शनिबार, वैशाख १५, २०८१

दुबै पक्षको ‘एनआरएनए महाधिवेशन’ रोकी सहमतिमा गर्न प्रधानमन्त्रीलाई दवाव (पत्र सहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ३ गते २:२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई बिभाजनबाट बचाएर एकताबद्द गराउन नेपाली कांग्रेसको विदेशस्थित भात्री संगठनका कार्यकर्ताहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई लिखित पत्रसहित बुधवार दबाब दिएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई त्यसरि लिखित पत्रमार्फत् दबाब दिनेमा एनआरएनएका अभियन्तादेखि नेपाली कांग्रेसको जन वर्गिय संगठन नेपाली जनसंपर्क समितिका झण्डै सात दर्जन कार्यकर्ता, शुभचिन्तक र कार्यकर्ताहरु छन् । ति मध्ये अधिकांश नेपाली जनसंपर्क समितिका पूर्व र बर्तमान नेत्रित्वकर्ता हुन् ।

तर पत्रमा कसैकोपनि दस्तखत नभएकाले यो पत्र कति आधिकारिक हो भन्ने शंका उत्पन्न भएको छ । पत्रमा राखिएका शर्त र मागहरुमा उल्लेखित ब्यक्तिहरुको सहमति भए नभएका बारेपनि स्पष्ठ छैन ।

पत्रमा उल्लेख गरिएका माग बारे सबैमा आफ्नो सहमति नभएको नाम उल्लेख गर्न नचाहने एक एन आर एन ए अभियानताले नेपालप्लसलाई बताए । उनको भनाई छ “एकता आव्हानमा मात्र हाम्रो सहमति हो । कुनैपनि अधिबेशन रोक्नका लागि गरिएको होइन । हामी कुनैपनि समूहको हनुमन्ते कार्यकर्ता होइनौं ।”

अभियानलाई एकताबद्ध गरौं, विभाजनका लागि गरिने सबै खालका गतिविधि बन्द गरौं’ भन्ने उनीहरुको आग्रह छ ।

अभियन्ताहरुले एनआरएनएको १० औं महाधिवेशनका लागि छनौट गरिएका प्रतिनिधिका विषयमा विवाद उत्पन्न भई पछिल्लो समय प्रवासमा बस्ने लाखौं नेपालीहरुको आस्थाको केन्द्रमा रहेको संस्था विभाजित हुने र संस्थाको गरिमालाई ध्वस्त पार्ने जस्ता गतिविधि भईरहेको उल्लेख गरेका छन् ।

संस्थाको स्वार्थलाई सर्वोपरि ठानी संस्था बचाउनुपर्छ भन्ने अभियानमा सहयोग पुर्याउन उनीहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा समक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा एनआरएनएको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिविधिको जिम्मेवारी नवौं महाधिवेशनबाट निर्वाचित सिंगो कार्यसमितिले लिनुपर्ने जिकिरपनि उनीहरुको छ ।

दशौं विश्व सम्मेलन र अधिवेशन समयमा सम्पन्न गर्ने र गराउने वातावरण तय गर्न नसकेको प्रति आम गैर आवासीय नेपालीको बिचमा आत्माआलोचना गर्दै सबै पक्षलाई एकताको वातावरण तयार गर्न नेतृत्व क्रियाशील हुनुपर्ने पत्रमा उल्लेख छ ।

संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको विवादलाई समझदारीमा निराकरण गरिनुपर्ने माग गरेका चह्न् । हाल दुर्वै तर्फबाट भएका महाधिवेशन र निर्वाचनका गतिविधिलाई तत्काल रोकी वार्ता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको वातावरण निर्माण गरि महाविधेशन आयोजना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

त्यस्तैगरि, पत्रमा संस्थालाई विभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको महाधिवेशन गर्नुपर्ने र त्यसले मात्रै अहिलेको आवश्यकता संस्था बचाउने एक मात्र उपाय भएको उल्लेख छ ।

हाल सबै पक्ष संयमीत हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई विभाजन हुनबाट रोक्न सबैमा आग्रह पनि गरिएको छ ।

दबाबकर्ताहरुले प्रधानमन्त्री देउवालाई पठाएको पत्र एनआरएनए अध्यक्ष कुमार पन्त, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, नेकपा एमाले लगायतका सबै दललाई बोदार्थ दिएको उल्लेख गरेका छन् ।

तर पत्रमा नाम उल्लेखितहरुको हस्ताक्षर भने छैन । केहिले सहमति केहि बुँदामा भएको तर पत्र तयार गर्दा सहमति नभएका बुँदासमेत थप गरेर प्रधानमन्त्री देउवालाई पठाएको आशंका गरेका छन् ।

यो सहमति जुटाउन उनीहरुले पटक पटक आन्तरिकरुपमा अनलाईनका माध्यमबाट बैठक र छलफल गरेका थिए ।

(दोस्रो पटक संपादन गरी शिर्षक र केहि बुँदा भुल सुधार गरिएको छ-संपादक)

देउवालाई पठाएको भनिएको तीन पृष्ठको पत्र हेर्नुस्

तपाइँको प्रतिक्रिया