बिहीबार, वैशाख ६, २०८१

रुस-युक्रेन मामिलाबारे पुटीनसित माख्रों र सीसित बाईडेनको वार्ता

नेपालप्लस संवाददाता२०७८ चैत ५ गते ०:०७

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले शुक्रवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो फोन वार्ता गरेका छन् । वार्तामा युक्रेनको सहर मारिओपोलको गम्भिर अवस्थालाई लिएर आफू अत्यन्त चिन्तित भएको पुटीनलाई बताएको भन्दै फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपती सी जिनपिङसँग कुरा गरेका थिए । बाइडेनले सीलाई रुसमाथि पश्चिमी दबाबमा सामेल हुन मनाउने उद्देश्य राखेको ह्वाइट हाउसले उल्लेख गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमण चार हप्ता पुग्दा आफ्नो आक्रामकतामा विस्तार गरेका बेला यो वार्ता भएको हो ।

फ्रान्सेली राष्ट्रपति माख्रोंले रुसका राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्ताका क्रममा मारिओपोलमा नाकाबन्दी र मानवीय पहुँच हटाउन र युक्रेनमा युद्धविरामको तत्काल सम्मान गर्न आग्रह गरेको माख्रोंको कार्यलयले उल्लेख गरेको छ ।

फ्रंस २४ न्युजका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तामा बेइजिङ र वाशिङटनले विश्व शान्तिका लागि आफ्नो काँधमा जिम्मेवारी लिनुपर्ने बताएको चिनियाँ सरकारी टिभीले रिपोर्ट गरेको छ ।

युक्रेनी मानवअधिकार ब्यक्तित्व ओम्बड्सवुमन ल्युडमिला डेनिसोभाले शुक्रवार घेराबन्दीमा परेको सहर मारिओपोलको एक थिएटरको भग्नावशेषबाट हालसम्म १३० जनालाई उद्धार गरिएको र युक्रेनी नागरिकले युद्धबाट आश्रय लिएको भवनमा बिहिवार शक्तिशाली रुसी हवाई हमला मार्फत् आक्रमण गरेको बताएकी छन् ।

रुसी क्षेप्यास्त्रले पश्चिमी युक्रेनी सहर लिभिभको विमानस्थलनजिकै रहेको विमान मर्मत संयन्त्रमा शुक्रवार प्रहार गरेको मेयरले बताए ।

पूर्वी भागमा रहेको युक्रेनको दोस्रो ठूलो सहर खार्किभ र डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्कमा गोलाबारीसँगै रुसी बमबारी बढेको रिपोर्टमा उल्लेख छ ।

कीभ सहरका अधिकारीहरूले शुक्रबार युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि राजधानीमा २२२ जनाको मृत्यु भएको बताएका छन् ।

बेलायतको प्रसारण नियामक अफकमले शुक्रबार रुसको राज्यद्वारा आर्थिक सहयोगप्राप्त टेलिभिजन च्यानल आरटीको इजाजतपत्र रद्द गर्‍यो ।

संयुक्त राष्टसंघको मानव अधिकार उच्च आयोग (युएनएचसिआर) ले शुक्रवार फर्वरी २४ मा युद्ध सुरु भएदेखि तीन लाख २५ हजार भन्दा बढी युक्रेनीहरू सीमा पारी भागेका छन् । ति मध्ये २ लाख भन्दा बढीले पोल्याण्डको सीमा पार गरेका थिए । संयुक्त राष्ट्र बाल एजेन्सीले भागेका मध्ये आधा वालवालिका रहेको बताएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक