शुक्रबार, चैत १६, २०८०

‘ह्याप्पी बर्थ डे’ अच्युत बा !

गुमनाम परदेशी२०७८ फागुन २७ गते २०:४४

यो दुनिया निकै अजीवको छ । दुनियामा २० प्रतिशत मान्छेहरु निकै धनी छन । ३० प्रतिशत ठीकठाक छन । २५ प्रतिशत मान्छे खान लगाउन पुग्ने छन । अरु २५ प्रतिशत मान्छेहरु गरिव छन । यि मध्ये धेरैले कयौं छाक भोकै बस्ने वाध्यतामा जीवन यापन गरेका हुन्छन । अन्य सुख सयलका कुराहरु पर राखौं । धेरै मान्छेहरु पिउने पानी र पेट भर्ने थोरै अनाजका लागि कहाली लाग्दो समयका साक्षी बनेका हुन्छन । मसिना केटाकेटीहरुको स्कूल र स्वास्थ्यमा पहुँचको विषय बारे खासै बहस गर्न पर्दैन । किनभने त्यस्ता वालवच्चाहरु आफ्नो पेट भर्ने आक्रान्त जिजिविषा लिएर भौतारिएको हामी धेरैले सुनेका समाचार हुन । तर ति सबै दन्त्यकथाका पात्र जस्ता लाग्दछन हामीलाई ।

मलाई सधैंभरी नेपालमा यस्ता काहानी होलान कि नहोलान भन्ने लागिरह्यो । खोजी गर्ने निकायहरु सरकारका नियन्त्रणमा छन र तिनले दिएका रिपोर्टहरु विश्वसानीय लाग्दैनन् । किनभने सरकार साँचो बोल्दैन । धनी र गरिवको विश्वब्यापी आँकडा सम्भवत: नेपालमा पनि मिल्छ । तर त्यो धनी प्रतिशतमा पर्ने मान्छेहरुले चाहने हो भने गरिव मान्छेहरुको जीवन आरामसँग परिवर्तन हुन सक्दछ । तर धनी मान्छेहरुले किन यो विषयमा चासो राख्दैनन ? मान्छेहरुलाई धन दौलतको मोह कुन अवस्थासम्म हुन्छ ? मोहको मापदण्ड के हो ? यस्तो कुनै समय होला जुनाबेला दौलत प्राप्तिको मोहले त्यो मापदन्ड छुन सक्ला ? हुँदैन, शायद त्यस्तो मोहको मापदन्ड कहिल्यै भेटिदैन । त्यसैले दुनियामा धनी र गरिव रहिरहन्छन ।

यो सोचाइको बिषय नहुन सक्छ धेरैको । तर अनुसन्धानहरुले त्यहि भनेका छन- ति केही सम्पन्न मान्छेहरु उदार हुने हो भने यो दुनियाबाट विपन्नता हट्दछ । तर सरकारहरु यस्तो चाहँदैनन । समाजमा विपन्न वर्ग, रोग र भोक हट्यो भने धेरै मान्छेहरुको राजनीति गर्ने बाटो बन्द हुन सक्दछ । त्यसैले यो नेपालको मात्र कुरा होइन दुनियाभर रहिरहन्छ ।

“एक जनाको जीवन परिवर्तन भयो भने त्यसले पुरै देश परिवर्तन गर्ने सामर्थ्य राख्छ । त्यसैले हामीले हाम्रो ठाँउबाट त्यो पहल गरिरहनु पर्दछ” अच्युत बा भन्नु हुन्छ । एक जनाले देश परिवर्तन गरेका उदाहरण कति छन कति ।

म भर्खर काठमाडौं छिरेको थिएँ । मेरो लागि त्यहाँका बाटा, गुचुमुच्च परेका घर, त्यहाँको हिंड्ने तरिका, मान्छेहरुको ब्यस्तता सबै नयाँँ थिए । एउटा बास चाहिएको थियो र जागिर खोज्नुपर्ने थियो । विहान बागबजारको चिया पसलमा चिया र अलिकती पाकेको चना खाएर निस्के पछी बेलुकासम्म जिन्दगी एक किसिमले पखालिएको हुन्थ्यो । काठमाडौंमा हरेक दिन एउटा नयाँँ संघर्ष हुन्छ । पहिले गास, बास, कपास र त्यसपछी अलिकती भिन्न देखिनुपर्ने महत्वकांक्षा । हो यही महत्वकांक्षाले विथोलेको हुन्छ समाजलाई ।

मान्छेहरुको मन न हो, चल्बलाईरहन्छ । अरु भन्दा अलग हुन प्रेरित गरिरहन्छ । मेरो पनि त्यस्तै थियो । रोल्पा, रुकुम जहाँँ दैनिक दर्जनका हिसावले मान्छेहरु मारिएका हुन्थे । मारिनेहरुका पछाडि बाँच्नेहरुका बारेमा हामीलाई वा कसैलाई पनि कुनै सरोकार हुँदैनथ्यो । हामी मृत्‍युका समाचार लेख्थ्यौं । हामीलाई मरेका वा युद्दमा मारिएका मान्छेहरुको बारेमा मात्र थाहा थियो । बाँचेकाहरुको बारेमा हामी सोच्दै सोच्दैनौं ।

पूर्व प्रहरी महानिरिक्ष खरेल । फोटो-सुधिर शाह

प्रहरी प्रमुख अच्युत कृष्ण खरेल हुनुहुन्थ्यो । अहिले अवकास प्राप्त जिन्दगी बाँचिरहनु भएको छ । प्रहरी प्रधान कार्यालय नजिक आइजीपी निवास थियो । उहाँ युद्द प्रभावित पश्चिमका केही जिल्ला घुमेर फर्किनु भएको थियो । त्यत्तिकै भेट्ने लहड चल्यो । धेरै दिन भयो मैले फोन गरेकै छैन- अजिवको साईनो जोडीए जस्तो लाग्छ ।

केही साता अघी हो, बिष्णु सुबेदी र म बबरमहलको प्रहरी चेकिङमा छोपिएका थियौं । हामी विना लाइसेन्स मोटर साइकल चलाइरहेका थियौं । लाइसेन्स मात्र भन्दा पनि अली अर्को कुरा थियो । हामी पक्रियौं । प्रहरिले छोड्दै छोडेन । हामीले आफूहरु कहलिएका पत्रकार भएको बडा बडा गफ पनि दियौं । माथि सम्मको पहुँच सुनायौं । प्रहरीले मान्दै मानेन ।

“रातभरी खोरमा हाले पछी यि ठूला पत्रकारको असली रुप थाहा पाउँछन सबैले” एउटा प्रहरिले भन्यो । अब फसाद पर्ने भो । प्रहरी निरिक्षक गणेश ऐर थिए शायद । बिष्णु सुबेदी लत्रक्क परेको पर्‍यै छ अघी देखी नै । मैले कुरा गरें- “आइजीपी सापलाई फोन लगाउनुस । म आइजीपीको छोरो हो” । गणेश ऐरले ट्वाल्ल परेर हेरे । निकै आग्रह गरे पछी उनले आफ्नै मोबाइलबाट फोन हाने “साप एउटा केटो छ । आइजी सापको छोरो हुँँ भन्छ ।”

काठमाडौंमा हरेक दिन एउटा नयाँँ संघर्ष हुन्छ । पहिले गास, बास, कपास र त्यसपछी अलिकती भिन्न देखिनुपर्ने महत्वकांक्षा । हो यही महत्वकांक्षाले विथोलेको हुन्छ समाजलाई ।

खोइ उताबाट के कुरा भो कुन्नी फोन मलाई दिए । “रातिको १० बजे, के हो ताल । यस्तो पनि हुन्छ ?” अच्युत बाको आवाज आयो- “भोली बिहान हेडक्वाटर आउनु ।” गणेश ऐरले सम्मानपुर्वक नै छोडिदिए ।

विहान एक्कैछिन हेडक्वाटर पुगें । अलिकती गाली खाएँ । बुढा रिसाएर आगो । त्यसपछी मैले धेरै दिन फोन गरिन । उहाँ रोल्पाको भ्रमण सकेर फर्किनु भएको थियो । जताततै जगजगी चलेको छ । हामी पत्रीकाको कार्यालयमा राती अबेरसम्म बसेर मृत्‍युका समाचार लेख्छौं र निद्राले च्याप्नै लाग्दा कोठामा पुगेर घुत्रुक्क पल्टिन्छौं । त्यो बेलाका हामी सबै पत्रकारहरु मृत्‍यु पत्रकार हौं । हाम्रो लागि समेत जिन्दगी फगत केराको पातमा अडिएको पानीको इत्रुको थोपा जस्तो भएको छ । कहाँँ पो गणना हुन्छ होला र त्यो पानीको थोपा !

जिन्दगीका समाचार निकै सतही लागि सकेका थिए । हामी मृत्‍युमा रमाइरहेका थियौं शायद । फोन गरें “बा तपाईंलाई भेट्नु छ ।”

“भोली शनिवार छ क्वार्टरमा आउ” फोनमा यत्ती मात्रै सम्बाद भयो ।

विहान आइजीपी निवास पुग्दा अच्युत बा बाहिर टहलिँदै हुनुहुन्थ्यो । “चिया खान्छौ ?” बुढाको उस्तै हँसिलो अनुहार !

“तपाईंलाई मसँग रिस उठेको छैन र ?” मैले सोधे । बुढा बोलेनन ।

“म मारिएका मान्छेको कुरा गर्न चाहन्न । तर बाँच्नेहरुको अवस्था भयावह छ । त्यो प्रहरी होस वा सामान्य नागरिक । मेरो चिन्ता ति मसिना केटाकेटी प्रती छ जो युद्दका कारण अभिभावक विहिन भएका छन ।

चिया खाने बेलामा भने “रिस त उठेको थियो अहिले सेलायो । त्यस्तो पनि गर्ने हो ?” म बोलिन । किन बोल्नु ? आइजीपीसँगको चिनजानले पनि हाम्रो सामान्य जीवनमा धेरै फरक पार्दथ्यो । कतिपय ठाउँमा पार्‍यो पनि ।

“के छ त रोल्पा रुकुमको अवस्था ?” मैले सोधें ।

“म मारिएका मान्छेको कुरा गर्न चाहन्न । तर बाँच्नेहरुको अवस्था भयावह छ । त्यो प्रहरी होस वा सामान्य नागरिक । मेरो चिन्ता ति मसिना केटाकेटी प्रती छ जो युद्दका कारण अभिभावक विहिन भएका छन । बरु तिमी जस्ता लेख्ने मान्छेहरुले ति केटाकेटीको बारेमा लेखे हुन्छ । जसलाई यो युद्दले आजीवन समाज बाहिर पुर्‍याउने बाटो खानेको छ” उहाँले भन्नु भयो ।

प्रहरीको मन कठोर हुन्छ जस्तो लाग्छ मलाई अहिले पनि । त्यतिबेला पनि लाग्दथ्यो । हुन त दुनियाँ त्यही रितमा हिंडेको छ । कसले कसको बारेमा सोच्ने ! रोल्पाको चित्र अच्युत बाको मुख बाट सुने मैले त्यो विहान । त्यसपछी मैले जहिले पनि अच्युत बा लाई भेट्दा हरेक पटकका चिन्तन तिनै भए ।

“रातभरी खोरमा हाले पछी यि ठूला पत्रकारको असली रुप थाहा पाउँछन सबैले” एउटा प्रहरिले भन्यो ।

“केही गर्नु पर्छ तिनिहरुका लागि जसलाई साँच्चिकै सहयोगको खाँचो छ” उहाँले सधैँ भन्नु भयो । म विदेश हिंडे । अच्युत बा रिटायर्ड हुनु भो । धेरै वर्ष पछी उहाँले द्वन्दमा मारिएका प्रहरीका वालवाच्चा पढाउन ११ लाखको कोष स्थापना गर्नुभयो । यो छात्रवृत्ति कर्तब्य पालनाका क्रमममा विरगति प्राप्त गर्ने जवान, हवलदार, सहायक निरिक्षक तथा नायव निरिक्षकका सन्तानलाई प्रदान गरिएको छ । अघी पनि उहाँले चार वटै क्षेत्रीय स्कूलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा प्रहरी जवान र हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराउनु भएको थियो । उहाँले आफ्नो मासिक पेन्सन ८ हजार ५ सय ११ रुपैयाँ पनि सिपाही, हवल्दारका गरिव एवं जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गरेको समाचार सुनें । मन अभिभुत भयो । एक जनाको जिन्दगी परिवर्तन भएर देशमा के फरक पर्ला ?

“एक जनाको जीवन परिवर्तन भयो भने त्यसले पुरै देश परिवर्तन गर्ने सामर्थ्य राख्छ । त्यसैले हामीले हाम्रो ठाँउबाट त्यो पहल गरिरहनु पर्दछ” अच्युत बा भन्नु हुन्छ । एक जनाले देश परिवर्तन गरेका उदाहरण कति छन कति । हामी सबैले एक एक जनाको जिन्दगीमा केही योगदान दियौं भने देशको लागि योगदान दिने धेरै ठूलो जमात तयार हुन्छ ।

जिन्दगीको लम्बाइ खासमा त्यति लामो छैन । नाप्न सकिन्छ । जिन्दगी नापी दिने अरु पनि हुन्छन । त्यो कर्मको कुरा भयो । म तपाईंको जिन्दगी नाप्न सक्दिन अच्युत बा । तपाईं उभिएको सोचको धरातल धेरै फराकिलो छ । जन्म दिनको शुभकामना अच्युत बा !

तपाइँको प्रतिक्रिया

फेसबुक