शुक्रबार, वैशाख १४, २०८१

प्रचण्ड कामरेड तपाई महान हामी कसरि प्रतिगामी ?

ददि सापकोटा२०७८ चैत ४ गते १९:१५

प्रचण्ड राजनिति मात्रै गर्दैनन् । उनी एक महान नाटककारपनि हुन् । र हुन्, दुई जिब्रे हास्य कलाकार ! उनी तत्कालै मन्दिर भत्काउने क्षमता राख्छन् । क्षणभरमै भैंसी पूजाको थिति बसाल्नपनि सक्छन् । आफूबाहेक सबैलाई शत्रु देख्न सक्ने क्षमतापनि उनैसित छ । उनी जतिसुकै क्रान्तिकारी र जस्तोसुकै पस्चगमनकारी सितपनि सहकार्य गर्न सक्छन् । उनले यस्ता किर्तिमान धेरै पटक राखेका छन् । पछिल्लो समयमा उनले कम्तिमा ६० लाख नेपाली जो प्रवाशिन बाध्य भए, बाध्य पारियो तीनलाई प्रतिगमनकारि घोषणा गरेर अर्को किर्तिमानी काम गरेका छन् ।

फागुन २४ गते (२०२२ मार्च ८ तारिख) प्रवाशी नेपालीतिर सोझ्याएर प्रचण्डले जनयुद्दका बेला भन्दा अझ तिखो तीर हाने । जुन तीरले प्रवाशका ६० लाख भन्दा बढी नेपालीलाई अपमान मात्रै गरेको छैन । प्रचण्डको दम्भ, अबुझ, अदूरदर्शिता, परपिडकपन, अत्याचारी, सामान्ति सोच, अहंकार त देखाएकै छ, आम प्रवाशीहरुलाई ठाडो चुनौतिपनि दिएको छ ।

फागुन २४ गते गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिको तर्फबाट जारी गरिएको पत्रले साँच्चै प्रचण्ड र यो पार्टीप्रति एकैपटक घृणा र आक्रोशको ज्वाला दन्काउँछ । दर्जनौं सुरक्षाकर्मीको सुरक्षामा निकै बचेर हिंड्ने गरेका प्रचण्डको बैचारिक कठालो समातेर सोध्न मन लाग्छ, ‘यो देशमा संविधान सभाको निर्वाचन भएपछि बनेका एक दर्जन पटकका सरकारमा तिम्रो पार्टी कहिल्यै बाहिर बस्न सकेन । हरेक पटक सरकारमा कुनै न कुनै तिकडमले गएकै छ । यि हरेक पटकका सरकारले देशलाई खोक्रो पारेकै छ । भ्रस्टाचार, हत्या हिंसा, बलात्कार र समग्र देशको अधोगतिको कारक तिम्रो पार्टी हो कि प्रवाशका नेपाली ?’

प्रचण्ड कामरेड, अलिकति पछाडि फर्केर हेर, २०५२ सालमा जनयुद्द शुरु हुनु अघि प्रवाश पुगेका तिम्रो भाषाका प्रतिगमनकारीको संख्या अहिलेको एक चौथाईपनि थिएन । तिम्रो जनयुद्दको राप, ताप, तुवाँलो, कुहिरो र धुवाँको चपेटोले धेरै नेपाली बिदेश जान बाध्य भए । भलै, यसको एकल कारण जनयुद्द हो भन्न खोजेको होइन ।

सडक भत्किए । पुलेपुलेसा ढालिए । वन कार्यालयहरुमा आगो झोसियो । वडा कार्यालयहरु भताभुंग भए । स्कूलमा आगो दन्कियो । जबर्जस्त माओवादीमा नलाग्ने धेरैका पिंडौला ठुन्क्याइयो । शारिरिक यातनाका अनेक स्रिंखला रचिए । एक एक खुलाउनु परेन । राज्यले माओवादीबाट सास्ति भोगेकालाई झनै पराई देख्यो । शत्रु बनायो । न घरमा सुरक्षा, न गाउँमा शान्ति । न कोखिलामा किताब न पढेकालाई रोजगार । धेरै नेपाली कामरेडकै ‘महान पार्टी’को कारणले बिदेशिन बाध्य भए ।

र नक्कली कम्युनिष्ट नेताको ध्यान पुगोस्, ति प्रत्येक पटक प्रवाशिएका नेपालीले एकैसाथ दुई वटा छाप बोकेर भासिएका छन् । एउटा नेपाल, नेपालीको स्वच्क्ष भावना, आफ्नो पन, गौरव र दायित्व । यो संझिंदा नेपालीहरु गौरव गर्छन् । अर्को, तपाई जस्तै नाटककार, अदुरदर्शी, नितिहिन, दिशाहिन र असक्षम नेता प्रतिको बितृणा । यस्तो नेता जसलाई अझैपनि नागरिकमा घृणा, अपहेलना र हेप्ने प्रवृत्तीको विकास गरेर अझै पुगेको छैन । हो यो संझिंदा आक्रोशको ज्वालामुखि दन्किन्छ ।

विमानस्थलबाट ति हरेक नेपाली देशको माटो संझेर जति भक्कानिन्छ तपाई जस्ता असफल नेता देखेर उत्तिनै आक्रोशित हुन्छ । भित्र भित्रै पोलिएको हुन्छ । पिल्सिएको हुन्छ । देशभित्र औषधीमुलो नपाएको दुख, जनयुद्दका नाममा तपाईले कलम कापी थुतेर जनवादी शिक्षाको प्रलोभनमा पढ्न नदिएको पीडा । साम्यवाद ल्याउन भन्दै गुलियो चखाएर काँध काँधमा बन्दुक बोक्दा बसेको डाम । जनवादी गीत गाउँदै स्कूल बन्द गराएर नेपाललाई स्वर्ग बनाउने भन्दै बाँडेको सपना ।

देशभित्रबाट लखेटिनु र परदेशिन बाध्य पारिनुका एक्ला खेलाडी प्रचण्ड पक्कै होइनन् । तर प्रमुख खेलाडी मध्ये एक पक्कै हुन् । देशभित्र रोजगारी र घर समस्या टार्ने कुनै चर नभेटिएपछि धेरै नेपाली बिदेशका गल्ली गल्लीमा पुगेका छन् । बिदेशका कुनाकुनामा पुगेका ति नेपाली रातदिन श्रमको काम गर्छन् । तिनले आफ्नो परिवार पाल्छन् । सुका मोहर राज्यलाई करपनि तिर्छन् । र तिनै प्रवाशी नेपालीको रेमिटेन्सले प्रचण्ड कामरेडलाई महलमा बस्न पुगेको छ । तिनै नेपालीको पसिनामा साटिएको रकमले प्रचण्ड कामरेडका दर्जन भन्दाबढी सुरक्षाकर्मीबिच घेरिएर हिंड्न पुगेको छ । कामरेडका मन्त्रीहरु तिनै प्रवाशमा दुख पाएका नेपालीको रेमिटेन्सले सिंहदरमा भत्ता पड्काउँछन् र लाज नमानी नेपालको झण्डा हल्लाउँदै हिंड्छन् । तैपनि कामरेड प्रवाशीहरु तपाईका प्रतिगामी ? तपाईका अशल मित्र बन्न अब के गर्नुपर्‍यो प्रवाशी नेपालीले ?

साँच्चै तपाई जस्तै बिभेदकारी, दम्भी, नाटककार, प्रतिशोधकारी हुने हो, बल र दम्भ, हतियार र शक्तिका कुरा गर्ने हो भने तपाइकै कारणले परदेशिएका नेपालीले हात हातमा बन्दुक बोकेर तपाईलाई सोध्नु पर्ने हो- कामरेड हिजोका बाचा खै ? हामीलाई यति धेरै बाचा दिएर किन हाम्रो भविष्य डामाडोल बनाउनुभयो ? मेरो छोरो शहिद तपाईका सन्ताननै सरकारमा बिराजमान किन ? मैले सिटामोल नपाउने तपाईहरुलाई मलेशिया र सिंगापुरमा उपचार कसरि ? मेरि बुहारी अलपत्र तपाईकी मन्त्री किन ? तर ति नेपालीले तपाईलाई यो राज्यमा हालिमुहाली गर्न सहज बाटो बनाइदिएर हिंडेका छन् । आफैं बाटो लागेका छन् । तपाईलाई राज्यसत्तामा मोज गर्ने सहज बाटो छोडिदिएर हिंड्दापनि प्रवाशी नेपाली अझैपनि तपाईका प्रतिगामी ?

हिजो माओवादी गाउँ गाउँ गयो र बन्दुक समायो । स्कूल स्कूल गयो र किताब, कलम कापी फ्याँकेर माओवादीमा लाम लाग्यो । पढाउँदै गरेको डस्ट मिल्कायो र वर्षौं देखिको जागिर छोडेर प्रचण्डपथमा लाग्यो । लगाउँदै गरेको कुनियोबाट फुत्रुक्क झरेर ऊ माओवादी मोर्चामा लाग्यो । पढ्दा पढ्दैका कापी कलम फ्याँकेर उसले प्रचण्डपथको गीत गायो । तर जब माओवादी सत्तामा आयो, चप्प्ल पड्काउनेहरु सुनका बाला पड्काउने भए । झुपडीमा बास खोज्नेहरु पाँच तारे होटेलका शेयरधनी बने । जनतासित मकै र मोहि सँगै खाएर हिंडेकाहरु सुरक्षाकर्मीको लस्करमा रमाउने पुगे । बिचौलिया, धनाढ्य, भ्रस्ट, नितिहिन र नैतिकहिनसम्म बने । कहिं कतै केहि नलागेर रुँदै रुँदै बिदेशका गल्लीमा आँसु र पाखुरि साटेर श्रम गर्न गएका नेपाली कसरि आज प्रचण्डका प्रतिगामी भए ?

साँच्चै भन्ने हो भने जनताकालागि शत्रु र प्रतिगामी को हुनुपर्ने हो ? तपाईको जस्तै प्रतिशोधकारी दिमाखले सोच्ने हो भने त जनतालाई साम्यवाद, जनवाद, जनवादी शिक्षा, गाँस, बास, कपासको ग्यारेन्टी र स्विजरल्याण्ड जस्तो देश बनाउँछु भनेर एक दशक देशमा अशान्ति मच्चाउने पथकर्ता हुनुपर्ने होइन ?

प्रवाशी नेपालीहरु कसरि प्रचण्डका प्रतिगामी भए ? प्रचण्डलाई संसद प्रवेशमा रोक लगाए ? तीन चार महिनामा सरकार बदल्न भिलेनको भूमिका खेल्ने प्रचण्डमाथि भाँजो हाले ? स्वास्थ्य जाँचका नाममा सिंगापुर मलेशिया जानबाट रोके ? छोरी, बुहारी, ज्वाई, भान्जालाई पद र पावरमा जानबाट रोके ? प्रवाशी नेपालीहरु प्रचण्डका किन र कसरि दरिए प्रतिगामी ?

कामरेड तपाईलाई लाज लाग्दैन ? लगभग एक दर्जन पटक सरकारमा जाँदा तपाईले के गर्नुभयो ? अरु त छोड्नुस्, तपाईलेनै आस्वाशन दिएर लडाईमा लाम लगाएकाहरु जो घाइते भए केहि गर्नुभयो ? देशको स्वास्थ्य, शिक्षा, कृषि कुनै एक क्षेत्र सुधार्नुभयो ?

कम्तिमा परदेशिएका नेपालीले बाढी, पहिरो, भूकम्प जाँदा संझि संझि सामाजिक काम त गरेका छन् । तपाई पो सिंगापुर र मलेशिया जानुहुन्छ उपचारका लागि । कोरोना संक्रमणका बेला उपचार नपाउने धेरै नेपालीका लागि यहि प्रवाशीको संस्थाले निकै सहयोग गरेको हो नि । कम्तिमा तपाईको सरकारले गर्नुपर्ने काम प्रवाशि नेपालीहरुले थोरै भएपनि गरिदिएका छन् । आफ्नो देशको माटो छामेको, हावा सुँघेको र पानी पिएको ऋण र गुन भुलेका छैनन् । र अझैपनि भुल्दैनन् ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए) रहर, कहर, बाध्यताले परदेशिएका नेपालीको सानो चौतारी हो । तपाईहरुकै कारण खेदिएका, लघारिएका दुखि नेपालीको छानोपनि हो । यो चौतारीमा दशैं र तिहारमा आमा बाउ, दिदीबहिनि संझिंदै भक्कानिहरुले दुखेसो बिसाउँछन् । भाईलाई पढाउन नसकेको र आमाको उपचार गराउन नपाएको पीडाको थैलीपनि केहिबेर बिसाउँछन् । माओवादीले लेखेटेका, पिडा दिएका र प्रहरीको यातना झेलेकाले सम्झि सम्झि बेदना सुनाउने थलो हो । स्वदेशमा बिसाउन नपाएको भारी, बोझ र सास्ति, हाँसो र खुशि सबैको साझा संगम हो यो । यो हाम्रो घर हो । हिजो जनयुद्दका कालमा झैं यो घरमा बसेकाको मन मनमा, आत्म आत्ममा फेरि आगो झोस्ने अधिकार तपाईलाइ छैन । हाम्रो आत्मसम्मानमा सुइरो रोप्ने नैतिकता तपाईलाई छैन । प्रवाशी नेपालीलाई हेप्ने, तिनको आत्मसम्मानमा चोट पुर्‍याउने, शत्रुवत ब्यवहार गर्ने, हेप्ने काम असल नेताले गर्छ भनेर चिताउनपनि नपर्नुपर्ने हो । तर तपाई त्यो कोटीको नेतामा सायद पर्नुहुन्न । त्यो हैशियत तपाईमा देखिएन ।

कमरेड सोच्नुस्, तपाईका योगदानपनि होलान् । तर तपाईले धेरै सास्ति दिनुभयो । धेरै झुटा बाचा र आस्वाशन बाँड्नुभयो । अहिंसा, घृणा, प्रतिशोध, आतंक, असुरक्षाको भावना धेरै भयो । त्यो प्रत्यक्ष भोगेर आएका नेपाली फेरि त्यसैको खोजिमा छैनन् । उनीहरुलाई कम्तिमा प्रदेशका गल्लीमा त स्वतन्त्र छोडिदिनुस् । पाखुरा घोटाउन दिनुस् र तपाई आफ्नै शासन सत्ता बलियो बनाउनुस् । त्यहिं चलखेल गर्नुस् । त्यहिं लड्नुस् । छ छ महिनामा सरकार बनाउनुस् र ढाल्नुस् । कुन कुन पार्टीसित मिलेर सरकार बनाउने हो बनाउनुस् । तर कृपया हामी परदेशमा पसिना चुहाउनेलाई कम्तिमा नहेप्नुस् । तपाईले देश बनाउनुहोला, समाज बन्ला भन्ने आशा त तपाईका केहि सिमित अन्धभक्त बाहेकले पत्याएकोपनि छैन होला । कम्तिमा घृणा फैलाउने, हामीलाई हेप्ने नगरिदिनुस् ! प्रवाशी नेपालीहरुको बिन्ति छ ! यत्ति गरीदिनुभयो भनेपनि तपाईको योगदान ‘महान’ ठहरिने छ ।

तपाइँको प्रतिक्रिया