहरु छन यो सर्व विदितै छ । तथापी सबैले केहि न केहि त्याग गरौं । थोरै लेनदेनमा मिलाउँ भनेको हो । तर उहाँहरुको कुरा सबै कुरा मैले मात्रै छोड्नु पर्ने, त्याग गर्नु पर्ने भन्नुभयो ।”

आचार्यले काठमाडौं बसाईका अवधिमा संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो तथा जीवा लामिछाने सँग पटक पटक भेटघाट र छलफल गरेका छन । संस्थालाई एक बनाएर अगाडि बढाउनका लागि विभिन्न मोडेलमा कुराकानी पनि भएका छन । तर ति सबै छलफल र वार्ताहरु विना निष्कर्ष टुङ्गिने गरेका छन । चुनावको समय नजिकिनै लागेको भए पनि कुल आचार्य पक्षधरहरुले कुनै पनि पदहरुमा नोमिनेशन पठाएका छैनन ।

आचार्य भन्छन “हामीले उठाएका कुनै पनि विषयहरुलाई समाधान गरिएको छैन । संस्थापन पक्ष यतातर्फ सधैं उदासिन छ । यस्तो अवस्थामा हामीले कसरी र केका लागि आफ्नो उम्मेद्बारी दर्ता गराउने ? हामीलाई थाहा छ यो सबै संस्था कब्जा गर्ने प्रपन्च हो ।”

तथापी उनी समस्या समाधान हुन सक्ने कुरामा भने आशावादी छन । “साथीहरुले चक्रिय प्रणालीका प्रस्ताव ल्याउनु भएको छ । भलै त्यसको कुनै कंक्रिट खाका छैन । तै पनि म वार्ताबाट नै समस्या समाधान हुन्छ भन्ने कुरामा आशावादी छु । विभिन्न असहमतीका वावजुद पनि वार्ताको ढोका बन्द भएको छैन” उनले भने ।

विवादको सुरुवात देखिनै नेपाली कांग्रेसले संघ भित्र हस्त्क्षेपकारी भूमिका देखाएपछी र अब यो संस्था विभाजनको संघारमै पुग्न लागे पछी एनआरएन विभाजनको दोष नेपाली कांग्रेसले बोक्न नहुने भन्दै एक साता अघि देखि नेपाली कांग्रेसका महामन्त्री गगन थापा एनआरएनलाई एक बनाउने दौडमा छन । विहिवार मात्रै उनले संघका पुर्व अध्यक्षहरुसँग भेट गरेका छन । कुल आचार्य सँगको भेट पछी कोषाध्यक्ष महेश श्रेष्ठ पनि थापा सम्मिलित बैठकमा पुगेका थिए ।

तर आचार्य भन्छन “संघ भित्रका विवादहरु यस्ता विवाद हुन जहाँँ न त सरकार जोडीएको छ न नेपाली कांग्रेस पार्टी नै । जे जे विवादहरु छन ति विशुद्द रुपमा एनआरएन भित्रका समस्या हुन् । त्यसको समाधान कुनै पार्टी वा नेपाल सरकारले नभएर एनआरएन आफैंले गर्नुपर्दछ ।”

तपाइँको प्रतिक्रिया