शनिबार, वैशाख ८, २०८१

घलेद्वारा आयोजित ‘महाधिवेशन’ को यस्तो छ तयारि

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ५ गते २३:३१

घले पक्षको भेला आयोजक समितिका केहि सदस्य शेष घले र कुल आचार्यसहित । फोटो स्रोत-https://nrnaagm.com/

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेद्वारा आव्हान गरिएको महाधिवेशन नामको भेला तयारिमा तिब्रता दिएका छन् । २२ देखि २५ मार्चमा आव्हान गरिएको भेलाका लागि दम्पत्तीनै काठमाडौं बसेर एकछत्र खटिरहेका उनीहरुले यो भेलालाई महाधिवेशनको रुप दिन भरमग्दुर कोसिस गरिरहेका छन् ।

बाहिरबाट झट्ट हेर्दा प्रतिनिधि र समर्थकहरुको संख्या बढी देखाउन भनिएपनि भेलाको मुख्य चुनौतिको विषय फरक छ- कार्यक्रमको प्रमुख अतिथि ।

उनीहरुले यसलाई महाधिवेशनकै रुप दिन प्रधानमन्त्री शेर बहादुर देउवालाईनै प्रमुख अतिथिका रुपमा उभ्याउन खोजिरहेका छन् । प्रधानमन्त्रीनै प्रमुख अतिथि भएमा त्यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय ध्यान तान्न सक्ने, निम्तालुहरुको आकर्षण बढ्ने, मेडियाहरुले बढी प्राथमिकता दिने, एनआरएनहरुले पनि विशेष ध्यान दिने र आफ्नो पक्षको बलियो पहुँच देखिने ठानेका छन् । प्रधानमन्त्री प्रमुख अतिथि हुँदा मेडिया कभरेज राम्रो हुने उनीहरुको बुझाई छ ।

प्रधानमन्त्रीनै आएर उद्घाटन गरिदिएपछि त्यसले अन्य दलका कार्यकर्ता, राजनितिक पार्टी, संघसंस्थामा प्रभाव पार्ने मात्रै होइन कि प्रधानमन्त्रीले यहि समुहलाई मान्यता दिएको संकेतकारुपमा समेत बुझिने ठानेका छन् । त्यसैलेपनि उनीहरु प्रधानमन्त्रीलाईनै प्रमुख अतिथि बनाउन कुनैपनि मूल्य चुकाउने पक्षमा छन् ।

“अहिलेसम्मको स्थिति हेर्दा प्रधानमन्त्री प्रमुख अतिथि बन्ने लगभग पक्का जस्तै छ । तैपनि नेपालका नेता र राजनितिक पार्टी, अवस्थाको के भर ? फेरि केहि भएर बदलिनपनि सक्छ’ युरोपबाट घले पक्षको भेलामा काठमाडौं पुगेका एक अभियन्ताले नेपालप्लसलाई भने ।

शुरुदेखिनै देउवा पत्नी, परराष्ट्र मन्त्री डा. नारायण खड्का, कांग्रेस नेता पूर्ण बहादुर खड्का कुल आचार्यको पक्षमा खुलेर लागेकाले पनि प्रधानमन्त्री प्रमुख अतिथि बन्ने आँकलन उनीहरुको छ ।

तर एनआरएनएको विवाद मिलाउन र पदमा सहमति गराउनकालागि अन्तिम समयसम्म वार्तामा रहेका कांग्रेस युवा नेता गगन थापा र पूर्ण बहादुर खड्काले वार्तामा शेष घलेलाई सामेल नगराएकाले घलेप्रति उनीहरुले पार्टीगतरुपमा फाईदा नहुने आँकलन गरेका छन् । पछिल्लो वार्तामा घलेलाई सामेल नगराएकोलेपनि केहिको भनाईमा घलेद्वारा आयोजित र संस्थापन पक्ष दुबैको कार्यक्रममा प्रधानमन्त्री जान नहुने सल्लाह दिएका छन् ।

कांग्रेसका केहि नेता एनआरएनएको विवादमा कांग्रेस फसेकाले थप विवादमा कांग्रेसलाई नफसाउन सल्लाह दिईरहेका छन् । अहिलेसम्मको विवादले कांग्रेसलाई जति फसायो भेलामा प्रधानमन्त्रीनै गएभने सयौं गुणा बढी फस्ने भनाई कांग्रेस कार्यकर्ताको छ । उनीहरुले प्रवाशमा कांग्रेसको संगठन झन बिभाजित हुने र मुलत देउवालाई चर्को मूल्य पर्ने चेतावनीसमेत दिएका छन् ।

नेपाली कांग्रेसकै समर्थक रबीना थापा एनआरएनएको मूलधारमै रहेर अध्यक्षमै उम्मेदवार बनेको र अन्य महासचिव, सचिव, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका पदमापनि कांग्रेस समर्थककै बहुमत उम्मेदवार रहेकाले घलेले आयोजना गरेको भेलामा कांग्रेसका केहि समर्थक पुग्दैमा त्यसलाई कांग्रेसको सहभागिता भन्नै नहुने तर्क नेपाली जनसंपर्क समितिका पूर्व कार्यकर्ता कृष्ण लामिछाने, प्रमोद सिटौला लगायतका दर्जनौंले सार्वजनिक कार्यक्रममै पटक पटक राख्दै आएका हुन् । कांग्रेसको सानो पक्षलाई समर्थन गरेर जान सहज नभएको भनाई कांग्रेस कार्यकर्ताकै छ ।

नेपाली कांग्रेसको प्रवाश संगठन नेपाली जनसंपर्क समितिका कार्यकर्ताहरुको अहिले आफू निकट नेता भेट्ने, फोन र लिखित खबर छोडेर दबाब दिने क्रम तिब्र छ । मूलधारतिरै रहेका कांग्रेस कार्यकर्ता कुनैपनि हालतमा प्रधानमन्त्री प्रमुख अतिथिका रुपमा शेष घले पक्षको भेलामा जान नहुने पक्षमा छन् । कांग्रेसकै अन्य नेतापनि प्रधानमन्त्री थप विवादमा आउन नहुने पक्षमा लबिङ गरिरहेका छन् ।

उता नेकपा एमाले पक्षले भने यहि मौका कुरेर बसिरहेको छ । एनआरएनएलाई दुख दिएको, बिदेशमा दुखजिलो गरेर बसेका प्रवाशी नेपालीलाई भाँडेको, सताएको, निर्वाचन बिथोलेको भन्दै एमाले अध्यक्ष केपी ओलीलेनै चुनौति दिएका थिए ‘बिदेशमा दुखजिलो गरेर खाएका नेपालीलाई किन दुख दिने ? बिदेशमा मिलेर बसेका नेपालीको निर्वाचन किन भाँड्ने ? सक्छौ भने मसित आउ चुनाव लड्न, एमालेसित चुनाव लडेर देखाउ ।”

केपी ओलीको यहि सार्वजनिक भनाईपछि नेपाली कांग्रेस एनआरएनको विषयमा थप विवादित बनेको हो । देशका राष्ट्रिय दलमा एनआरएनएको विवाद घुसेको हो र राष्ट्रिय चासो बनेको हो । त्यसमा परराष्ट्र मन्त्रालयको निर्वाचन रोक्नु भन्ने ठाडो निर्देशनले काम गरिरहेकै थियो ।

अहिले एमाले लगायतका अन्य दललेपनि एनआरएनएलाई नेपाली कांग्रेसले धेरै दुख दिएको, भाँडेको भन्दै गुनासो गरिरहेका छन् । खासगरि एमालेले यसलाई आगामी निर्वाचनमा मुद्दा बनाउन खोजिरहेको छ । एनआरएनएलाई थप भाँड्ने र विधान बिपरित काम गरेर दुख दिएमा एमाले पक्षबाटपनि सार्वजनिक प्रतिकार गरिने आश्वाशन दिएका छन् ।

अझ रोचक पक्ष के छ भने यदि कांग्रेसले एनआरएनएको मामिलामा अझै चलखेल गरेमा यो मुद्दालाई संसदमै प्रवेश गराउने पक्षमापनि एमालेका केहि नेता छन् । यसो गर्दा प्रवाशमा रहेका धेरै नेपालीको आफन्त र परिवारको समर्थनले स्थानिय निर्वाचनमा अर्थ राख्ने बुझाइ एमाले बृत्तको छ ।

तर घले पक्षकाहरुको भनाई अलग छ । एनआरएनएको विवाद परराष्ट्र मन्त्रालयमा पुगेपछि अकस्मात अति निकट हुन पुगेका देउवा पत्नी आरजु र घले पत्नी जमुनाबिचको निकट संवन्धलेपनि प्रधानमन्त्री देउवा प्रमुख अतिथि बन्ने भनाई केहिको छ । प्रधानमन्त्री देउवाले लण्डन आएकै बेला खुलेर कुल आचार्यलाई जिताउन आव्हान गरेकालेपनि देउवा उपस्थित हुने आशामा घले पक्षका छन् ।

त्यसैगरि, उनीहरुले नेकपा (एमाले), नेकपा (समाजवादी), नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलका प्रभावशाली नेतापनि उतार्ने कोसिस गरिरहेका छन् । एनआरएनएको विवाद धेरै छताछुल्ला भएकाले प्रभावशाली नेताहरु जाने स्थिति भने उति सहज देखिन्न ।

एनआरएनए भनेकै उपेन्द्र महतो जसरि बुझेका नेता र नेपालका प्रभावशाली क्षेत्रले पत्याईहाल्ने स्थिति छैन भन्ने बुझाइमा संस्थापन पक्ष छ । एनआरएनएको परराष्ट्र देखिको विवाद लगभग सबै दलका नेताकहाँ पुगिसकेको छ । त्यसैले घले पक्षको भेलामा प्रभावशाली नेताहरुको उपस्थिति उति सहज नदेखिने आँकल संस्थापन पक्षले गरेको हो ।

तर उता शेष घलेलाई केहि ब्यक्तिहरुले ‘सबै ठिक हुन्छ । सबै आउँछन्’ भनेर आश्वाशनपनि बाँडिरहेका छन् । र नेपालका दल र नेताको कतिखेर कुन मानसिकता बदलिन्छ, कुन स्वार्थले काम गर्छ भन्न सकिन्न ।

घले पक्षको तयारि

शुक्रवार अबेरसम्म र शनिवार पनि सहमतिकालागि वार्तामा रहेका कुल आचार्य शनिवारनै शेष घले पक्षको भेला आयोजक समिति, समर्थकको भिडमा देखिए । यस अघि सार्वजनिक रुपमा भने देखा नपरेका उनी शेष घले पक्षको ‘महाधिवेशन’ तयारि समितिको सामुहिक तस्विरमा देखा परे । यसबाट उनीहरु माहधिवेशनकै लागि अन्तिम तयारिमा जुटेको बुझियो ।

भेलाकालागि उनीहरुले प्रमुख अतिथि पछि कार्यकर्ता जम्मा पार्न प्रमुख ध्यान केन्द्रित गरेका छन् । विश्वभरिका एनआरएनहरुलाई ‘नेपाल आउनुस्’ भन्ने निम्तो दिईरहेका छन् । शेष घले आफैंलेपनि आफ्नो सन्देशमा त्यहि निम्तो दिएका छन् । केहि भित्रि ब्यक्तिबाट विमान टिकटको ‘अफर’ पनि आइरहेको छ । तर त्यो विमानको टिकट कसले ब्यहोर्छ भन्ने चाहिं खुलेर कसैले बताउँदैन । यस्ता ‘अफर’ अघिल्ला निर्वाचनमापनि हुने गरेकै हो ।

महाधिवेशनका नाममा गरिने यो भेलामा केहि देशबाट कार्यकर्ता, समर्थक उतार्ने विमाननै चार्टर्ड गर्न लागिएको हल्लापनि ब्यापक छ । कम्तिमा एक हजार सदस्य उतार्ने लक्ष्य रहेको घले पक्षका केहिले नेपालप्लससितको सम्पर्कमा बताएका छन् । उनीहरुले सार्वजनिक गरेको सूचना र सामाजिक सन्जालमा राखिएका आग्रह हेर्दापनि एनआरएनलाई काठमाडौं उतार्न निकै प्राथमिकता दिएको बुझिन्छ ।

घले समुहले एनआरएनएको दशौं महाधिवेशन भनेर सामुहिक कार्यक्रम वा मुलधारको एनआरएनएको कार्यक्रम जस्तै गरि प्रचार गर्न खोजेका छन् । तर उनीहरुले दशौं महाधिवेशन भनेपनि एनआरएनएको मुल साईट, पेज वा सूचनामा उनीहरुको पहुँच नभएरै होला छुट्टै पेज खोलेका छन् ।

घले पक्षले निर्वाचनलाई लक्षित गरेर खोलेको https://nrnaagm.com/ मा खासै सूचना भेटिंदैन । हालसम्म उनीहरुले यो साईटमा शेष घलेको तस्विरसहितको सन्देश, निर्वाचन कमिटीको सूची र निर्वाचन अनुगमन समितिको नामावली राखेका छन् । यहि भेलालाई लक्षित गरेर उनीहरुले एउटा फेसबूक पेजपनि खोलेका छन् ।

घलेले आफ्नो अपिलमा भनेका छन् “गत २ मार्च २०२२ मा बसेको संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले दिएको म्यान्डेट र संघको विधान २००३ (संशोधन सहित २०२१) को दफा १६।१।४ ले दिएको अधिकार प्रयोग गरी मैले काठमाडौँमा यहि २२-२५ मार्चमा संघको दशौँ महाधिवेशन बोलाएको छु। संघलाई एकजुट बनाउन र नयाँ दिशा तथा गति दिन उक्त महाधिवेशनमा सक्रिय रुपमा सहभागी भै दिनु हुन म सबै साथीहरुलाई हार्दिक अपिल गर्दछु।”

घले पक्षको निर्वाचन अनुगमन समितिका सदस्यहरुमा दिल गुरुङ, हिकमत थापा, बिश्व आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक