शनिबार, वैशाख ८, २०८१

एनआरएनए निर्वाचनका प्रमुख पदमा ककसको उम्मेदवारी ? केहि पद निर्बिरोध, आचार्य पक्षका दुई जनाले दिए उम्मेदवारी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २७ गते १७:१०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनकालागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको छ भने केहि पदमा एकल उम्मेदवारी परेकाले निर्बिरोध हुने भएका छन् ।

एनआरएनए निर्वाचन समितिको स्रोतका अनुसार हालसम्म अध्यक्षमा डा बद्री केसी (रुस) र रवीना थापा अ मेरिका)को उम्मेदवारी परेको छ भने कुल आचार्यले उम्मेदवारी दर्ता गराएनन् ।

त्यस्तै उपाध्यक्षमा डा. हेमराज शर्मा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमान) राजेन्द्र कुमार शर्मा (कतार), टंक गैरे (जापान), जयप्रकाश गुरुङ (युके) छन् । विधानमा चार जना उपाध्यक्ष खुललतर्फ हुनुपर्नेमा छ जनाको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ ।

युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको मात्रै उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा सउदी अरेबियाकी यासमिन बेगम सैयदको मात्रै उम्मेदवारी परेकाले थापा र सैयद निर्बिरोध हुने भएका छन् ।

महासचिवमा वर्तमान सचिव गौरीराज जोशी (अमेरिका) र युकेका विनय अधिकारीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ ।

सचिवमा जापानका ओम गुरुङ, अष्ट्रेलियाका अभिमानसिंह बस्नेत, युकेका रामशरण सिम्खडा, क्यानडाका चिरन्जीवी घिमिरे, अमेरिकाका शंकर खड्काको उम्मेदवारी परेकाले निर्वाचन हुने छ ।

महिला सचिवमा हङकङकी टिका गुरुङको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुने भएकि छन् ।

त्यस्तै, कोषाध्यक्षमा बेल्जियमका लोकप्रसाद दाहाल र नेदरल्याण्ड्सका फणिन्द्र पन्तको उम्मेदवारी परेकाले दुई जनाबिच प्रतिस्पर्धा हुने छ ।

सहकोषाध्यक्षमा दक्षिण कोरियाका यज्ञराज सुवेदीको एकल् उम्मेदवारी परेकाले उनीपनि निर्बिरोध हुने छन् ।

महिला सहकोषाध्यक्षमा अमेरिकाकी यमुना भट्टराईकोपनि एक मात्र उम्मेदवारी परेकाले निर्बिरोध चयन हुने भएकि हुन् ।

महिला संयोजकमा युकेकी संगीता मरहट्ठापनि निर्बिरोध हुने भएकि छन् । यो पदमा मरहट्टाको मात्रै उम्मेदवारी परेको हो ।

युवा संयोजकमा डेनमार्कका रवीन्द्र खड्काको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुने भएका छन् ।

हाल उम्मेदवारी दिएका मध्ये कोषाध्यक्षका उम्मेदवार लोक प्रसाद दहाल र उपाध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र प्रसाद शर्मा (आर के शर्मा) कुल आचार्य पक्षमा थिए । यि दुबै जनाले अन्तिम अवस्थामा आचार्य पक्ष त्यागेर निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

एनआरएनएलाई अन्तिम अवस्थासम्म एक जुट बनाउन मध्यमार्गी भूमिका खेल्दै आएका एनआरएनए कोषाध्यक्ष महेश थापाले भने उम्मेदवारी दर्ता गराएनन् । उनले विवादास्पद र संस्था फुट्ने अवस्थामा आफूले निर्वाचनमा भाग नलिने यस अघिदेखि बताउँदै आएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक