शुक्रबार, चैत १६, २०८०

सपुतको ‘पिर’ : राज्यको पहुँच बाहिरका सबैको कथा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १ गते १६:५१

गाउँमा, शहरमा र देशभरि । देशमा मात्रै होइन परदेशमा पनि सर्जक प्रकाश सपुत अहिले चर्चामा छन् । एक हप्ता अघि सार्वजनिक भएको उनको गीत ‘पिर’ ले चर्चाको आकाश छोएको छ । गीतको भिडियोमा देखाइएका केही दृष्‍यमा माओवादी आवद्द केही संगठनहरुले आपत्ति जनाएका छन । युट्युबबाट गीत हटाउन प्रकाश सपुत माथि चर्को दवाव छ ।

त्यसो त, माओवादीका अध्यक्ष प्रचन्डले गीतको विरोध गरेका छैनन । तर पनि सिंगो माओवादी पार्टी सपुतको यो गीतले तिल्मिलाएको छ । सामान्य देहाती शब्द र कमजोर छायांकन रहेको गीतको अलिकती दमदार पक्ष भनेको यसको कथा हो । माओवादी वा यस पार्टीसँग आवद्द संगठनहरुलाई आपत्ति भएको यही कथा हो जसले देशलाई तरंगित बनाएको छ ।

कुनै कारणवस रोकिएन भने अबको २ महिना पछी स्थानिय निर्वाचन हुँदैछ । जनयुद्दमा लागेका माओवादीका कार्यकर्ताहरुले विर्सिसकेको आफ्नो विगतलाई सपुतले फेरी खोस्रेका छन जसले आउँदो चुनावमा पक्कै पनि प्रभाव पार्ने छ । विरोधी दलहरुले गीतलाई भरमग्दुर प्रयोग गर्ने छन । त्यसले पनि माओवादी पुरै तिल्मिलाएको छ । गीतको कथामा जसरी युद्द पछीको समाजलाई देखाउने प्रयास गरिएको छ समाजको अवस्था त्यहाँ भन्दा अझै भयावह छ । जनयुद्दको मैदानमा माओवादी नेतृत्वले भिड्न पठाएका धेरै लडाकुहरु या त मलेशिया र खाडीमा छन या गाउँमा जनयुद्दमा आफुले विताएको समयलाई विर्सने कोशीस गरिरहेका होलान । कमरेडहरुले लुकाउन खोजेको पाटो हो यो । तर लुकाएर कहाँँ लुक्छ, समयले सार्वजनिक गर्छ यस्ता विषय । प्रकाश सपुतले यस्तै लुकाइएको विषयको एउटा इत्रुको छेउ देखाउने कोशीस गरेका छन । अब यही सानो टुक्राले धेरै भित्री तहसम्म खोतल्ने छ ।

माओवादी द्वन्दको समयलाई महान जनयुद्द भनेर प्रकाश सपुतलाई धम्क्याउने कमरेडहरु के भ्रमबाट मुक्त हुन जरुरी छ भने त्यही लडाईं, त्यही हिंसा र त्यो आतंकले देशलाई सय वर्ष पछाडि धकेलेको छ । यदी त्यसले गणतन्त्र र धर्म निरपेक्षतालाई स्थापित गर्‍यो भने पनि त्यसले नेपाली समाज, नेपाली जनता र जनयुद्द लडेकै कार्यकर्ताको जीवनमा के परिवर्तन ल्यायो ? यदी जनयुद्द सहि नै थियो भने पनि त्यो साम्यवादका लागि थियो तर यो गणतन्त्रमा मात्र कसरी सिमित भयो । यो किन भने माओबादी नेतृत्वलाई स्पष्ट थाहा थियो यो युग साम्यवादको युग होइन ।

त्यसैले ति लडाकुहरु जसले बिना कुनै उपलब्धी बन्दुक बिसाएका थिए अथवा ति बन्दुक बिसाउन वाध्य पारिएका थिए । स्टालिनको शासनकालमा सोभियत संघमा झन्डै एक करोड मानिस मरे । चीनमा माओत्सेतुङ् कम्बोडियामा पोलपोटको शासनकालमा कती मान्छेहरु अकालमा मारिए भन्ने कुरा एउटा सिंगो पुस्ताले गनेर सक्दैन । तै पनि माओवादी नेतृत्वले सरकारी फौजसँग लड्दै गरेका आफ्ना लडाकुहरुलाई त्यही सपनामा अल्झाइरहे । जुन सपनाहरुलाई दुनियाभरका मान्छेहरुले अल्पमतमा राखेका थिए । प्रकाश सपुतले आफ्नो गीतमा त्यही अल्पमतमा परेको सपनाको कथा फेरी भनेका हुन, नयाँँ केही होइन । माओवादी कार्यकर्ता उफ्रिन जरुरी छैन । न त भनिए जस्तै माओवादीको युद्द महान जनयुद्द हो न त्यसले कुनै उपलब्धि दिएको छ ।

उपलब्धिका फरक फरक परिभाषा हुनसक्छन । प्रचन्ड, बाबुराम, बादल र वैद्यहरुका लागि यि उपलब्धि हुन सक्लान । तर गोलिका छर्रा शरीरमा बोकेर हिंड्न बाध्य धेरै कार्यकर्ता र लडाकुहरुका लागि उपलब्धि भनेको शुन्य हो । सपुतले देखाएको कथा शुन्यमा बाँच्न वाध्य सबै जनाको यथार्थ झिल्को हो । ति माओबादी लडाकुहरु मात्र होइनन्, शुन्यमा बाँच्ने एक एक नेपाली हुन । राज्यको पहुँच भन्दा बाहिर रहेका सबैको कथा हो । माओवादीका अन्धभक्तहरुले धम्की दिन आवश्यक छैन ।

प्रकाश सपुतले युट्युबबाट गीत हटाउदा वित्तिकै समस्या हट्दैन । धम्कीले समस्या समाधान हुँदैनन कमरेड । भिडियोमा देखाइको देह ब्यापारमा लाग्न वाध्य एक जना लडाकुको कथाले बढी नै पोलेको छ माओवादीलाई । विकशित देशहरुमा देह ब्यापारमा लाग्ने अधिकांश महिलाहरु आफ्नै इच्छाले, आफ्नै स्विकृतिले लागेका तथ्यहरु बिभिन्न अनुसन्धानहरुले देखाएका छन । तर दक्षिण एशिया त्यसमा पनि नेपाली समाजमा आफ्नो ईच्छाले देह ब्यापारमा कोही पनि लाग्दैन । देहब्यापारमा लाग्नु पर्ने मुख्य कारण अभाव नै हो । जिन्दगी पाल्न वा आफुसँग जोडीएको कुनै अर्को जिन्दगीको सरोकारका लागी खास गरेर महिलाहरु यो पेशामा लागेका सयौं तथ्यहरु छन ।

माओवादी युद्दका एक जना नाइके बाबुराम भट्टराई भन्छन- म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु । र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?

भट्टराई अगाडि भन्छन- ‘तथ्यबाट सत्यक खोज’ मार्क्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु-महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं समाधान खोजौं । पक्कै पनि सपुतलाई धम्की दिनु भन्दा पहिले कमरेडहरुले समाधान तर्फ ध्यान दिनु पर्दछ ।

कुनै पूर्व लडाकुले आफ्नो जिन्दगी पाल्नका लागि देहब्यापारमा लागेका घटनाहरु उठान गरेर जनयुद्दको अपमान भयो, बदनाम भयो भन्ने तर्क कतिको छ । कमरेडहरु तपाईंहरुको जनयुद्द पहिल्यै बदनाम छ । सत्र हजार निर्दोष नागरिक मारिएको युद्द कसरी महान हुन्छ । सपुतले त्यही देखाएका हुन । उत्तेजित हुन जरुरी छैन । सुध्रिन जरुरी छ । समाजको उथलपुथल बुझ्न जरुरी छ ।

अभाव र गरिविका कारणले सबै महिलाहरु देह ब्यापार गर्ने निर्णयमा पुग्दैनन । यही अवस्थाका पुरुषहरु पनि चोरी, डकैती गर्ने निर्णयमा पुग्दैनन । तर पनि समाजमा देह ब्यापार गर्ने महिला पनि छन्, चोरी डकैती गर्ने पुरुष पनि छन् । त्यसैले भड्किन जरुरी छैन । प्रकाश सपुतले युट्युबबाट गीत हटाए पनि समाजबाट समस्या हट्दैन ।

तपाइँको प्रतिक्रिया