बुधबार, वैशाख १२, २०८१

एनआरएनएको भेन्टिलेटर झिकियो, आइसियुमा उपचार गरिंदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २७ गते १३:३७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गरि एकता कायम गर्ने प्रयास गर्दागर्दै आइसियुमा पुगेको संस्थालाई भेन्टिलेटरबाट झिकेर थप उपचार भैरहेको छ ।

शुक्रवार उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन अझैपनि वार्ता भैरहेको छ । संस्थालाई एकजुट बनाउन मध्यमार्गी भूमिका खेलिरहेका एनआरएनए केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठले अहिलेपनि सबै पक्षसित एकता र सहमतिकालागि वार्ता गरिरहेका छन् ।

संस्थालाई जोगाउन, फुट हुन नदिएर सहमतिमै निर्वाचन गराउन उनले सबै सरोकारवालासित वार्ता जारि राखेका छन् ।

पछिल्लो समयमा जारि वार्ताले केहि आशा पलाएको नेपालप्लसलाई बताउँदै मध्यस्थकर्ता मेश श्रेष्ठले भने “एनआरएनए बिरामी परेर आइसियुमा थियो । भेन्टिलेटर झिकियो । अहिले आइसियुमा गम्भिर उपचार भैरहेको छ ।”

हरेक वार्ता, सहमति, लेनदेन र छोड्ने काम भनेकै गम्भिर परिस्थितिमा हुने भएकाले समस्या आएको हुँदा सहमतिको अन्तिम प्रयास गरिरहेको उनले बताए ।

“सहमति भनेकै समस्या आएपछि हो । खोलामा बाढी आएपछि गड्याङगुडुङ हुन्छ, पानी धमिलो हुन्छ र त्यहि बेला माछा धेरै पर्छन्” श्रेष्ठले आशावादी हुँदै अर्को उदाहरणसमेत दिए “अहिले रुस-युक्रेनबिच समस्या छ । त्यहाँ समस्या परेरै त अब सहमतिको प्रयास भएको हो नी । समस्यानै नपर्दा त सहमति भन्ने किन चाहियो र ? एनआरएनएमापनि अन्तिम अवस्था आएकैले सहमतिको आवश्यकता परेको हो, त्यो हुन्छ भन्ने आशा पलाएको छ ।”

निर्वाचनबाटै अध्यक्ष चुनिने नौलो मोडेल

हाल भैरहेको वार्तामा यस अघि प्रस्तुत नभएको बैकल्पिक र नयाँ मोडेलमा वार्ता भैरहेको छ ।

त्यो भनेको निर्वाचन प्रक्रियामा जाने र अधिकतम मत ल्याउने दुई जनानै अध्यक्ष बन्ने ।

एनआरएनएका एक अभियन्ताले पछिल्लो मोडेललाई नेपाली कांग्रेसकै महामन्त्री पदको उदाहरण दिंदै भने “कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार जति सबैले निर्वाचन लडे । तर सबैभन्दा बढी मत ल्याउने गगन थापा र विश्वप्रकाश शर्मा दुई जना महामन्त्री बनेका छन् । त्यस्तै सहमति एनआरएनएमा हुनसक्छ ।”

‘कांग्रेस महामन्त्री मोडेलको दुई जना अध्यक्ष पदले फरक फरक शक्ति संघर्षको केन्द्र निर्माण गर्दैन र ?’ भन्ने नेपालप्लसको प्रश्नमा ति अभियन्ताले भने “एनआरएनए भनेको विधिविधानले चल्ने हो । अन्तर्राष्ट्रिय समन्वय समिति यसको सर्बोच्च शक्ति केन्द्र हो, अध्यक्ष होइन । केन्द्रिय म्यान्डेटबिना अध्यक्षले एकल निर्णय गर्न सक्दैनन् । त्यसैले एनआरएनए अध्यक्ष एक्लैले चलाउने होइन कि केन्द्रको बहुमत निर्णयबाट चल्ने हुनाले केन्द्रिय पद जति भएपनि शक्ति केन्द्र निर्माण हुने भन्ने हुँदैन ।”

डा. शेष घलेले निर्वाचन समिति र महाधिबेशन आयोजक समितिनै गठन गरिसकेका छन् । फुट हुने निस्चित देखियो, अबको वार्ताले काम गर्ला र ?’ भन्ने नेपालप्लसको प्रश्नमा उनले भने “अधिकारको त कुरै छोडौं, एनआरएनएको विधिविधानले कुनैपनि संरक्षक, सल्लाहकार, उच्चस्तरिय समितिलाई महाधिवेशन गर्ने, निर्वाचन गर्ने, समिति बनाउने अधिकार परिकल्पनासमेत गरेको छैन । हरेक संरक्षकले आफू खुशि महाधिवेशन गर्ने हो भने त पाँच जना संरक्षकका पाँच महाधिवेशन र निर्वाचन समिति बन्ने भए । त्यस्तो विधिविधान र नियम कानुन बिरुद्द भएका कुनैपनि प्रयासको कुनै अर्थ रहन्न । मुल कुरा हामी एनआरएनए वाला मिल्नेनै हो ।”

तपाइँको प्रतिक्रिया