बिहीबार, वैशाख १३, २०८१

“एनआरएनए प्रती मायाँ छ भने सहमतीको प्रयास अझै गर्न सकिन्छ” राज रेग्मी

नेपालप्लस संवाददाता२०७८ फागुन २८ गते १७:२३

ब्यवशायी राज रेग्मी

गैर आवाशिय नेपाली संघ लगभग विभाजनको संघारमा छ । उस्तै मितिमा शेष घलेले अर्को अधिवेशन डाकेका छन । संस्थापन पक्षले घोषणा गरेको निर्वाचनका लागि उम्मेद्वारहरुले नोमिनेसन गर्ने समय पनि सकिएको छ । तर उम्मेदवारी घोषणा गरेका र एनआरएनले निकै आशा गरेका धेरै ब्यक्तिहरुले आफ्नो उम्मेद्बारी दर्ता गराएनन । यसले पनि एनआरएनलाई विभाजनको संघारमा लैजाने संभावित रेखा देखाएको छ । शुक्रवार साँझसम्म उम्मेद्बारी दर्ता नगराएका अधिकांश अभियन्ताहरु घलेले डाकेको अधिवेशनमा पुग्दैछन भने केहिले आफूहरु तटस्थ रहने बताएका छन । यस्तै तटस्थ मध्येका एक हुन्, कतारका चर्चित नेपाली ब्यवशायी राज रेग्मी ! उनले नेपालप्लस सँगको कुराकानीमा यदी संस्था टुक्रियो भने आफू कतै पनि संलग्न नहुने बताए । तर भने- नेपाल र नेपालीका लागि जस्तोसुकै सहयोग गर्न म पछी हट्दिन ।

उम्मेद्बारी त दर्ता गराउनु भएनछ तपाईंले ?

मैले उम्मेद्बारी दिइन । अहिलेसम्म एउटा टिम भनेर बसेपछी लतारिएर जाने स्थिती रहेन । ब्यक्तित्वको आचरणको कुरा पनि हुन्छ । म तटस्थ नै बस्छु । विभाजनमा जाने अवस्था भए पछी यो संस्थामा गएर काम गर्नुको खासै औचित्य हुँदैन । संस्था गैर राजनीतिक भने पनि राजनीति हावी भएको छ । यि कुराहरु कहि कतै ‘इन्डोर्स’ त भएको छ । त्यसले पार्टीको आधिकारिक निर्णयमा त्यो घेरा भन्दा बाहिर गएर निर्णय गर्दा मेरो प्रतिष्ठाको कुरा पनि हुन्छ । त्यसैले पनि मैले आफ्नो उम्मेद्बारी दर्ता गरिन ।

संस्था टुक्रिएला जस्तो देखियो अब तपाईंको भूमिका के हुन्छ त ?

विभाजन भएर त यो संस्थाले त्यो उद्देश्य प्राप्त गर्न सक्दैन जसका लागि हामी सबै लागिरहेका थियौं । विभाजन पछी एकले अर्कोलाई हिलो छ्याप्ने भन्दा अरु केही हुन्छ जस्तो लाग्दैन मलाई । विभाजन पछी बन्ने दुबै संस्थाको अस्तित्व सकिन्छ जस्तो लाग्छ ।

तपाईं जुन टिम भनेर उम्मेद्बारी दर्ता गराउनु भएन त्यहि टिमले अधिवेशन डाकेको छ, तपाईं जाने कि नजाने ?

साथीहरुले दवाव दिने त एउटा पाटो छँदै छ । तर म चाहिँ नजाने विचार गरेको छु । अहिलेसम्मको स्थितिमा यसरी टुक्रिए पछीको अवस्थामा मलाई सहभागी हुन ईच्छा छैन ।

दुबै तिर सहभागी नहुने ?

अहिलेसम्म उम्मेदवारी मात्रा दर्ता भएको छ । मलाई अझैसम्म पनि संस्था एक हुन्छ जस्तो नै लागिरहेको छ । दुबै पक्षका साथीहरु लचिलो भएर नै संस्था जोगाउनु पर्छ र त्यो आशा मसँग अझै छ । संस्था प्रती मायाँ छ भने सहमतीको प्रयास अझै पनि गर्न सकिन्छ र त्यो चलिरहेको छ भन्ने मैले सुनेको छु ।

 त्यसो भने तपाईं कतै पनि कुनै पनि पदमा नजाने ?

गैर आवाशिय नेपाली संघ स्थापना भए देखिनै यसको उद्देश्य प्राप्तिका लागि जहिलेसुकै म पर्दा पछाडि बसेर पनि मैले गर्न सक्ने सहयोग समर्थन गरेकै हुँँ । उचित कामको लागि त्यो जारी रहन्छ । त्यसका लागि पदमै जानुपर्छ भन्ने छैन ।

संस्था विभाजनको अवस्थामा पुग्नुका पछाडि कसको गल्ती छ जस्तो लाग्छ तपाईंलाई ?

संस्था यो अवस्थामा पुग्नुमा दुबै पक्ष उत्तिकै जिम्मेवार छन् । अलिकती यो प्रतिनिधिहरुको विषयमा केही व्यक्तिहरुले आफ्नो पक्षमा पार्ने कसरत गरेका हुन । कुनै विषयमा कुनै एक पक्षले असहमती ब्यक्त गरेको छ भने त्यसलाई आइसीसीले सम्बोधन गरिदिनु पर्दथ्यो । यसको अपजस कार्यसमिती सदस्य भएको नाताले मैले पनि लिनुपर्दछ । कसैले प्रश्न गर्‍यो भने सम्बन्धित पक्षले त्यो सम्बोधन गर्नुपर्छ भन्ने मेरो बुझाई हो । त्यो गरिएन । अर्को पक्षका पनि गल्ती कमजोरी छन । तर मुख्य कुरा के हो भने यसमा दुबै पक्षले लचकता अपनाउनपर्ने थियो ।

तपाईंहरु शुरु देखी नै कुल आचार्य टिम भनेर लाग्नु भो, तर अहिले त्यो पक्षको महाधिवेशन भनेर अरु कसैले बोलायो । कुल आचार्य देखिएनन । भने पछी खेल त अरु कसैले खेलेको रहेछ ?

यसमा दुबै पक्षमा संस्थाका पूर्व अध्यक्षहरु हुनुहुन्छ । बद्रीजीको टिममा पनि जीवा दाइहरुको अलिकती ‘रुचाई’ र ‘निकटता’ भएको कुरा कतै छिपेको छैन । यता कुलजीलाई शेष दाईले समर्थन गर्नुभएको छ भन्ने हो । विधान धारा १६.१.४ अनुसार, मेरो लाटो तरिकाले बुझ्दा पनि संस्था यदि विवादमा गयो, विघटन स्थिती आयो वा विभाजनको अवस्थामा पुग्यो भने त्यो बेला संरक्षक परिषद सकृय हुन्छ र संस्था जोगाउन आवश्यक कदम चाल्न सक्छ भनेर लेखिएको छ । एउटा पक्षले उठाएका समस्याको समाधान नै नगरि जुन हिसाबले मनोनयन प्रकृया भए त्यो मुल्यांकन गर्दा विधान अनुसार नै संरक्षक परिषदको संयोजक भएका नाताले शेष दाइले अधिवेशन डाकेको हुनु पर्दछ । अरुले उचालेको भन्दा पनि संस्थाको हितको लागि गरिएको हो कि भन्ने मेरो बुझाई हो ।

शेष घलेले अधिवेशन सम्पन्न गर्नका लागि घोषणा गरेका जे जे समितिहरु छ ति समिती हेर्दा त कुल आचार्य टिमसँग सल्लाह भएको जस्तो देखिदैन त ?

मलाई जानकारी भए अनुसार टिमसँगको सल्लाहबाट नै भएको हो । सबै कुराहरु घले दाइलाई टिमका साथीहरुले प्रष्ट रुपमा भन्नु भएको छ । प्रमुख संरक्षकको हैशियतले तपाईंले संस्था जोगाउन पर्‍यो र महाधिवेशन प्रतिनिधिका विषयमा तपाईंले सम्बोधन गरिदिनु पर्‍यो भनेर हाम्रो पक्षबाट प्रत्यक्ष रुपमा अनुरोध गरिएको हो । त्यही हिसावले शेष दाई आउनु भएको हो जस्तो लाग्दछ ।

भने पछी संस्था अब टुक्रियो ?

हेर्दा त्यस्तै देखिन्छ । तर पनि निर्वाचन भएको त छैन । यो १०-१२ दिनको जुन समय छ त्यो बेलासम्म पनि संरक्षक परिषदका अग्रजहरुले धेर-थोर त्याग गर्नु भयो भने संस्था जोगिन सक्दछ । तर उहाँहरुको ब्यक्तिगत अहंकार संस्था भित्र रहिराख्यो भने टुक्रिनुको विकल्प छैन । संस्था जोगियो भने उहाँहरुको प्रतिष्ठा पनि जोगिन्छ । अहिले अहंकारी भएर जो सुकैले जे गरे पनि भोली जवाफ दिने उहाँहरुले नै हो । संस्थाको दुर्दशाको दोष सबै उहाँहरुमा नै थुपारिन्छ ।

तपाइँको प्रतिक्रिया