शनिबार, वैशाख १५, २०८१

आसेपासेका कुरा सुनेर ६० लाख नेपालीको संस्था चलाउने ?

डा. हेमराज शर्मा / बेलायत२०७८ चैत ८ गते ०:५०

म २००५ मा एनआरएनए जापानबाट एनआरएन अभियानमा प्रवेश गरेको हुँ। त्यतिखेर उपेन्द्र महतो, जीवा लामिछाने, भिम उदास, राम थापा लगायत थुप्रै अग्रजहरु जानुभएको थियो । उहाँहरुले उत्प्रेरणा गरेरनै एनआरएनए जापानको महासचिव हुँदै अहिलेसम्मको यात्रामा अनवरतरुपम आएको छु ।

एनआरएनएकै ईतिहासमा, विश्वभरिमै पहिलो चोटी हामीले फेस भेरिफिकेशनबाट भोटिङ गर्दै छौं । हाम्रो परिक्षण मतदान हिजो मात्रै सम्पन्न भएको छ । एकदमै सजिलो छ । आफ्नो कम्प्युटर, मोबाईलबाट आफ्नो मत दिन सक्नुहुने छ । तपाईहरु सदस्य बन्दा जुन ईमेल दिनुभएको छ त्यो ईमेलमा एउटा लिन्क आउँछ । लिन्कमा क्लिक गर्नुभयो भने शुरुमा फेस ‘भेरिफिकेसन प्रोसेस’मा जानुपर्ने हुन्छ । त्यसमा सदस्य बन्दाको फोटो र अहिले मतदान भेरिफिकेसनकालागि पठाएको फोटो मिल्यो भने भेरिफिकेसन हुन्छ । त्यसपछि भित्र गएर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गरेर ‘सबमिट’ (सदर) गनुभयो भने दुई तीन मिनेटमै मतदानको काम सकिन्छ ।

एनआरएनएलाई साँच्चिकै परिवर्तन गर्ने हो भने यो पद्दतीको आवश्यकता छ । सामान्य ईमेलबाट गर्दा युके, जापान, अष्ट्रेलिया, अमेरिकामा जुन समस्या देखियो त्यस्तो खालको समस्या यसबाट हुँदैन ।

त्यति मात्रै होइन, हिजो हामी सन् २०१९ मा भोट हाल्नकोलागि काठमाडौं जानुपर्ने परिस्थिति थियो । विमानको टिकट लिएर, काम छोडेर, दुई सय डलर तिरेर । होटेलमा बस्नुपर्ने बाध्यता थियो । चार, पाँच घण्टा लाईन लागेर रजिस्ट्रेसन गर्नुपर्थ्यो । ठेलमठेल गरेर बस्नुपर्थ्यो । गएको पटक दुई चोटी लाईन लाग्नुभयो । त्यो परिस्थिति अब रहने छैन । तपाईहरुलाई संस्था कसरि चलाउने, कसलाई नेत्रित्व दिने र जुन एनसिसीएमा जुन तपाईहरुले काम गर्नुभएको छ त्यसलाई प्रविधिको हिसाबले हामीले सुनिस्चित गरेका छौं । विधानको हिसाबले बिगतमा काम गारिसकेका पुराना मानिसहरुकालागि गएको अधिवेशनबाट ६५ प्रतिशतलाई सुनिस्चित गरिएको छ । त्यो भनेको के हो भने एनआरएनएमा दुख गरेका, ज्यानको प्रभाव नगरिकन साईकलको पछाडी खाना राखेर साथीहरुलाई पुर्‍याएका छन् । तपाईहरुलाई सशक्तिकरण गरेका छौं हामीले । अहिलेको टाउको दुखाई र झगडा यहिनै हो ।

यो संस्थालाई सिमित मान्छेहरुको, हुनेखानेको, एउटा राजनितिक बिचार राख्नेहरुको, पैसा हुनेहरुको संस्था बनाउने । अथवा तपाई हामीहरु जस्ता तल्लो तहमा वा सामान्य तहमा बस्ने आम गैर आवाशीय नेपालीहरुको समेत सहभागिता भएको साझा संस्था बनाउने । यो लडाई यहि नै हो ।

यहाँ कुनै कुल आचार्य बिरुद्द बद्रि केसीको लडाईपनि छैन । कुमार पन्त बिरुद्द अर्कोको लडाईपनि छैन । हिजो त एक जनाले मेरै नाम उल्लेख गरेरपनि लेखेको थियो । हामी संस्थामा आइसकेपछि परिवर्तनकोलागि हामीले प्रस्ताव ल्याउँछौं । नभए नेत्रित्वमा किन आउने ? तपाईले केहि पनि गर्नुहुन्न र हा हु गरेर दुई वर्ष कटाउने हो भने त्यसको कुनै अर्थ छैन । ‘हिजो हायात होटेलमा हामीले जुन परिस्स्थिति देख्यौं त्यो परिस्थिति आउन दिँदैनौं है’ भनेर हामीले बाचा गरेका थियौं ।

विशेष अधिवेशनमापनि धेरै साथीहरुले हल्ला गर्नु भो । हामीले ‘तपाईहरु जे जेमा सहमति गर्नुहुन्छ त्यसलाई हामी मानिदिनेछौं’ भनेर आईसिसीको पूर्ण सहमतीले खाली चेकमा सहि गरेर दिएको हो । त्यहाँ ‘६५ प्रतिशत हुन्न’ भनेको भए हामीले मान्नुपर्ने बाध्यता थियो । ६५ लाई शुन्यमा ल्याएको भएपनि हाम्रो बाध्यता थियो । तपाईहरुले किन मान्नुभयो त्यति बेला ? हामीले मान्नुभनेको हो ? पूर्ण आइसिसीले दिएको भनेको तपाईहरुले कुनैपनि विवादित विषयमा सहमति गर्नुभएन भने त्यो हामी हलमा लाँदै लान्नौं भनेर पूर्ण आइसिसीले जनादेश दिएको हो कि होइन ? त्यो जनादेशमा सहमत हुनुभएको हो कि होइन ? त्यतिबेला किन मान्नुभयो ?

त्यो जतिबेलासम्म प्रतिनिधिको सूची आयो त्यतिबेलासम्म तपाईहरुले मान्नु भो । नाम आएपछि गणना गर्नु भो, अनि हामी हारिन्छ भन्ने भएपछि तपाईहरु यसबाट बाहिरिनुभयो । अनि यो बितण्डा, यो प्रहरी, यो सत्ता, पैसा र प्रदर्शनीमा लाग्नुभयो ।

मेरो बिनम्र अनुरोध के भने, अहिलेको संस्थाले खासगरेर हाम्रो अध्यक्षले तपाईहरुलाई यो प्रक्रियामा ल्याउन के गर्नुभएन ? एकचोटी पछाडी फर्केर हेर्नुस् । एउटा कुनै आमसभामा कोहि अतिथि हुन पाएन भनेर त्यसको पछाडि लागेर हिंड्नुभयो भने त्यसको जिम्मेवारी लिन सकिन्न । त्यो हुनसक्छ । कतिपय साथीहरुले मैलाईपनि बोलाउनुहुन्न । यहिं एनसिसीको कार्यक्रममा बोलाउँदैनन् । तर त्यो हामीले लिएको अहंकार राख्ने ठाउँ होइन यो ।

हामी आईसिसी होइन कि हाम्रो अध्यक्ष र उपबिजेता साथीबिच सहमति भएर चलेको छ विधान ल्याउने कुरामा, निर्वाचन समिति बनाउने बेलामा । हामीले संसारमै पहिलो पटक हाम्रो एम आईएस सिस्टमबाट फेस भेरिफिकेसन गरेर भोट हाल्ने पद्दती ल्यायौं । परिक्षण गर्‍यौं । त्यसमा तपाईहरुले विश्वाश छैन भन्नु भो । त्यसो भए खोजौं नत भनियो । संसारभरि खोज्दा कुनैपनि भेण्डरमा त्यो फेस भेरिफिकेसन थिएन । हामी नेपाली भनेर आफूलाइ एकदमै कमजोर ठान्छौं, त्यो होइन । हामीले अष्ट्रेलियाको भेरो एजेन्सीलाई जुन त्यहाँको एनसिसी अष्ट्रेलियालेपनि प्रयोग गरेको छ । उसलाई हामीले ‘हामीले यो प्रविधि प्रयोग गरेर फेस भेरिफिकेसनमा मतदान गरेका छौं । यहि प्रयोग गरेर तपाईहरुको प्रविधिमा मिल्ने बनाइदिनुस’ भन्यौं । त्यसपछि हामीले बनाएको सिकेर उसले बनाइदिएको हो । त्यो हामीले किन भेरोलाई खोज्नुपर्‍यो ? किन ४०, ५० लाख खर्च गर्नुपर्‍यो ? विश्वशनियताको लागि हो । कहाँनिर चुक्नुभयो हाम्रो अध्यक्षज्यु ?

संवन्धित : शेष घलेद्वारा आव्हान महाधिवेशन र निर्वाचन समितिको बैधानिक औचित्य

‘प्रतिनिधिको समस्या छ । छानबिन गर्न पूर्व अध्यक्षलाईनै दिनुपर्छ’ भन्नुभयो । ‘ल दिउँ न त पूर्व प्रमुख संरक्षकलाई’ भन्यौं । तर उहाँबाट समाधान आउँदैन भनेर हामीलाई थाह थियो । तैपनि कुनै कसरत बाँकि नराख्नकालागि उहाँले भने अनुसार हामीले बनायौं । त्यो एउटा सात जनाको समुह थियो । त्यसमा पाँच जना एकातिर हुनुहुन्थ्यो । दुई जना अर्कोतिर ।

तपाईहरुलाई अचम्मै लाग्ला । म महासचिवको नाताले भन्छु, उहाँहरुलाई अध्यक्ष बनाउन हामी झोला बोकेर हिंडेको हो । चिनजान नभएको मान्छे होइन । हामीले ‘शेष दाई एक पटक भेट्छौं’ भनेर खबर पठायौं । अनुनयबिनय गर्दा हामीलाई एक पटक उहाँले भेट दिनुभएन । हामी अहिलेका प्रतिस्पर्धी हौं । अनि उहाँले समस्या समाधान कसरि गर्नुहुन्छ ? हाम्रा कुरा सुन्नुपर्छ कि पर्दैन ? लेखेका ईमेलको प्रतिक्रिया दिनुपर्छ कि पर्दैन ? उहाँले केहिपनि गर्नुभएन । तैपनि साथीहरुले उहाँलाई दिएपछि चमत्कार हुन्छ कि जस्तो गर्नुभयो । ‘लौ त’ भनेर मानिदियौं हामीले । १० दिनको समय दियौं, भएन । १५ दिनको दियौं, भएन । हुँदाहुँदा के आयो भने यो अप्रिल १५ कटाउने, त्यसपछि यो संस्था परराष्ट्र मन्त्रालयको हातमा जाने । र यो संस्था आफूले लिने दाउमा लागिसकेपछि हाम्रा पनि केहि सिमा छन् । ८२ औं आइसिसीले एउटा तगारो चाहिं त्यहाँ लगाइदियो ।

त्यसपछिपनि यो टुंगिएको छैन । तपाईहरुले छलफल गर्दै गर्दा उहाँहरुको साथीहरुलाई वार्तामा ल्याउन भनियो । उहाँहरु वार्तामा जान डराउने । हामीलाई थाह छ तपाईहरुको । तपाईहरु वार्तापनि भन्ने, आउने, मिलौंपनि भन्ने । अनि आफ्ना कार्यकर्ताहरुलाई तपाईहरुले भड्काउने ? सामाजिक सन्जालमा जे पायो त्यहि लेख्न लगाउने ? तपाई कहाँ वार्तामा हुनुहुन्छ भन्ने हामीलाई थाह छैन ? तपाईहरु आउनुस् न भित्र वार्तामा खुला मनले ।

हामीले के बाँकि राख्यौं । दुई जना, तीन जना अध्यक्ष बनाउने हो कि ? एक एक वर्ष गरेर चलाउने हो कि ? जे गरेरपनि मिलाउन हामी तयार छौं भनेर हामी गैसकेपछि आज (मार्च २२) फेरि तीन सदस्यियको नाममा वार्ता टोली गठन । शेष घले आफैं आएर वार्ता गर्नुपर्‍यो यहाँ । कुलजी आफैं आएर वार्ता गर्नुपर्‍यो । यत्रो समस्या निस्किएको बेला ति मान्छेबाट विवादको समाधान हुन्छ ? हामीसित आउनुस् हामी जिवन्त (लाईभ), प्रत्यक्ष वादविवाद छलफल गर्छौं । समस्याको समाधाननै निकाल्ने हो भने । होइनभने यो नाटक चाहिं तपाईहरुले नगर्नुस् । तपाईहरुका गोप्यरुपमा भएका वार्ताहरुपनि हामीलाई थाह छ । त्यहाँ तपाईहरुले तयारि गर्नुभएका दस्ताबेजपनि हामीले पढेका छौं । त्यसमा किन लुकाउने यत्रो संस्थालाई ? खुल्लमखुल्ला हामी वादविवाद, छलफल गरौं । यो नाटक हामी किन गरिराखेका छौं ?

संस्था फुटाउनुनै छ, अर्को बनाउनुनै छ भने खुलेर आए हुन्छ । तपाईहरुले बद्रि केसीको नाम देख्न नचाहने । हेमराजको नाम देख्न नचाहने । ठिक छ । आएर भन्नुस् ।

हामीले यो कोरोना महामारीको बेला दुई लाख ३० हजार नेपालीलाई सहयोग गर्‍यौं । हुन त यसको श्रेय तल्लो तहमा बसेर काम गर्ने हाम्रा एनसिसीका साथीहरुलाई जान्छ । तर नेत्रित्वमा बसेर केहि न केहि किसिमको संयोजन त हामीलेपनि गर्‍यौं होला नी ! त्यसमा अपराध गरेको छ भन्ने लागेको छ भने सार्वजनिक रुपमा आएर भन्दिनुस् । हामी त्यसमापनि तयार छौं ।

सन् २००३ सालदेखि डा उपेन्द्र महतोले देखेको १० अर्वको परियोजनाको सपना जुन थियो यहि बेलामा दर्ता भएको छ । पौने तिन अर्बको हामीलाई प्रतिबद्धता आएको छ । हामीबिच झगडा नभएको भए १० अर्ब आउँथ्यो । त्यहाँ हामीले अपराध गरेका छौं भने ‘यहाँ अपराध गरिस कुमार’ भनेर शेषजी, कुलजी आएर भनिदिनुपर्‍यो । यो भिजन २०, २० शेष दाईले देखेको सपना होइन ? फाउण्डेशनमा काम शुरु भएको छैन ? चारवटा प्रदेशमा अक्सिजन प्लान्ट बनाउन हामीले त्यहि मार्फत् गरेका छौं । त्यो हामीले गरेको अपराध थियो ? थियो भने तपाईहरुले आएर भनिदिनुपर्‍यो हामीलाई ।

हिजो मान्छे कोभिडका बेला भोकभोकै मर्दाखेरि के गर्नु भो ? अहिले ‘कलिङ काठमाडौं’ भनेर जाने साथीहरुले कति जनालाई सहयोग गर्नु भयो ? छातीमा हात राखेर भन्नुस् । १०, २० डलर दिनुभयो तपाईहरुले ? हिजो हामी जस्तो जागिर खाने मान्छेहरुले आफ्नो गोजी रित्याएर दिएको हो । शेष दाईलाई एनआरएनएको मायानै हुन्थ्यो भने तपाईले पाँच करोड उता नदिएर यता एनआरएनएमा दिएको भएपनि त हुन्थ्यो । हुन त यो तपाईको ब्यक्तिगत, अधिकार र आफ्नो चाहनाको कुरा हो, त्यसमा म भन्न चाहन्न । तर हामीसित पैसा भएन भनेर आईएलओ सित प्रस्ताव गर्दैगर्दाखेरि त्यो एक करोड यता दिएको भएपनि हाम्रो साथीहरुलाई राहत हुन्थ्यो । यदि साँच्चिनै एनआरएनएलाई संझिन खोज्नुभएको हो भने । कुल आचार्यजीले कति सहयोग गर्नुभयो ? यि प्रश्नहरु मैले अहिलेसम्म उठाएको थिईन । अति भैसकेपछि उठाउनुपर्ने स्थिति आयो ।

शेष दाईले कोभिड शुरु हुनेबित्तिकै एउटा राजिनामा पत्र पठाउनुभयो । योपनि मैले आजै सार्वजनिक गरिदिन्छु । उहाँले ‘मैले विद्यार्थीहरुको हेरचाह गर्नुपर्ने भयो, मेरो क्याम्पसमा । मैले समय दिन सक्दिन’ भनेर राजिनामा दिनुभयो । हामीले त्यो पत्र बाहिर निकालेनौं । माया त हाम्रो गैर आवाशीय नेपालीको रैनछ भनेपछि चुनावको बेलामा मात्रै किन एनआरएनएलाई माया गर्ने ? देवमान हिराचन दाईलाई म जापानमै बसेकोले राम्रोसित चिन्छु । तपाईको अनुहार हामीले दुई वर्षमा एक पटक काठमाडौंको हायात होटेलमा किन देख्नुपर्ने ? यो बिचमा सहयोग हामीले किन पाएनौं ? तपाईले यसको जवाफ दिनुपर्ने हो कि होइन ?

त्यसैले साथीहरु म के भन्छु भने पूर्व अध्यक्ष उपेन्द्रजी, जीवाजी, भवनजी जोजो हुनुहुन्छ । उहाँहरुलाई भन्छु, तपाईहरुपनि बोल्ने बेला आइसक्यो अब । एक जना पूर्व अध्यक्षले ताण्डव न्रित्य जस्तो मच्चाउनुभएको छ । नेपालमा एक किसिमको मसल पावर जस्तो देखाइएको छ । ‘कलिङ काठमाडौं’ भनेको छ । हिजो हायात होटेलको भिडियो हेर्नुस् साथीहरु । अनि ति साथीहरुको अनुहार हेर्नुस् । ति फरक छन् कि तिनै मान्छे छन् ।

शेष दाई तपाई जस्तो त्यति माथि पुगेको मान्छे, हिजो तपाईहरुलाई अध्यक्ष बनाउन दुई कार्यकाल हाम्रा झोला बोकेर हिंडेका थियौं । तपाईप्रति ठूलो श्रद्दा छ हाम्रो । तपाई एउटा गुटको, एउटा समुहको पटक्कैपनि नेता नहुनुस् । आम ६० लाख गैर आवाशीय नेपालीको तपाई नेता हुनुस् । तपाईको वरिपरि बस्ने मान्छेलाई हेर्नुस् एक पटक राम्रोसँग । कुनले सामाजिक सन्जालमा के लेख्छन् । हाम्रा बारेमा के लेख्छन् । पूर्व अध्यक्षको बारेमा के लेख्छन् । कोभिडका बेला कुन दुलोमा पसिराखेका थिए । अनि यतापट्टी हेर्नुस् । थुप्रै साथीहरु छन् कोभिडका बेला मरेर लाग्नेहरु । कतिपय साथीहरुको मृत्यु पनि भएको छ । तिनीहरुको अनुहार हेर्नुस् । यो भावनामा आएर एक दुई जनालाई अध्यक्ष बनाउने सुरमा आफ्नो साख नगिराउनुस कृपया ।

तपाई भनेको हाम्रो धरोहर हो । समस्त गैर आवाशीय नेपालीको नेता हो । एउटा गुटको, समुहको नेता होइन । त्यो चंगुलबाट तपाई निस्किनुस् । हामी एकता गर्न तयार छौं । हामी बलिदान गर्न तयार छौं । तपाईले सार्वजनिकरुपमा आएर ‘हेमराज शर्मा तिमी उपयुक्त छैनौ एनआरएनएको लागि’ भन्नसक्नुहुन्छ भने म छोड्न तयार छु । बद्रि केसीपनि तयार हुनुपर्छ । तर हामीभन्दा उपयुक्त मान्छे लिएर आउनुस् । हामी एकताकोलागि तयार छौं । होइनभने यो संस्थालाई हुलहुज्जतले चलाउने, शक्तिले, पैसाले चलाउने मान्छेको गुटलाई अगाडि सारेर कसरि एकता गर्नसक्नुहुन्छ तपाईले ? हामीलाई चित्त बुझाउनुपर्दैन ?

हिजो मान्छेहरु अक्सिजन नपाएर मर्दाखेरि चीनमा प्रदिपजीहरु त्यहाँ जानुभएको थियो । उहाँहरुको आत्ममा के छ तपाईले सोध्नुपर्दैन ? बुझ्नुपर्दैन ? म युकेमै बस्छु । सात दिनमा दुई करोड उठाइदिनुभयो पुनम गुरुङजीले । अक्सिजन प्लान्ट कन्सन्टेटरकोलागि । उहाँहरुले के भन्नुहुन्छ भनेर तपाईले सोध्नुपर्छ कि पर्दैन ? आफ्नै आसेपासे, वरिपरिका मान्छेको कुरा सुनेर यत्रो ६० लाख गैर आवाशीय नेपालीको संस्था चलाउँछु भनेर हुन्छ ?

एमआईएस सिस्टम तपाईले शुरु गर्‍या हो कि होइन ? हामीले शुरु गरेको हो यो ? हामीले त परिस्क्रित गरेको मात्रै हो । डाटा सुरक्षित हुँदैन भने एमआइएस सिस्टम किन शुरु गर्नुभयो ? तपाईलेनै सिकाएर गएको हो भिजन २०, २० मा । फाउण्डेशन तपाईले खडा गर्न भन्नुभयो । प्रमुख संरक्षक बनायौं । संयोजक बनायौं । हामीले कहाँ बाहिर राखेका छौं ? संस्थाले, हामीले, यो कार्य समितिले कुलजीलाई, शेषजीलाई, देवमान हिराचनजीलाई कहाँनिर सम्मान दिएन ? हामीलाई दबाब थियो उहाँलाई प्रमुख संरक्षक बनाउने ? तर हामीलाई के लाग्यो भने सबैलाई लिएर जानुपर्छ संस्थामा । त्यसको सजाय अहिले हामीले खानुपर्ने ? तल्लो तहमा भएका एनआरएनले खानुपर्ने ? तपाईले जे गर्दै हुनुहुन्छ आम गैर आवाशीय नेपालीको भावना बिपरित काम गर्दैहुनुहुन्छ ? त्यो चंगुलबाट निस्किनुस् । सहि प्रस्ताव लिएर आउनुस् हामी सहमति गरेर जान तयार छौं । त्यो प्रतिबद्दता म देखाउन चाहन्छु ।

((चैत्र ६ गते (मार्च २०, आइतवार गैर आवाशीय नेपाली संघ एशिया र अफ्रिका क्षेत्रले आयोजना गरेको अनलाईन कार्यक्रममा एनआरएनए केन्द्रिय महासचिव तथा आगामी कार्यकालकालागि उपाध्यक्षका उम्मेदवार डा. शर्माले ब्यक्त गरेका भनाई मध्ये केहिको संपादित अंश। यसको दोस्रो भाग अर्को पटक प्रकाशित गरिने छ-संपादक)

डा. शर्माका अघिल्ला लेख

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

एनआरएनएलाई दलको भात्रि संगठन बनाउने हो भने अध्यक्षपनि तपाईहरुलेनै नियुक्त गरिदिनुस्

‘इनफ इज इनफ’- प्रसङ्ग एनआरएनएको आसन्न निर्वाचन

एनआरएनएमा वर्तमान समस्याको मूल जड, बिधान पालना गर्ने र पालना नगरि जान चाहनेबिचको द्वन्द

तपाइँको प्रतिक्रिया