शनिबार, वैशाख १५, २०८१

बिघटन भनिएको एनआरएनए संरक्षक समिति फेरि वैधानिक ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन ३० गते १३:५६

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) को ८२ औं भेलाले बिघटन गरेको भनिएको संरक्षक परिषदलाई महाधिवेशन आयोजक समितिले भने बैधानिकता दिएको छ ।

एनआरएनए १० औं महाधिवेशन तयारि समितिको सूचीले त्यसको पुष्टी गरेको हो ।

एनआरएनए आयोजक समितिको शिर्षकमा अन्तर्राष्ट्रिय महाधिवेशन आयोजक समितिको सूची प्रस्तुत गरिएको छ । सोहि सूचीमा ८२ औं आइसिसी भेलाले बिघटन गरिसकेको भनिएको संरक्षक परिषदलाई सक्रिय रहेको उल्लेख गरेको हो ।

महाधिवेशन आयोजक समितिको सूचना अनुसार महाधिवेशनको अध्यक्षता एनआरएनए अध्यक्ष कुमार पन्तले गर्ने छन् । सूचनामा डा. उपेन्द्र महतोलाई संस्थापक, शेष घलेलाई प्रमुख संरक्षककै हैशियतमा राखिएको छ ।

त्यस्तै, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट र राम थापालाई संरक्षक भनेरै उल्लेख गरिएको छ ।

सोह्र जना महाधिवेशन समितिमा जमुना गुरुङ, सोमनाथ सापकोटा, यमकुमार गुरुङ (त्रिलोक), रामेश्वर शाह, टिबी कार्की, सपिला राजभण्डारी, बिश्व आदर्श पण्डित, कुल आचार्य, एसी शेर्पा र हरिबोल भण्डारी छन् ।

एनआरएनए आइसिसी ८२ औं भेलाले संरक्षक परिषद बिघटन गरेपनि महाधिवेशन तयारि समितिले मान्यता दिएको सूचनाको अंश

एनआरएनए आयोजक समितिमा उल्लेख गरिएका १६ जना मध्ये प्रमुख संरक्षक भनि उल्लेख गरिएका शेष घलेले यस अघिनै महाधिवेशन छुट्टै गर्न लागेको भन्दै महाधिवेशन आयोजक समिति र निर्वाचन समितिसमेत गठन गरिसकेको घोषणा गरेका छन् ।

यता महाधिवेशन आयोजक समितिमा प्रमुख संरक्षक र संरक्षक भन्दै पाँच जनाको नाम उल्लेख गरिएको छ भने आइतवार (मार्च १३) मा अध्यक्ष कुमार पन्तले संरक्षक समितिलाई एनआरएनए आईसिसीको ८२ औं भेलाले बिघटन गरिसकेको भन्दै आफ्नो बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

आइतवार, मार्च १३ मा अध्यक्ष कुमार पन्तद्वारा जारि बिज्ञप्तीमा भनिएको छ “अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं वैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनैपनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित छन् ।”

एनआरएनएको संरचना र विधान अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद संस्थाको सर्बोच्च निकाय मानिन्छ । एनआरएनए अन्तर्राष्ट्रिय परिषदनै सर्बोच्च निकाय भएकाले त्यसले गरेको निर्णयलाई अनादर हुनेगरि कसरि संरक्षक परिषदका सदस्यको नामलाई बैधानिकता दिनेगरि प्रकाशित गरियो भन्ने प्रश्न केहिले उठाइसकेका छन् ।

आइसिसी भेलाले संरक्षक समिति बिघटन गरेको घोषणा गर्ने, अध्यक्षले समेत आफ्नो बिज्ञप्तीमा बिघटन गरिसकेकै जनाउने तर एनआरएनए महाधिवेशन आयोजक समितिमा भने फेरि संरक्षककै रुपमा सूचना जारि गर्दा विवाद हुने देखिएको छ ।

आम गैर आवाशीय नेपालीहरुमा कारवाहि भएको हो कि होइन, कारवाहि भएको भए किन आधिकारिकरुपमै संरक्षक समितिको हैशियत पुन उल्लेख गरेर आधिकारिकता दिईयो भन्ने प्रश्न खडा गरिदिएको छ । एनआरएनए आयोजक समितिको सूचनाले आइसिसीको भेलाको निर्णयलाई बदर गरेको हो वा होइन भन्ने शंकापनि उत्पन्न गराइदिएको छ ।

तपाइँको प्रतिक्रिया