बिहीबार, वैशाख १३, २०८१

‘पश्चिमी सहयोगीहरूले भ्लादिमिर पुटिनको हत्या गर्न अस्वीकार गर्नु हुँदैन’ पूर्व बेलायती सेना प्रमुख

नेपालप्लस संवाददाता / बेलायत२०७८ फागुन २९ गते १:५२

रुसी राष्ट्रपती पुटीन

बेलायती एक पूर्व सेना प्रमुखले पश्चिमी सहयोगीहरूले भ्लादिमिर पुटिनको हत्यालाई अस्वीकार गर्न नहुने सन्सनीपूर्ण भनाई शनिवार एक बेलायती अखवार मार्फत् सार्वजनिक गरेका छन् ।

अफगानिस्तानमा बेलायती सेनाको नेतृत्व गर्ने कर्णेल रिचार्ड केम्पले शनिवार बेलायतको अखवार डेली मिररलाई भने: “नाटोले उहाँलाई सत्ताबाट हटाउन सबै विकल्पहरू विचार गर्नुपर्छ । यो व्यवहारिक वा वान्छनीय नहुने भएता पनि उनको ज्यानसम्म लिनुपर्छ । ”

बेलायती पूर्व सेना प्रमुख रिचार्ड केम्प । तस्विर साभार- स्क्रिन सट, डेली मिरर

रुसी राष्ट्रपतिले कम्तिमा युद्ध अपराधको आरोपको सामना गर्नुपर्ने उनको भनाइ छ ।

उनको भनाई उल्लेख गर्दै डेली मिररले लेखेको छ “सबैभन्दा राम्रो कुरा भनेको पुटिनलाई रुस वा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा अपदस्थ, गिरफ्तार र मुद्दा चलाएको हेर्न पाउनु हो ।”

“तर ती विकल्पहरू कहिल्यै सम्भव हुने छैन।”

सेवानिवृत्त सैनिक प्रमुखले डेली मिररसित भने “हत्या धेरै मानिसहरूलाई अस्वीकार्य हुन सक्छ । तर यो युद्ध अन्त्य गर्न र भविष्यमा द्वन्द्व रोक्नको लागि एक मात्र उपाय हुन सक्छ ।”

उनले थपे: “यदि यो हत्यामा बदलियो भने धेरैलाई मन नपर्ने हुनसक्छ । तर उनको जीवनको मूल्य उनले पहिले नै युक्रेन र अन्य ठाउँमा मारेका हजारौंको जीवन भन्दा ठूलो छैन र भविष्यमा पनि मार्न सक्छन् ।”

“उनी रूसी सेनाका ‘सर्वोच्च कमाण्डर इन चीफ’ हुन् जसले आक्रमणको अवैध युद्धको आदेश दिए र उनी एक वैधरुपमै लक्षित हुन् ।

“हाम्रो सरकारले दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको हत्या गर्ने योजना बनाएको थियो । सन् १९३० को दशकको उत्तरार्धमा उनलाई सन्तुष्ट पार्नुको सट्टा हटाइएको भए हामीले ७ करोड मानिसको ज्यान लिने द्वन्द्व भोग्ने थिएनौं ।”

“ओसामा बिन लादेन, इस्लामिक स्टेट प्रमुख अबु बकर अल बगदादी र इरानी रिपब्लिकन गार्ड कमाण्डर कासिम सुलेमानी सबैले पश्चिमका लागि प्रत्यक्ष धम्कीको प्रतिनिधित्व गरे । ती सबै धम्कीहरूको सामना गर्दा मारिएका थिए । पुटिनले स्थायी र घातक खतराको प्रतिनिधित्व गर्छन् जुन उनी शक्तिमा रहँदा जारि राख्ने छन् ।”

“हाम्रो प्राथमिकता उनलाई हटाउन मद्दत गर्नुपर्छ । यदि पुटिनका कुलीन वर्गहरूमा पर्याप्त दबाब ल्याइयो भने यसले दरबार विद्रोह निम्त्याउन सक्छ ।”

बेलायती पूर्व सैनिक प्रमुखको यो भनाईपछि बेलायत सरकार, युरोपेली युनियन, नाटो र रुसी सरकारका तर्फबाटपनि आधिकारिक भनाई सार्वजनिक भैसकेको छैन । तर यसले गम्भिर प्रतिक्रिया दिने आँकलन भने गर्न सकिन्छ ।

(समाचार स्रोत -द डेली मिरर)

तपाइँको प्रतिक्रिया