बिहीबार, वैशाख १३, २०८१

चौध वर्ष पछिपनि नवलपुरका जनतामाझ सपनाको ब्यापार गर्दै विपी पुत्र

नेपालप्लस संवाददाता / नवलपुर२०७८ चैत २ गते २०:१७

यो दुनियामा सपना मात्र एउटा यस्तो कुरा हो जसलाई हरेकले देख्न सक्छ । तर कसैले पनि स्पर्श गर्न सक्दैन । स्पर्श गर्न नसकिने तिनै सपना हामीहरुले झल्झली देखिरहेका हुन्छौं । अथवा हामीलाई सपना देखाइएको हुन्छ । हाम्रो समाज सपनामा रम्न मजा मान्दछ । किनभने हामीलाई हरेक कदममा सपनाले डोर्‍याइरहेको हुन्छ । हामी डरले रन्थनिएका छौं, सपना भएनन भने सम्भवत हामी भोली देखी नै बाँच्न छाड्नेछौं । यस्तो लाग्छ- हरेक पटक, हरेक वर्ष र वर्षौं वर्ष देखीइरहने तर छुन नसकिने तिनै सपनाको आड भरोसामा हामी बाँचिरहेका छौं । सपना भएनन भने हामी बाँच्न सक्दैनौं । बाँच्ने लालसा खतरानाक हुन्छ त्यसैले हरेक पटक हामी सपनासँग बेचिएका छौं ।

कोही कतैबाट आउँछ र सपना दिएर हामीलाई किनेर लैजान्छ । साँच्चै हामीलाई खुशी लाग्दछ, त्यसरी नयाँँ सपनाका सँग बेचिन ? हामी निकै कृतिम देखिन्छौं । सपनाले हामीलाई ढलाएको छ । त्यसैले हामीले सपनाका ब्यापारिहरुलाई तुरुन्तै विश्वास गर्छौं, पटक पटक विश्वास गर्छौं ।

अब चुनाव आउँदैछ- सपनाका ब्यापारी फेरी गाउँ पसेका छन । लामो समय पछी आफ्नो चुनावी क्षेत्र आइपुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य शशांक कोइरालाले नवलपुरको बिकासको सपना आफुले पुरा गर्न बाँकी रहेकोले चौथो पटक पनि नवलपुर क्षेत्र नम्बर एक बाट नै चुनाव लड्न लागेको घोषणा गरे । कोइरालाले नवलपुर क्षेत्र नम्बर एक बाट तीन पटक चुनाव लडेका छन । तिन पटकनै उनी विजयी पनि भए । उनका हरेक कार्यकाल नवलपुरका जनताले सायदै बिर्सेलान । केन्द्रिय स्तरको नेतालाई जिताएर पठाएका जिल्लाबासीले कुनै पनि दिन आफ्नो नेताले आफ्नो जिल्लाको बारेमा बोलेको सुनेनन । संसदका कुनै पनि बैठकमा हुने राष्ट्रिय महत्वका विषयमा कोइरालाले कहिल्यै सहभागिता जनाएनन । कतै कहिं एक शब्द बोलेनन ।

नवलपुरका जनताको मतले संबिधान सभा हुँदै संघिय संसदसम्म पुगेका कोइरालाले चौध वर्ष त्यत्तिकै खेर फाले । सपनाका कुरा छोडौं, उनले नवलपुरको विकासका एक शब्द बोलेनन । अब फेरी भन्दै छन- नवलपुरका जनताका सपना पुरा गर्न म यहि क्षेत्रबाट चौथो पटक चुनाव लड्छु । खासमा के हुन नवलपुरका जनताका सपना ? जनताले सपना देख्छन कि देख्दैनन् ?

तर एउटा कुरा जरुर हो, नवलपुरका जनताले देखेका सपनाहरु शशांक कोइरालाबाट पुरा हुँदैनन । कुनैबेला सुर्यभक्त अधिकारीले प्रतिनिधित्व गरेको क्षेत्र हो यो । उ बेला अधिकारीले जिल्लाको विकासका लागि संसदमा टेवल ठोकेको यहाँँका जनताले विर्सेका छैनन । सम्भवत, आफ्नो जिल्ला र क्षेत्रको माया भनेको त्यो हो । किनभने सुर्यभक्त अधिकारी र तिलक प्रसाद सापकोटाले ज्यानको बाजी थापेर नेपाली कांग्रेसको संगठन गरेका थिए । उनिहरु दुबै जनाको टाउकोको मुल्य तोकेको थियो पंचायत सरकारले ।

सुर्यभक्त अधिकारी र तिलक सापकोटालाई आफ्नो टाउको भन्दा नेपाली कांग्रेस संगठनको माया थियो । उनिहरु नवलपुरको माटोसँग जोडीएका थिए । त्यो माटो जहाँँ नेपाली कांग्रेसले कहिल्यै हारेन । बीपी कोइरालाले कुनै बेला भनेका थिए- हाम्रो आधार क्षेत्र भनेको गैंडाकोट हो । धेरै वर्ष यो आधार क्षेत्र नै रह्यो । चौध वर्ष अघी जव शशांक कोइरालाले संविधान सभाका लागि चुनाव लड्न नारायणीको पुल तरे नेपाली कांग्रेसको आधार क्षेत्र खल्बलियो । उनले तीन पटक चुनाव त जिते तर नेपाली कांग्रेसले भने हारिरह्यो ।

गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको आधार क्षेत्र भनिएको गैंडकोट गर्ल्याम गुर्लुम ढल्यो । त्यहाँ एमालेको विजय प्रत्याशित नै थियो । किनभने त्यो शशांक कोइरालाले नै खनेका थिए खाडल- गुट उपगुट बनाएर । त्यही गुट उपगुटको खाडलमा कांग्रेस पर्‍यो । कांग्रेसलाई त्यो खाडलबाट निस्किन वर्षौं लाग्ने छ । तर पनि कोइराला सपनाका कुरा गर्छन् । सपना कहिलेसम्म बेच्न सकिन्छ ? नेपाली कांग्रेसको कुनै इमान्दार कार्यकर्ताले इमान्दारीपूर्वक भनोस- पछील्ला चौध वर्षमा कोइराला कति पटक आफ्नो क्षेत्र आए ? कतिपटक कार्यकर्तालाई राखेर अन्तर्कृया गरे ? छैनन ।

जिल्लाका एक नेता भन्छन- कोइरालाले सपनाको ब्यापार गरिरहेका छन । तर अब सपना बाँडेर चुनाव जित्न सकिने अवस्था भने छैन । नेपाली कांग्रेसका हजारौं कार्यकर्ता हरुलाई चुनावमा पार्टीको टिकट प्राप्त गर्नु नै ठूलो कुरा हुन्छ । शशांक कोइरालालाई चाहेको क्षेत्रबाट टिकट प्राप्त गर्ने सहुलियत छ । उनले चाहे भने एकै पटक छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सक्छन । तर चुनाव जित्ने हैशियत भने सधै हुँदैन । बीपी कोइरालाको पुत्र भएका कारणले एक पटक, दुई पटक वा तीन पटका सम्म जित्न सकिएला । त्यो पनि नवलपुर एक नम्म्बर जस्तो क्षेत्रमा । सधैं चुनाव जित्नका लागि काम गर्नु पर्दछ । सपना त अहिले चटकेले पनि देखाउँछ ।

शशांकका लागि अहिले नवलपुर जटिल किन पनि छ भने कांग्रेसको संगठन नराम्रोसँग बिग्रिएको छ । कार्यकर्ताहरु निरास छन । ‘शशांक कोइरालाको चुनावी अभियानमा किन हिंड्ने ?’ भन्ने कार्यकर्तामा प्रश्न छ । अब शशांक कोइरालालाई चुनाव जिताउन हिंड्ने हरेक ब्यक्तिले तुलनात्मक रुपमा हेर्ने छ । नवलपुरबाट कोइराला चुनाव लड्न थालेपछीका उपलब्धी लेखाजोखा गर्ने छ । के पायो नवलपुरले अथवा देशले ? कोइराला देश वा क्षेत्र कहीं पनि खरो उत्रिन सकेका छैनन ।

जिल्लाका ति नेताको भनाइमा- कोइरालाले सोचे जस्तो सजिलो छैन चुनाव जित्न । कार्यकर्ता मात्र होइन मतदाता समेत सपनाको संसारबाट बाहिर आइसकेका छन । सपना बाँडेर चुनाव जितिन्न । अर्को तिर कोइरालाका कट्टर आलोचक तथा जिल्लाको राजनीतिमा गहिरो प्रभाव राख्ने महेन्द्रध्वज जीसीलाई नेपाली कांग्रेसको भर्खरै सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । अबको संसदिय निर्वाचनमा केन्द्रबाट जसले टिकट ल्याए पनि चुनाव जित्ने वा नजित्ने भन्ने कुरा जीसीको भूमिकामा निर्भर गर्दछ । अर्कोतिर जिल्ला कार्य समितिमा कोइराला पक्ष सानो समुहमा खुम्चिएको छ । बरु कोइरालाको तुलनामा विनोद चौधरी जिल्लामा सक्रिय देखिएका छन । जिल्ला अधिवेशनमा समेत चौधरिले आफ्ना उम्मेद्वारहरु जिताउन सफल भए ।

चौधरिको सक्रियता भर्खरको भने होइन । उनले पनि आगामी निर्वाचनलाई नै केन्द्रित गरेर अभियान संचलन गरिरहेका छन । उनको पनि नवलपुर एक नम्बर क्षेत्रबाट निर्वाचनमा जाने योजना रहेको एक नेताको भनाइ छ । चौधरी मात्रै होइन जिल्ला सभापति महेन्द्र ध्वज जीसी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सुर्यभक्त अधिकारीका छोरा मदनभक्त अधिकारी पनि एक नम्बर क्षेत्रका लागि टिकटका आकांक्षी देखिएका छन । यदी शशांक कोइरालाको घोषणा अनुरुप यही क्षेत्रमा पुन: आए भने मदनभक्त अधिकारी, महेन्द्रध्वज जीसी र बिनोद चौधरी एउटा कित्तामा पुग्ने छन । यदी यि तिनै जना निस्कृय भए भने कोइरालालाई चुनाव जित्न मुस्किल मात्रै होइन ‘नामुमकिन’ हुने छ । त्यसैले नवलपुरका मतदाता कमसेकम सपनाको संसारबाट बाहिर निस्किन जरुरी छ ।

तपाइँको प्रतिक्रिया